उपनिर्वाचन : रास्वपातर्फ देखिन थाल्यो जनलहर, स्वर्णिम, रबि र रमेशद्वारा उम्मेदवारी दर्ता

उपनिर्वाचन : रास्वपातर्फ देखिन थाल्यो जनलहर, स्वर्णिम, रबि र रमेशद्वारा उम्मेदवारी दर्ता

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत २० गते सोमबार ०७:११

स्वर्णिम वाग्लेले तनहुँ क्षेत्र नम्बर १ मा उपचुनाव लड्नका लागि मनोनयन चैत २० गते दर्ता गराउनु भएको छ । उहाँका प्रस्तावकमा विश्वनाथ वास्तोला छन् भने समर्थकमा रूपक विक घिमिरे हुनुहुन्छ ।
नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव बाँस्तोला मनोनयन अघि मात्र रास्वपामा प्रवेश गर्नु भएको हो ।

चितवन– २ मा अन्य दललाई मंसिर ४ को मत बचाउने चुनौती

नारायणगढ– उपनिर्वाचनमा रास्वपातर्फ जनलहर देखिन थालेको छ । स्वर्णिम, रबि र रमेशद्वारा उम्मेदवारी दर्ता गराउनु हुँदा देखिएको जनसहभागिताले त्यस्तो पुष्टि गरेको हो । यसबाट चितवन– २ मा अन्य दललाई मंसिर ४ को मत बचाउने चुनौती थपिएको छ ।
बिपी र रविको भिजन तुलना गर्न मिल्छ : स्वर्णिम वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतासमेत रहेका अर्थशास्त्री स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेलाई नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँग तुलना गर्नु भएको छ । चितवनको एक कार्यक्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै वाग्लेले वि.सं.२०१५ सालमा बिपी कोइरालामा जस्तो हुटहुटी थियो अहिले रास्वपा सभापति लामिछानेसँग पनि त्यस्तै हुटहुटी रहेको बताउनु भएको छ ।
वाग्लेले भन्नुभयो, ‘०१५ सालको भिजन भएको, ऊर्जा भएको, आदर्श भएको यो देशलाई एउटा निश्चित समयसीमाभित्र यहाँ पुर्याउँछु भन्ने बिपीको हुटहुटीलाई तुलना गर्न मिल्छ, त्यो भिजन, त्यो महत्वकांक्षा देशलाई यहाँ पु¥याउनपर्छ भन्ने मिसनमा तुलना गर्न मिल्छ ।’

