नेपालगञ्ज– डडेल्धुरामा प्रमुख जिल्ला अधिकारीलाई झाडु सहित ज्ञापन पत्र बुझाईएको छ । बास नेपालले डडेल्धुरा लगायत जिल्ला शाखा रहेका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई झाडु ज्ञापन पत्र चैत १४ गते बुझाएको हो ।
बास नेपालले प्रमुख जिल्ला अधिकारीलाई झाडु सहित अहिले मुलुक भ्रष्टाचारको कुचक्रमा फसेर अशुद्ध बनेको र सबै सरकारी निकाय तथा गैर सरकारी निकायमा हुने भ्रष्टाचार, अनियमितता, ढिलासुस्ति, लापर्वाही विरुद्ध शुन्य सहनशीलताको विकास गर्न जरुरी रहेको भन्दै ज्ञापन पत्र बुझाईएको बास नेपाल डडेल्धुरा अध्यक्ष अनुप बिक्रम मल्लले बताउनु भयो ।
उहाँका अनुसार भ्रष्टाचार विरुद्ध अभियानको नारा दिई बास नेपालले भ्रष्टाचार नियन्त्रण, सरकारी साधनहरूको दुरुपयोगमा रोक, नियमित रुपमा सार्वजनिक सुनुवाई गर्ने व्यवस्था, भ्रष्टाचार विरुद्धका उजुरीको सुनुवाई, कार्यालयहरूमा सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोक्ने व्यवस्था, बिना झन्झट आवश्यक सूचना सर्वसाधारण लाई उपलब्ध गराउनु पर्ने, असल काम गर्ने कर्मचारीलाई प्रोतसाहान र गलत गर्नेलाई दण्डित गर्नु पर्ने लगायतका ११ बुँदे माग राख्दै झाडु सहित ज्ञापन पत्र बुझाइएको हो ।
बास नेपाल भ्रष्टाचार विरुद्धको विश्वव्यापी संस्था ट्रान्परेन्सी ईन्टरनेश्नल संग आबद्ध समेत रहेको विज्ञप्तिमा खुलाईएको छ ।
विज्ञप्तिमा मुलुकभर ७७ जिल्लामै शाखा र २० उपशाखा सहित ८० ईकई गठन गरी देशभर पाँच हजार बढी युवा संलग्न रहेको उल्लेख समेत गरिएको छ ।
गैर सरकारी संस्था बास नेपालले २२ वर्षदेखि सामाजिक रुपान्तरणका लागि भ्रष्टाचार विरुद्ध जवाफदेहिताको काम गर्दै आएको छ ।
लमजुङमा नयाँ प्रजिअ आएर पद बहाल गरेपछि ज्ञापन पत्र बुझाईने :
यसैबीच, लमजुङमा भने नयाँ प्रजिअ आएर पद बहाल गरेपछि मात्र सो ज्ञापन पत्र बुझाईने भएको शाखाका सल्लाहकार नवराज पहाडीले बताउनु भएको छ ।
प्रकाशित मिति २०७९ चैत्र १५, बुधबार ०६:४७ गते