काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रीपरिषद् सातौँपटक पुनर्गठन गरिएको छ । मन्त्री परिषदल चैत १७ गते पनि पूर्णता पाउन सकेको छैन । अब थप आठ जनाको नियुक्ति पछि मात्र मन्त्रिपरिषद्ले पूर्णता पाउने स्थिति बनेको छ ।
आज पनि खानेपानी मन्त्रीबाट अब्दुल खानले पदबाट राजीनामा दिएका छन् । उनी बाहिरिएसँगै १७ सदस्यीय मन्त्रिपरिषद् भएको छ ।
चैत १७ गते विस्तार भएको मन्त्री परिषदमा कांग्रेसका चार, नेकपा (एकीकृत समाजवादी)का दुई, जनता समाजवादी पार्टी (जसपा)का एक, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक, नागरिक उन्मुक्तिका एक, माओवादी केन्द्रका एक र नेपाल समाजवादी पार्टीका एक गरी ११ जना मन्त्रिपरिषद्मा थपिएका हुन् ।
नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।
विस्तारित मन्त्रिपरिषद्मा दोस्रो वरीयातासहित नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्नुभएको छ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तेस्रो वरीयतासहित उपप्रधान तथा गृहमन्त्री बन्नु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाउनु भएको छ ।
मन्त्री परिषदको कार्यविभाजन : कुल दललाई कति ?
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित रक्षा मन्त्री हुनु भएको छ । यस्तै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री तथा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भूसाल कृषि तथा पशुपंक्षी विका मन्त्री बन्नु भएको छ ।
जसपा नेता अशोककुमार राई शिक्षा मन्त्री, लोसपा नेता शरदसिंह भण्डारी श्रममन्त्री, कांग्रेस नेता प्रकाशशरण महत अर्थमन्त्री, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव महिला बालबालिका मन्त्री, माओवादी नेता शक्तिबहादुर बस्नेत ऊर्जामन्त्री हुनु भएको हो ।
यसैगरी, माओवादीकी रेखा शर्मा सञ्चार मन्त्री, माओवादीकै सुदन किराती संस्कृति मन्त्री, माओवादीकै अमनलाल मोदी संघीय मामिला मन्त्री, एकीकृत समाजवादीका प्रकाश ज्वाला भौतिक मन्त्री, नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्री, कांग्रेसका रमेश रिजाल उद्योग मन्त्री, कांग्रेसकी सीता गुरूङ शहरी विकास मन्त्री, संस्कृति राज्यमन्त्री माओवादीकी सुशीला सिर्पाली ठकुरी बन्नु भएको छ ।
माओवादीका मन्त्रीहरू गत पुस १० मै नियुक्त भएका हुन् । तीमध्ये शक्ति बस्नेत आज मन्त्रीमा थप हुनु भएको हो । भौतिक मन्त्री रहनु भएका नारायणकाजी गृहमा सारिनु भएको छ ।
आठ मन्त्रालय पाएको नेपाली कांग्रेसले चार मन्त्री अझै पठाउन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले कानून, परराष्ट्र, युवा तथा खेलकुद, वन र स्वास्थ्य मन्त्रालय आफैँसँग राख्नु भएको छ ।
रास्वपा उपनिर्वाचन अघि सरकारमा नजाने :
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपनिर्वाचन अघि सरकारमा नजाने भएको छ । वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टी केन्द्रित रहेकाले सरकारमा नजाने भएको रास्वपाका नेताहरूको भनाई छ ।
‘हाम्रो ध्यान अहिले निर्वाचनमा छ । त्यसैले हामी सरकारमा नगएको हो, उपनिर्वाचन सकिएपछि सरकारमा जाने÷नजाने पार्टीमा छलफल पछि निर्णय हुन्छ ।’
आउँदो वैशाख १० गते चितवन क्षेत्र नं– २, बारा क्षेत्र नं– २ र तनहुँ क्षेत्र नं– १ मा उपनिर्वाचन हुने कार्यक्रम छ ।
प्रकाशित मिति २०७९ चैत्र १७, शुक्रबार १९:२५ गते