पोखरा– उच्च अदालत पोखराले गत वैशाखमा भएको स्थानीय निर्वाचनमा पोखरा महानगर– १८ को वडाध्यक्षको मत गणना बदर गरिदिएको छ । निर्वाचनमा ३ मतले पराजित भएपछि एमालेका उम्मेदवार पुष्कल थापाले पुनः मतगणना माग गर्दै जेठ १८ गते अदालतमा दिनु भएको निवेदनको सुनुवाई गर्दै चैत २१ गते त्यस्तो आदेश दिएको हो ।
गत वैशाख ३० गते निर्वाचन भए पनि पोखरा– १८ को मतपरिणाम जेठ १० गतेमात्र आएको थियो ।
उक्त वडामा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद तिमल्सिनाले १६४३ मत पाएर विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको थियो । तिमल्सिनाका प्रतिस्पर्धी एमालेका थापाले १६४० मत पाएको घोषणा भएको थियो । प्रतिष्पर्धी एमालेका उमेदवार पुष्कलबहादुर थापाले भने तत्कालै पुनः मतगणनाको माग राख्नु भएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले थापाको माग अस्वीकार गर्दै अन्तिम मतपरिणाम सार्वजनिक गरेको थियो ।
त्यसका विरुद्ध थापाले निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय कास्की, निर्वाचन अधिकृतको कार्यालय र विजयी वडाध्यक्ष तिमल्सिनालाई प्रतिवादी बनाएर निवेदन दिनु भएको थियो ।
थापाले वडामा खसेको ९ मत गणनामा नदेखिएको र उक्त मत आफूले पाउने भन्दै अदालतमा रिट दिनु भएको थियो ।
अदालतले उक्त वडाको मत पुनः गणना गर्न पनि आदेश दिएको रजिष्टार श्रीलाल पौडेलले बताउनु भयो । उहाँका अनुसार अदालतका कामु मुख्यन्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषिराज भण्डारीको संयुक्त इजलासले सो आदेश दिएको हो ।
उच्च अदालतले निर्वाचन आयोगको नाममा झन्डै ११ महिनापछि पुनः मतगणना गर्न आदेश दिएको हो ।
प्रकाशित मिति २०७९ चैत्र २२, बुधबार ०५:१५ गते