बडागाउँ(लमजुङ)– लमजुङको प्रभात शान्ति पूर्ण माविमा तीन दिवसीय हीरक जयन्तीको अवसरमा प्राविधिक कक्षा सञ्चालन गर्न करिब डेढ करोड रुपैयाँ संकलन गरिएको छ । मस्र्याङदी गाउँपालिका– ८ को बडागाउँ स्थित सो माविको हीरक जयन्तीका अवसरमा प्राविधिक कक्षा सञ्चालन गर्न अक्षयकोष निर्माणका लागि करिब डेढ करोड संकलन गरिएको हो ।
हीरक जयन्तीको तीन दिवसीय कार्यक्रमका अवसरमा एक करोड ४५ लाख रुपैयाँ संकलन भएको सो माविका प्रधानाध्यापक कृष्णप्रसाद घिमिरेले बताउनु भयो । उहाँका अनुसार सबैभन्दा धेरै सोही माविका संस्थापक तत्कालीन राजसभा स्थायी समिति सदस्य सुवेदार स्व. पूर्णबहादुर गुरुङकी सहधर्मीणी सनमाया गुरुङले २० लाख रुपैयाँ प्रदान गर्नु भएको छ । त्यस्तै, विद्यालयका उपज एवम् कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङबाट १० लाख रुपैयाँ, समाजसेवी बुधराज गुरुङले ६ लाख, समाजसेवी पद्मराज घलेले चार लाख, गोरखा क्याप्टेन हितमान गुरुङले ३ लाख, विद्यालयका प्रअ कृष्ण घिमिरेले १ लाख ५१ हजार, समाजसेवीहरू कृष्णप्रसाद गुरुङले एक लाख ११ हजार १११ रुपैयाँ, व्यसका अध्यक्ष पूर्ण घलेलगायत करिब ३० जनाले एक/एक लाख रुपैया प्रदान गर्नु भएको छ । यसैगरी, अन्य अभिभाजक एवम् शिक्षा प्रेमीहरूबाट सक्दो सहयोग गरी सो रकम संकलन भएको प्रअ घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सो वडाकार्यालयबाट विद्यालयको भौतिक निर्माणका लागि १३ लाख रुपैयाँ प्रदान गरेको उक्त धन राशि सो रकम समेत हो ।
उक्त जयन्तीका अवसरमा विद्यालयका संस्थापक तत्कालीन राजसभा स्थायी समिति सदस्य सुवेदार स्व. पूर्णबहादुर गुरुङको परिवारले निर्माण गरेको शालिकको उहाँकी सहधर्मीणी सनमाया गुरुङले अनावरण गर्नुभएको थियो ।
प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उदघाटन गर्नु भएको हो । उहाँले अहिलेको पाठ्यक्रममा आमूल परिवर्तन गर्न आवश्यक रहेको भन्दै अन्यथा युवाहरू स्वदेशमा बस्ने वातावरण नहुने ठोकुवा गर्नुभयो । उहाँले अहिलेको शिक्षा व्यवहारिक र व्यावसायिक हुन आवश्यक रहेको भन्दै त्यो प्रयासमा यो विद्यालय अग्रसर भएकोमा सराहना गर्नुभएको थियो ।
सो अवसरमा संविधान सभा सदस्य जमीन्द्रमान घले लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रमको सोही माविका प्रधानाध्यापक कृष्णप्रसाद घिमिरेले सञ्चालन गर्नुभएको थियो । उहाँले विद्यालयमा व्यवहारिक र प्राविधिक शिक्षा सञ्चालनका लागि आर्थिक रकम संकलन गर्ने उद्देश्यले हीरक जयन्ती मनाइएको बताउनु भयो ।
वि. सं. २०१२ सालमा तत्कालीन राजसभा स्थायी समिति सदस्य सुवेदार स्व. पूर्णबहादुर गुरुङको पहल तथा नेतृत्वमा स्थापना भएको उक्त विद्यालयमा वि.सं. २०३० मा निमावि र वि.सं. २०५८ देखि मा.वि तहको पठनपाठन हुँदै आएको छ । हाल विद्यालयमा १ सय ५० जना विद्यार्थी अध्ययनरत तथा १६ जना शिक्षक कार्यरत रहिआएका छन् ।
हीरक जयन्तीको उदघाटनका अवसरमा प्रभातफेरी, विद्यालयको प्रतिवेदन प्रस्तुत, शुभकामना मन्तव्य, चन्ददाता सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । दोस्रो दिनमा पालिकाका अन्तर विद्यालयस्तरीय नृत्य प्रतियोगिता, स्थानीय आमा समुहको प्रस्तुति, चन्ददाता सम्मान तथा स्थानीय एवं राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहको थियो । अन्तिम दिनमा सांस्कृतिक कार्यक्रमका साथमा दाताहरूलाई सम्मानका साथ समापन गरिएको सो माविका प्रअ घिमिरेले बताउनु भयो ।
उहाँका अनुसार विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष पूर्ण घलेको अध्यक्षतामा भएको सो दिवसको अन्तिम दिनमा विद्यायल हातामा दिपावली गरी समापन गरिएको थियो । उहाँले भन्नुभयो, ‘संकलित रकम अक्षयकोषमा राखेर प्रविधिक कक्षा सञ्चालन गर्ने तयारी छ ।’
समापन कार्यक्रम संविधान सभाका सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।
प्रकाशित मिति २०७९ चैत्र १६, बिहीबार ०५:१७ गते