फेरि घट्यो इन्धनको मूल्य : तर गाडी भाडा ?

फेरि घट्यो इन्धनको मूल्य : तर गाडी भाडा ?

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत २१ गते मङ्गलबार ०७:२९

घटेको नयाँ मूल्यपछि निगमलाई १५ दिनमा एक अर्ब ५० करोड रुपैयाँ बढी नाफा हुने प्रक्षेपण गरेको थियो ।

लिटरमै १० रुपैयाँले घट्यो डिजेल र मटीतेलको मूल्य, ग्याँसको भने घटेन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेलमा प्रतिलिटर १० रुपैयाँ र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय चैत २० गते गरेको हो ।
नेपाल आयल निगमको सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०÷१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताउनु भयो । उहाँका अनुसार बोर्ड बैठकले डिजेल, मटीतेल र दुवै प्रकारका हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको छ । उहाँले भन्नुभयो, ‘खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् राखिएको छ ।’
अब डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मटीतेलको खुद्रा मूल्य १७५ रुपैयाँ लिटर थियो । यस्तै हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ ।
घटेपछिको नयाँ मूल्य अनुसार हवाई इन्धन आन्तरिकतर्फ १६० रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ डलर १.३५० प्रतिकिलोलिटर कायम भएको छ ।
यस्तै पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाएर १७५ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १८ सय रुपैयाँमै यथावत् राखिएको बताइएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर इन्धनको नयाँ मूल्य प्राप्त भएको थियो । जसअनुसार खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डरमा ३० रुपैयाँ, पेट्रोल लिटरमा १ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको थियो ।
घटेको नयाँ मूल्यपछि निगमलाई १५ दिनमा एक अर्ब ५० करोड रुपैयाँ बढी नाफा हुने प्रक्षेपण गरेको थियो । अघिल्लो पटक पनि घटेर नयाँ मूल्य आउँदा पनि मूल्य समायोजन नगरेको निगमले यस पटक भने घटेर प्राप्त भएको नयाँ मूल्यभन्दा पनि बढीले उपभोक्ता मूल्य समायोजन गरेको निगमका कार्यकारी निर्देशक थानीले बताउनु भयो । उहाँका अनुसार निगमलाई अझै सरकारको ६ अर्ब ५० करोड ऋण र आइओसीको ८ अर्ब रुपैयाँ बक्यौता बाँकी छ ।

प्रकाशित मिति २०७९ चैत्र २१, मंगलवार ०७:२९ गते
हजुरको प्रतिक्रिया