बेसीशहर– लमजुङमा व्याप्त भ्रष्टाचार बढार्न प्रजिअलाई सहज होस् भन्ने हेतुले बास नेपालद्वारा कुचो सहितको ज्ञापनपत्र बुझाइएको छ । नवागन्तुक प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई जिल्लामा भएका, भइरहेका र हुने भ्रष्टाचार बढार्न सहज होस् भन्ने उद्देश्यले सांकेतिक रुपमा कुचो सहितको ज्ञापनपत्र चैत १७ गते बुझाएको हो ।
यतिबेला मुलुक भ्रष्टाचारको दलदलमा फसिरहेको छ । त्यसबाट लमजुङमात्र अछुतो रहने प्रश्न रहेन । तर पनि त्यसका विरुद्ध सुशासनका पक्षमा लाग्नेहरूले पनि आफ्ना आवाज र प्रयास जारी राखिरहेका छन् । त्यसै क्रममा विगत २२ वर्षदेखि भ्रष्टाचार विरुद्धको अभियान सञ्चालन गरिहरेको बास नेपालको जिल्ला शाखाले लमजुङका नवागन्तुक प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको कार्यकक्षमा पुगेर जिल्लामा भएका, भइरहेका र हुने भ्रष्टाचार बढार्न उहाँलाई कुचो सहितको ज्ञापन पत्र बुझाएको बास नेपालका सचिव वासुदेव सेढाईले बताउनु भयो । उहाँका अनुसार भ्रष्टाचार बढार्नका लागि सहज होस् भन्ने उद्देश्यले ज्ञापन पत्रका साथमा कुचो समेत दिइएको हो ।
एम्नेष्टि इन्टरनेसनलसँग समेत सहकार्य गरिरहेको संस्था बासको ज्ञापन पत्रका मुलुकभरका सात समस्या, जिल्लाका चार गरी कुल ११ बुँदा र अभियानका बारेमा अन्य चार वटा बुँदामा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरिएको बास नेपालका सल्लाहकार रमाराज खनियाले बताउनु भयो । उहाँका अनुसार सरकारी कार्यालय तथा स्थानीय तहमा हुने भ्रष्टाचारका अतिरिक्त बजारमा बेचिने मूल्य र वैध मिति उल्लेख नभएका, कम तौलका खाद्य सामग्री तत्काल जफत गर्न सुझाव दिइएको छ ।
यसैगरी, कार्यालयहरूमा ढिला सुस्तीका कारण मौलाउँदै गरेको घुसखोरी, बिचौलीयाको विगविगीका कारण बढ्ने गरेको घुसखोरीका बारेमा समेत ज्ञापन पत्रका प्रजिअको ध्यानाकर्षण गरिएको बास नेपालका अर्का सल्लाहकार कृष्ण केसीले जानकारी दिनुभयो । उहाँका अनुसार उदीपुरको सडकको पहिरो, जिल्लामा भित्रिने तरकारी र फलफूलमा विषादीको जाँच आदि विषयमा समेत प्रजिअको ध्यानाकर्षण गरिएको छ । उहाँले भन्नुभयो, ‘प्रजिअ निकै सज्जन लाग्यो, उहाँले हाम्रो कुरालाई प्राथमिकताका साथ ध्यान दिएर सुन्नु भयो र टिप्पणी समेत राम्रो रह्यो । रहदा बस्दा राजनीतिक दलहरूले पनि काम गर्न नदिने र उहाँहरूको पनि जागिर मानसिकता बन्ने भएर बिग्रने गरेको विगत हामीसँग साक्षी छ ।’
प्रजिअ अधिकारीलाई बास नेपालका जिल्ला सल्लाहकार संयोजक नवराज पहाडीले कुचो र जिल्ला सचिव वासुदेव सेढाईले ज्ञापन पत्र हस्तान्तरण गर्नु भएको हो । ज्ञापन पत्रमा उहाँहरू पहाडी र सेढाई दुवैको दस्तखत छ । ज्ञापन पत्र सचिव सेढाईले पढेर सुनाउनु भएको थियो ।
