काठमाडौं– आउँदो वैशाख १० गतेका लागि तय भएको उपनिर्वाचनमा सत्तासिन गठबन्धन विभाजित भएको छ । सत्ता गठबन्धनमा दस दल रहेका छन् । मध्ये प्रमुख पाँच दलले तीनै क्षेत्रमा एउटै उम्मेदवारलाई समर्थनको निर्णय गर्दै चैत २१ गते विज्ञप्ति जारी गरेसँगै त्यस्तो खुलासा भएको हो ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले संयुक्त विज्ञप्ति जारी गर्दै त्यस्तो आह्वान गर्नु भएको हो । गठबन्धनमै रहे पनि जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ लगायतको भने हस्ताक्षर छैन । सरकारलाई समर्थन गरेको रास्वपा पनि एक्लै निर्वाचन लडिरहेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी गरी ५ दल एक ठाउँमा उभिए पनि जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले भने उनीहरूलाई साथ नदिने भएका छन् । सत्ता गठबन्धनबाट तनहुँ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, चितवन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ तथा बारा क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादव चुनावी मैदानमा उत्रनु भएको छ ।
‘गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराई निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टी पंक्ति एकीकृत रूपमा परिचालित हुन आवश्यक छ’, गठबन्धन दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यसर्थ, गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक संघ, संस्था÷संगठनका साथीहरु तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न तथा गठबन्धनमा रहेका दलको सम्बन्धित प्रदेश, जिल्ला र उप–निर्वाचन हुने प्रतिनिधि सभा क्षेत्रसँग आवश्यक समन्वय गरी गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन आ–आफ्नो तहबाट सम्पूर्ण पार्टी पंक्तिलाई व्यापक परिचालन गर्नु गराउनु हुन हार्दिक आह्वान गर्दछौँ ।’
सो विज्ञप्तिमा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टीले हस्ताक्षर गरेका छैनन् । चितवन– २ मा माओवादीले काँग्रेसलाई मत नदिने अनौपचारिक घोषणा गरेको बताइएको छ ।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले बारा– २ आ–आफ्नै उम्मेदवार उठाएका छन् ।
बालुवाटार बैठकमा गठबन्धनका चार दलमात्र
यसैबीच, सत्तारुढ गठबन्धनमा आवद्ध १० दलमध्ये बालुवाटारमा बसेको बैठकमा ४ दलको मात्र उपस्थिति रह्यो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरू मात्र सहभागी थिए ।
सो बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल हुने बालुवाटार स्रोतको भनाइ छ ।
प्रकाशित मिति २०७९ चैत्र २२, बुधबार ०५:०७ गते