काठमाडौं– आउँदो वैशाख १० मा तनहुँ– १, चितवन– २ र बारा– २ मा उपनिर्वाचन हुँदैछ । सोमबार तीनै क्षेत्रमा आज चैत १० गते उम्मेदवारी दर्ता गरिने भएको छ । काँग्रेसले उक्त निर्वाचनलाई ध्यानमा राख्दै तनहुँ– १ मा जित्ने रणनीतिका साथ सो दलका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी तथा गत निर्वाचनमा स्वतन्त्र चुनाव लडेका चितवन पार्टीका पूर्वजिल्ला सभापति विकास कोइरालाको पनि कारबाही फिर्ता गरेको छ ।
तर त्यसालाई जोशीले स्वीकार नगर्ने हिजै बताइसक्नु भएको छ भने कोइरालाले पनि निर्णय ढिला भएको भन्ने प्रतिक्रिया दिनु भएको छ ।
उपनिर्वाचन नजिकिएसँगै केही दिनदेखि राजनीतिक माहौल तात्न थालेको छ । नेपाली कांग्रेसले आफ्नो घोषणापत्र लेख्ने अर्थविद् स्वर्णिम वाग्लेले पार्टी छाडेकोमा भने निकै ठूलो धक्का महसुस गरेको प्रतीत भएको छ । सोही सन्दर्भमा सो दलले उपनिर्वाचनमा एकतावद्ध भएर जाने सन्देश दिन तीन जिल्लाका नेता, कार्यकर्तामाथिको कारबाहीसमेत फुकुवा गर्ने निर्णय चैत १९ गते गरेको छ । केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट त्यस्तो निर्णय गरिएको हो ।
सहमहामन्त्री बद्री पाण्डेले तनहुँ, चितवन र बाराका नेता, कार्यकर्तामाथि गरिएको अनुशासन कारबाही फुकुवा गर्ने निर्णय भएको जानकारी दिनु भएको छ । उहाँले भन्नुभयो, ‘२०७९ को निर्वाचनभन्दा पहिले स्वतन्त्र उमेदवार भएका, पार्टीको अनुशासन उल्लंघन गरेका बारा, तनहुँ र चितवनका नेताहरूको हकमा पुरानै क्रियाशील सदस्यता क्रियाशील हुने गरी कारबाही फुकुवा गर्ने निर्णय भएको छ, उपनिर्वाचनमा गर्ने कामलाई हेरेर आगामी दिनमा निर्णय गर्ने र अनुशासन समितिलाई सक्रिय पार्ने निर्णय भएको छ ।’
पूर्वसहमहामन्त्री जोशीउपर २०७४ को चुनावमा तनहुँ १ मा कांग्रेसका तत्कालीन उम्मेदवार रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको ठहर गर्दै २०७५ पुस २४ गते कांग्रेसले जोशीमाथि कारबाही गरेको थियो ।
उपनिर्वाचनको घोषित परिदृश्य भने फरक हुने देखिएको छ । तनहुँ– १ मा काँग्रेसका आशाका केन्द्रका रुपमा रहनु भएको २०७४ र ७९ मा घोषणापत्र समेत लेख्नु हुने स्वर्णिम वाग्ले रास्वपाबाट चुनाव लड्ने हुनुभएपछि काँग्रेसले ठूलै धक्काको अनुभूति गरेर छ । त्यो घाउँमा मल्हम लगाउने प्रयत्नमा जोशीको कारवाही फुकुवा गरेको देखिन्छ ।
कांग्रेसले कारबाही गरे पछि जोशीले तनहुँमा समानान्तर समिति गठन गरेर बिपी समाज र कांग्रेस स्वतन्त्र समूहमार्फत् राजनीतिक गतिविधिमा सक्रिय रहिरहनु भएको छ । उहाँले कारवाही फुकुवाप्रति भन्नुभएको छ, ‘सम्पूर्ण प्रयासका बाबजुद पनि वार्ताको वातावरण समेत नबनाउने, पार्टीमा सैद्धान्तिक विचलन ल्याउनेहरूबाट यसरी जनतालाई दिग्भ्रमित गर्ने गरिएको नर्णयको जति आलोचना गर्दा पनि कम हुन्छ ।’
जोशीले थप लेख्नु भएको छ, ‘नेपाली कांग्रेसले म र मसँग सम्बन्धित मान्छेसँग कुनै किसिमको सल्लाह नगरी एकलौटी रूपमा गरेको यस निर्णयलाई म हरहालतमा मान्न तयार छैन । चुनावको मुखमा मञ्चन गरिएको चुनाबी रणनीतिबाट दिग्भ्रमित नहुन तथा यस्तो अफवाहबाट विचलित नहुन म मेरा सम्पूर्ण जनतालाई आग्रह गर्दछु ।’
गत मंसिर ४ को चुनावमा पनि तनहुँ १ मा जोशीले रामचन्द्र पौडेलसँग प्रतिस्पर्धामा उत्रदै २५ हजार तीन सय १८ मतसहित चुनाव जित्दा जोशीले ६ हजार ८ सय ७८ मत ल्याउनु भएको थियो । सो स्थानमा एमाले, रास्वपालगायतबाट समेत चुनावी प्रतिस्पर्धा गरेका थिए ।
जोशीका छोरा दीपकराज जोशी पनि ब्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उठेर पराजित हुनु भएको थियो ।
यसैगरी, झण्डैं १० वर्ष पार्टीको कारबाहीमा पर्नु भएका कांग्रेस चितवनका पूर्वजिल्ला सभापति विकास कोइरालाले फुकुवा भएको खबर सामाजिक सञ्जाल र समाचारहरूबाट थाहा पाएको बताउनु भयो ।
कांग्रेस चितवन भित्र बलियो पकड रहेका नेता कोइराला २०७० सालको संविधान सभा निर्वाचनमा चितवनका तत्कालिन क्षेत्र नं. ४ बाट पार्टी केन्द्रीय सभापति सुशील कोइरालाकाविरुद्ध बागी उम्मेदवारी दिएपछि कारबाही गरिएको थियो ।
कारबाही फुकुवाको माग गर्दै आएका कोइरालाले भन्नुभएको छ, ‘मैले कारबाही हुन्छ ६ बर्ष पार्टीभन्दा बाहिर भइन्छ भनेर थाहा पाउँदा पाउँदै उम्मेदवारी दिएको हो, विधानमा ६ बर्ष भन्ने छ तर विभिन्न कारणले मलाई थप ४ वर्ष यत्तिकै कारबाही गरेर राखियो ।’
उहाँले पार्टीले आगामी दिनमा कस्तो भूमिका दिन्छ सोही अनुसारको जिम्मेवारी पूरा गर्ने बताउनु भएको छ ।
कांग्रेसले तनहुँ– १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने र महामन्त्री गगन थापालगायतको उपस्थितिमा मनोनयन दर्ता गराउने भएको बताइन्छ ।
तनहुँ– १ मा नेकपा एमालेबाट पूर्वआइजिपी सर्वेन्द्र खनाल उम्मेदवारी दिने हुनु भएको छ ।
स्मरणीय छ, २०७७ सालमा गोविन्दराज जोशीसँगै कारबाही भोगेका नेता पुष्करनाथ ओझाको भने कारबाही फिर्ता भएको छैन । उनलाई ०७४ को निर्वाचनमा तत्कालीन प्रधानमन्त्रीपत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवालाई चुनाव हराएको आरोपमा कारबाही गरिएको थियो ।
प्रकाशित मिति २०७९ चैत्र २०, सोमबार ०६:११ गते