राजनीतिक दलका लागि पूर्वराजा ज्ञानेन्द्रको चुनौती : अहिलेको टालटुले प्रणालीले खँदिलो परिणाम दिँदैन

राजनीतिक दलका लागि पूर्वराजा ज्ञानेन्द्रको चुनौती : अहिलेको टालटुले प्रणालीले खँदिलो परिणाम दिँदैन

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत २० गते सोमबार ०८:३९


‘स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासन बिना हुन सक्दैन । कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिँलो परिणाम दिँदैन’ पूर्वराजाबाट व्यक्त भएको छ ।

अहिले सामाजिक संरचना च्यात्ने काम भइरहेको उदघोष

इनरुवा(सुनसरी)– पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तन देखाउनका लागि भएको अहिलेको टालटुले प्रणालीले कुनै खँदिलो परिणाम नदिने बताउनु भएको छ । नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै स्थिरता र स्थायित्व सही राज्यपद्धति बिना हुन नसक्ने उल्लेख गर्दै पूर्वराजा शाहले परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम नदिने चैत २० गते बताउनु भएको हो ।
राजावादीहरूको अभिनन्दन गरेपछि सम्बोधन गर्दै पूर्वराजाको अहिलेको गणतान्त्रिक व्यवस्था कोरा र सतही भएको दाबी गर्दै आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिन नसक्ने जिकिर गर्दै भन्नुभयो, ‘स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासन बिना हुन सक्दैन, कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिँदैन ।’
राष्ट्र र राष्ट्रिय एकताको रक्षा गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै पूर्वराजाले शान्ति, सुव्यवस्था र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटो लाग्नुपर्नेमा जोड दिदै व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर नभई हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सकेमा देश बन्ने उहाँको धारणा छ ।
सो कार्यक्रममा राजावादीहरूको उल्लेख्य सहभागिता थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाहको सम्बोधनको पूर्णपाठ :
उपस्थित दिदीबहीनी तथा दाजुभाइहरू,
सुनसरी जिल्लाको यो सुन्दर नगरी इनरुवामा भेला भएर तपाईंहरूले राष्ट्रको हित चिन्तन गर्दै र आजका जनआकांक्षा तथा आवश्यकताहरूलाई औंल्याएर जुन प्रकारको अभिनन्दन भाव प्रकट गर्नु भएको छ, त्यसप्रति म कृतज्ञता व्यक्त गर्दछु ।
सदासर्वदा स्वाधिन रहेको र आफ्नै मौलिख मान्यताभित्र स्वाभिमानपूर्वक आधुनिकतातर्फ लागेको हाम्रो नेपाल हामीलाई सधैँ राम्रो लाग्छ, हामीलाई सधैँ प्यारो लाग्छ । राष्ट्रको यही गौरबगाथा र राष्ट्रप्रतिको त्यही अघात प्रेम फेरि एकपटक यहाँ प्रकट भएको छ । तपाईंहरूले दर्साउनु भएको यस्तो देशभक्ति हामीले हृदयदेखि सम्मान गर्दछौँ । आफ्नो देशलाई माया गरेर आफ्नो देशको अवस्थालाई बुझेर तपाईंहरूबाट जसप्रकारको चिन्ता चासो र चिन्तन प्रस्तुत भएको छ, त्यसमा मेरो गहिरो ध्यान पुगेको छ ।
स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासन बिना हुन सक्दैन । कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिँलो परिणाम दिँदैन ।
निश्चय पनि हामीले राष्ट्रियता र राष्ट्र एकताको रक्षा गर्नुछ, निश्चय पनि हामीले हाम्रो राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु छ र निश्चय पनि हामीले शान्ति, सुव्यवस्था र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटो लाग्नु छ ।
राष्ट्र नै हाम्रो आफ्नो ब्रम्ह हो । आफ्नो भूभागका जनता नै हाम्रा विधाता हुन्, अनि यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अह्म् धर्म हो । त्यसैले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर होइन अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नु पर्दछ । तपाईंहरू जस्तै सबैमा यस्तै राष्ट्रिय दृष्टिकोण जाग्रत हुँदै जाओस् ।
धन्यवाद । जय नेपाल !

प्रकाशित मिति २०७९ चैत्र २०, सोमबार २०:३९ गते
हजुरको प्रतिक्रिया