ज्ञापन पत्र ग्रहण गर्नु अघि प्रजिअ अधिकारीले बास नेपालका गतिविधिका बारेमा जिज्ञासा राख्नु हुँदै चासो पूर्वक जानकारी लिनु भएको थियो । ज्ञापन पत्र बुझ्दै शब्द थोरै भए पनि यसमा विषय गहन समेटिएको उहाँले बताउनु भयो । सुझाव र सत्प्रयासका लागि अभियन्ताहरूलाई धन्यवाद दिदै मुलुकमा यस्तो स्थिति एक पक्षका कारणले मात्र उत्पत्ती भएको होइन, यसमा आर्थिक, राजनीतिक लगायतका कारण पछि छन् । यसको समाधान एकल प्रयासले भन्दा पनि सामुहिक प्रयत्नबाट यसको निकारण गर्न सकिन्छ उहाँले भन्नुभयो । सबै मिलेर सुशासनका लागि काम गरौं, म पनि आफ्नो स्थानबाट सक्दो पहल गर्ने छु उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो ।
ज्ञापन पत्रको पूर्ण विवरण :
श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू
जिल्ला प्रशासन कार्यालय, लमजुङ ।
बिषय : ज्ञापन पत्र सम्बन्धमा ।
बास नेपाल बिगत २२ वर्षदेखि सामाजिक रुपान्तरणका लागि क्रियाशिल राष्ट्रिय गैर सरकारी संस्था हो । २०५७ मंसिर २४ गते स्थापित यो संस्था देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ति, घुसखोरी जस्ता बेथितिका विरुद्ध ससक्त रुपमा क्रियाशील रहँदै आएको छ । यस संस्थाले असल शासन, सामाजिक जवाफदेहिता, सामाजिक सद्भाव, सामुदायिक सुरक्षा, युवा सशक्तिकरण, स्वयंसेवा, बाल अधिकार, बाल संरक्षण, लैंगिक हिंसा न्यूनिकरण, सामुदायिक सशक्तिकरण र संस्थागत बिकासका क्षेत्रमा काम गर्दै आईरहेकोछ । बास भ्रष्टाचार विरुद्धको विश्वव्यापी संस्था ट्रान्सपरेन्सी ईण्टरनेशनल नेपालको आवद्ध संस्था हो । यस संस्थाको नेपालका प्रायः सबै जिल्लामा शाखा रहेका छन् । संस्थाका २० उपशाखा ८० ईकाई रहनुका साथै पाँच हजार बढी युवाहरू यो अभियानमा आबद्ध रहेको जानकारी गर्दछौं ।
उपरोक्त सम्बन्धमा अहिले हाम्रो मुलुक भ्रष्टाचारको कुचक्रमा फसेर अशुद्ध बनेको छ । हरेक सरकारी निकाय तथा गैर सरकारी निकायमा हुने भ्रष्टाचार, अनियमितता, ढिलासुस्ति र लापरवाहिका विरुद्ध शुन्य सहनशीलताको विकास गर्नु अहिलेको परम् आवश्यकता हो । कुनै पनि सरकारी निकाएले बिना झन्झट सरल र सहज ढंगले जनतालाई सुविधा दिनु पर्दछ । सरकारी कर्मचारी जनताप्रति जवाफदेही हुनुका साथै सेवाग्राहीलाई सम्मान गर्ने खालको हुनु पर्दछ । सरकारी निकाएका सबै कामहरू पारदर्शी हुनु पर्दछ, कुनै पनि जनहितका सूचना लुकाउन पाईंदैन । अर्कोतर्फ असल कार्य गर्ने कर्मचारीलाई प्रोत्साहित त खराब कार्य गर्ने कर्मचारीलाई दण्डित गरिनु पर्दछ, यहि मान्यताका साथ सरकारी निकायलाई शुद्धिकरण गर्न साँकेतिक दबाव दिन भ्रष्टाचार विरुद्ध शुद्धिकरण अभियान सञ्चालन गरिएको छ । जिल्लामा सुशासन बाहाली गर्नका लागि जिल्ला प्रशासन कार्यालयको अग्रणी भूमिका रहने आत्मबोध गर्दै तपसिल बमोजिमका क्षेत्रहरूमा यहाँले तत्काल ध्यान दिन अनुरोध गर्दै व्यवहारिक रुपमा आजकै दिनदेखि परिर्वतनको अनभूति आम नागरिक समाजले गर्न पाओस् भन्ने सादर अनुरोधका साथ यो ज्ञापन पत्र पेश गरेका छौं ।
