उमेदवारी दर्ता गर्न जाँदा २५ जना बढी नलग्न आयोगको निर्देशन

उमेदवारी दर्ता गर्न जाँदा २५ जना बढी नलग्न आयोगको निर्देशन

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत १९ गते आईतबार ०९:१०

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति निकालेर उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा बाजागाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरीतका व्यानर, चिन्ह र झण्डा सहित जान नहुने बताउनु भएको छ ।

आयोगको १० बुँदे निर्देशन : टिसर्ट पनि लगाउन नपाइने

काठमाडौं– निर्वाचन आयोगले उपनिर्वाचनको उमेदवारी मनोनय दर्ता गर्न जाँदा २५ जना बढी नलग्न निर्देशन दिएको छ । आयोगले उमेदवारी मनोनय दर्ताको पूर्वसन्ध्यामा दल तथा उम्मेदवारका लागि १० बुँदे निर्देशन चैत १९ गते जारी गरेको हो ।
उपनिर्वाचनका लागि तनहुँ– १, चितवन– २ र बारा– २ मा उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । यसै सन्दर्भमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति निकालेर उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा बाजागाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरीतका व्यानर, चिन्ह र झण्डा सहित जान नहुने बताउनु भएको छ । उहाँका अनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनय दर्ता गर्न सकिन्छ ।
मनोनयनपत्र पेस गर्न जाँदा बाजा गाँजासहित उमेदवारको पहिचान, लोगको, टिसर्ट, ज्याकेट पनि लगाएर जान नपाउने विज्ञप्तिमा उल्लेख छ ।
उम्मेदवारको मनोनयनको समयमा मनोनयन गर्न जाँदा र मनोनयन स्थलमा उम्मेदवारको पक्षमा नारा÷जुलुस, भाषण र प्रतिस्पर्धी लक्षित गालीगलौज र टीकाटिप्पणी नगर्ने नगराउन पनि आयोगले निर्देशन दिएको छ ।
आयोगको १० बुँदे निर्देशनको पूर्ण पाठ :
१. निर्वाचनमा उमेदवारको मनोनयनपत्र पेश गर्न जाँदा उमेदवार, प्रस्तावक र समर्थक सहित बढीमा २५ जना भन्दा बढीको जुलुस लिएर जान नहुने,
२. उमेदवारको मनोनयनपत्र पेश गर्न जाँदा बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरितका व्यानर, चिन्ह र झण्डा सहित जान नहुने,
३. उमेदवारको मनोनयको समयमा उमेदवारको पहिचान झल्किने लोगो, टिका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने,
४. उमेदवारको मनोनयनको समयमा मनोनयन गर्न जाँदा र मनोनयन स्थलमा उमेदवारको पक्षमा नारा÷जुलुस, भाषण र प्रतिष्पर्धी लक्षित गालिगलौज र टिकाटिप्पणी नगर्ने नगराउने,
५. उमेदवारको मनोनयनको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पति प्रयोग गर्न नहुने,
६. नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले तत् तत् हैसियतमा रही उमेदवारको मनोनयनमा सहभागी हुन नहुने,
७. उमेदवारको मनोनयनका समयमा बालबालिककाको प्रयोग गर्न गराउन नहुने,
८. मनोनयनका क्रममा संवैधानिक निकाय तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उमेदवारलाई आफ्नो सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने,
९. हेलिकप्टर प्रयोग गरी राजनीतिक दल वा उमेदवारले उमेदवारी मनोनयन गर्न जान नहुने,
१०. नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले उमेदवारी मनोनयनको क्रममा राजनीतिक दल वा उमेदवारसँग सहभागी हुन नहुने ।

प्रकाशित मिति २०७९ चैत्र १९, आईतवार २१:१० गते

हजुरको प्रतिक्रिया