त्यस्तै, सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर– २ मा हुने उपनिर्वाचनमा मनोनयन दर्ता पछि आफूले पहिलेको भन्दा राम्रो मत ल्याउने बताउनु भएको छ । उहाँले मुलुकको समृद्धिका लागि, सुशासनका लागि, आउँदो पुस्ताको सुन्दर भविष्यका लागि तथा राजनीतिमा शुद्धताका लागि आफूले उम्मेदवारी दिएको उल्लेख गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘मलाई केही अनौठो लागेको छ । अस्ति भर्खर यही प्रक्रियाबाट गुज्रेको थिएँ । मान्छेको जीवनमा, राजनीतिक जीवनमा हुने बिरलै घटना हुन् । तर तात्त्विक रूपमा केही फरक छैन । निर्वाचनका लागि उत्साहित छु । तर मतान्तर कति हुन्छ भनेर भन्न सक्दिनँ । यसका लागि निर्वाचनको अन्तिम परिणाम कुर्नै पर्छ । यद्यपि राम्रो हुन्छ भनेर अपेक्षा गरेको छु । पहिलेको भन्दा पनि राम्रो हुन्छ भन्ने प्रतिक्रिया आइरहेका छन् ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट स्वर्णिम वाग्लेले तनहुँ क्षेत्र नम्बर १ मा उपचुनाव लड्नका लागि मनोनयन चैत २० गते दर्ता गराउनु भएको छ । उहाँका प्रस्तावकमा विश्वनाथ वास्तोला छन् भने समर्थकमा रूपक विक घिमिरे हुनुहुन्छ ।
नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव बाँस्तोला मनोनयन अघि मात्र रास्वपामा प्रवेश गर्नु भएको हो । उहाँले भन्नुभयो रास्वपाबाटै उम्मेदवारको आकांक्षी हुनुहुन्थ्यो । तनहुँका पूर्वजिल्ला सचिव विश्वनाथ बास्तोलाले राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनोनयन दर्ता गराउने तयारीमा रहेका स्वर्णिम वाग्लेका पक्षमा मत माग्नु भएको हो ।
एक वर्षअघि भएको स्थानीय तह चुनावमा कांग्रेस त्याग्नु भएका उहाँले गत मंसिरको चुनावमा रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिनु भएको थियो । तर उम्मेदवारी फिर्ता गरे पनि पौडेललाई सघाउनु भएन ।
यसैगरी, गण्डकी प्रदेशका पूर्व उर्जामन्त्री हरिशरण आचार्य पनि वाग्लेको पक्षमा खुल्नु भएको छ । आचार्य छिमेकी गोरखा जिल्लाका हुनुहुन्छ ।
मनोनयन दर्ताअघि भएको कोणसभामा बास्तोला र आचार्य रास्वपाको पक्षमा देखिनु भएको हो ।
वाग्लेको उम्मेदवारी दर्ता गराउन रास्वपाका सभापति रवि लामिछाने तनहुँ पुग्नु भएको थियो । उहाँ चितवन २ मा आफ्नो उम्मेदवारी दर्ता गरेर तनहुँ आउनु भएको हो ।
सो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराउनु भएको छ । गत मंसिरमा भएको चुनाव जितेका नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति चयन भएकाले यहाँ उपनिर्वाचन हुन लागेको हो ।
यसैगरी, बारा– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रमेश खरेलले उम्मेदवारी दर्ता गर्नु भएको छ । खरेलले उम्मेदवारी दर्ता हुनु अघि एमालेका पुरुषोत्तम पौडेल, जसपाका उपेन्द्र यादव र नागरिक उन्मुक्तिका डा. कमरुल्लाह अन्सारीपछि आ– आप्mनो उम्मेदवारी दर्ता गराउनु भएको थियो ।
‘मधेसका नागरिकले राम्ररी शिक्षा पाएका छैनन्, म आफै सुरक्षा क्षेत्रमै अहोरात्र खटेर सम्पुर्ण योग्यता लिएको हिसावले बारा– २ मा सुशासन, शिक्षा र सुरक्षाका लागि अहोरात्र खट्नेछु’, खरेलले भन्नुभयो । उहाँले आफूले जिते देशभरी यसैमा नीति बनाएर २ करोड ९२ लाख नेपालीलाई राहत दिन उम्मेदवारी रहेको दावी गर्नु भयो ।

यसैबीच, बारा– २ मा ३६ जनाको उमेदवारी परेको छ तीमध्ये २४ स्वतन्त्र उमेदवार रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार मनोनयनमा दलहरूकोतर्फबाट १२ जना र स्वतन्त्र २४ गरी ३६ जनाको उमेदवारी परेको हो ।
गत मंसिर ४ गतेको निर्वाचनबाट चुनिएका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ मा २४ जनाको उमेदवारी परेको छ । १२ जना दलकातर्फबाट र १२ स्वतन्त्र उमेदवारी परेको निर्वाचन आयोगका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले बताउनु भएको छ ।
यसैगरी, तनहुँ– १ मा ९ जनाको उमेदवारी परेको आयोगका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताउनु भयो । उहाँका अनुसार स्वतन्त्र उमेदवारी परेको छैन सबै राजनीतिक दलबाट मात्र उम्मेवादरी परेको छ ।

प्रकाशित मिति २०७९ चैत्र २०, सोमबार १९:११ गते
हजुरको प्रतिक्रिया