तपसिल :
१. जिल्लामा भइरहेका हुने सबै खालका भ्रष्टाचारहरूको नियन्त्रण गरियोस् ।
२. सरकारी साधनहरूको दुरुपयोगमा रोक लगाईयोस् । सबै कार्यालयमा हुने विचौलीयको चलखेल बन्द गरियोस् ।
३. नियमित (चौमासिक) रुपमा सबै सरकारी निकाय र स्थानीय तहबाट सार्वजनिक सुनुवाई गर्ने व्यवस्था मिलाईयोस् ।
४. भ्रष्टाचार बिरुद्धका उजुरीहरूको सुनुवाई तत्काल थालियोस् । कार्यालयहरूमा ढिलासस्तीबाट बढ्ने घुसखोरी बन्द गरियोस् ।
५. हरेक सरकारी कार्यालयमा सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोक्ने व्यवस्था मिलाईयोस् ।
६. बिना झन्झट आवश्यक सूचना र सेवा सर्वसाधारणलाई उपलब्ध गराईयोस् ।
७. असल कार्य गर्ने कर्मचारीलाई प्रोत्साहित र गलत कार्य गर्ने कर्मचारीलाई दण्डित गरियोस् ।
८. लमजुङको उदीपुरको आकाशे भिरमा गएको पहिरोले त्राहीमाम जिल्लाबासीलाई तत्काल ढाढस हुने खालको काम होस्, सो स्थानमा राती बत्तीको प्रवन्ध गरिएकोमा केही दिनदेखि त्यो सेवा बन्द छ, त्यो सेवाको तत्काल प्रवन्ध होस् ।
९. बजार अनुगमनलाई तिब्रता दिई मूल्य र तौल उल्लेख नभएका र निर्धारित भन्दा कम तौल भएका र म्याद गुर्जिएका उपभोग्य सामग्रीहरू तत्काल जफतको प्रवन्ध गरियोस् ।
१०. जिल्लामा भित्रने र यही उत्पादन हुने तारकारी तथा फलफूलमा विषादीको मात्रा चेकजाँचको प्रबन्ध तत्काल गरियोस् ।
११. सञ्चारमाध्यमलाई सरकारी कार्यालय र स्थानीय तहले विज्ञापनको भुक्तानी दिदा बिलका साथमा अघिल्लो आवको करचुक्ता प्रमाणपत्र अनिवार्य संलग्न गर्नु पर्ने व्यवस्था गरियोस् आदि ।
भ्रष्टाचार बिरुद्ध शुद्धिकरण अभियान :
१२. सूचनाको हक सम्बन्धिको ऐन र सुशासन ऐन अक्षरशः पालना गरियोस् ।
१३. हरेक कार्यालयमा नागरिक वडापत्र र गुनासो पेटिकाको व्यवस्था गरियोस् ।
१४. जिल्लास्तरमा गठित भ्रष्टाचार विरुद्धको समितिलाई सक्रिय पारियोस् ।
१५. जिल्लामा हुने भ्रष्टाचार नियन्त्रणका लागि अनुगमन तत्काल थालियोस् ।
जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन बास नेपालको सल्लाहकार समितिका जिल्ला संयोजक नवराज पहाडीको नेतृत्वमा गएको टोली पुगेको थियो । सो अवसरमा संस्थाका सल्लाहकार द्वय रमाराज खनिया र कृष्णबहादुर केसी, जिल्ला सचिव बासुदेव सेढाई, कोषाध्यक्ष शर्र्मिला अधिकारी, सदस्यहरू रामजी बसौला, सुधा ढकाल पहाडी, प्रमोद अधिकारी र लक्ष्मी धिताल सहित सहभागी हुनुहुन्थ्यो । सो अवसरमा पत्रकार महासंघका जिल्ला उपाध्यक्ष अनुज अधिकारी तथा सदस्य सविना प्रजाको समेत सहभागिता थियो ।
प्रकाशित मिति २०७९ चैत्र १७, शुक्रबार १७:१३ गते