प्रभात शान्ति पूर्ण माविको हीरक जयन्तीमा प्राविधिक कक्षा सञ्चालन गर्ने उदघोष

प्रभात शान्ति पूर्ण माविको हीरक जयन्तीमा प्राविधिक कक्षा सञ्चालन गर्ने उदघोष

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत १४ गते मङ्गलबार ०८:१६

हीरक जयन्तीको अवसरमा विद्यालयमा प्राविविधक कक्षा सञ्चालनका लागि पाँच करोड रकम संकलन गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि तीन दिनसम्म विविध कार्यक्रमको सञ्चालन गर्ने आयोजकको भनाइ छ ।

उदघाटन समारोहमा विभिन्न महानुभावलाई सम्मान समेत गरिएको थियो ।

बडागाउँ(लमजुङ)– प्रभात शान्ति पूर्ण माविको हीरक जयन्तीमा प्राविधिक कक्षा सञ्चालन गर्ने उदघोष गरिएको छ । मर्स्याङदी गाउँपालिका– ८ को बडागाउँ स्थित प्रभात शान्ति पूर्ण माध्यमिक विद्यालयको हीरक जयन्तीको उदघाटनका अवसरमा चैत १२ गते त्यस्तो उदघोष गरिएको हो ।

प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले हीरक जयन्तीको उद्घाटन गर्नु भएको हो । उहाँले अहिलेको शिक्षा व्यवहारिक र व्यावसायिक हुन आवश्यक रहेको भन्दै त्यो प्रयासमा यो विद्यालय अग्रसर भएकोमा सराहना गर्नुभयो । उहाँले अहिलेको पाठ्यक्रममा आमूल परिवर्तन गर्न आवश्यक रहेको भन्दै अन्यथा युवाहरु स्वदेशमा बस्ने वातावरण नहुने भन्दै ठोकुवा गर्नुभयो ।

 संविधान सभा सदस्य जमीन्द्रमान घलेले शिक्षा, स्वास्थ्य र रोजगार राज्यको दायित्व भए पनि राज्य सधैं पन्छिने गरेको स्मरण गर्दै दायित्वबोध गर्न आग्रह गर्नुभयो । उहाँको गृहवडा समेत रहेको उक्त विद्यालयमा गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षा र व्यवहारिक शिक्षा आजको आवश्यक रहेको महसुस गरित्यसतर्फ अघि बढ्ने काम भएको छ, सबैले मन फुकाएर सहयोग गर्नका लागि अनुरोध गर्दछु भन्नुभयो ।

सो अवसरमा मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, विद्यालयका उपज एवं कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, काठमाडौ विश्वविद्यालयका प्रा. डा. डिलबहादुर गुरुङ, नेकपा एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, बेसीशहर नगरपालिकाका उपप्रमुख पदमा गुरुङ, मर्स्याङ्दी गाउँपालिका– ७ का वडाअध्यक्ष तिलबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उदघाटन समारोहमा विभिन्न महानुभावलाई सम्मान समेत गरिएको थियो ।

उक्त अवसरमा विद्यालयका संस्थापक तत्कालीन राजसभा स्थायी समिति सदस्य सुवेदार स्व. पूर्णबहादुर गुरुङको परिवारले निर्माण गरेको शालिकको उहाँकी सहधर्मीणी सनमाया गुरुङले अनावरण गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रमको सोही माविका प्रधानाध्यापक कृष्णप्रसाद घिमिरेले सञ्चालन गर्नुभएको थियो । उहाँले विद्यालयमा व्यवहारिक र प्राविधिक शिक्षा सञ्चालनका लागि आर्थिक रकम संकलन गर्ने उद्देश्यले हीरक जयन्ती मनाइएको बताउनु भयो ।

हीरक जयन्तीको अवसरमा विद्यालयमा प्राविविधक कक्षा सञ्चालनका लागि पाँच करोड रकम संकलन गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि तीन दिनसम्म विविध कार्यक्रमको सञ्चालन गर्ने आयोजकको भनाइ छ ।

वि. सं. २०१२ सालमा तत्कालीन राजसभा स्थायी समिति सदस्य सुवेदार स्व. पूर्णबहादुर गुरुङको पहल तथा नेतृत्वमा स्थापना भएको उक्त विद्यालयमा वि.सं. २०३० मा निमावि र वि.सं. २०५८ देखि मा.वि तहको पठनपाठन हुँदै आएको छ । हाल विद्यालयमा १ सय ५० जना विद्यार्थी अध्ययनरत तथा १६ जना शिक्षक कार्यरत छन् । हीरक जयन्तीको उद्घाटनका अवसरमा प्रभातफेरी, विद्यालयको प्रतिवेदन प्रस्तुत, शुभकामना मन्तव्य, चन्ददाता सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

चैत १३ गते विद्यालयस्तरीय नृत्य प्रतियोगिता, स्थानीय आमा समुहको प्रस्तुति, चन्ददाता सम्मान तथा स्थानीय एवं राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । १४ गते चन्ददाता, जग्गादाता तथा अक्षयकोषदाता सम्मानसँगै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथ साँझ दिपावली गरी हीरक जयन्तीको समापन गरिने विद्यालयले जनाएको छ । हीरक जयन्ती कार्यक्रम सञ्चालनका लागि झण्डै १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति २०७९ चैत्र १४, मंगलवार ०८:१६ गते
हजुरको प्रतिक्रिया