काठमाडौँ– सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि हवाई भाडा आज चैत २२ गतेबाट घटेको छ । हवाई भाडा आजदेखि घटेर लागू भएको अवस्थामा स्थल रुटमा चल्ने गाडीको भाडा कहिले घट्ने हो ? भन्ने प्रश्न उठेको छ ।
सबैभन्दा धेरै काठमाडौँबाट धनगढीको उडानमा ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५१० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७० रुपैयाँ तिरे पुग्ने भएको वायुसेवा सञ्चालक संघले जनाएको छ । संघका अनुसार काठमाडौँबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुपैयाँले भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ ।
यसैगरी, काठमाडौँबाट भद्रपुरका लागि ३०० रुपैयाँ भाडा घटेको छ । विराटनगरलाई २४०, जनकपुरका लागि १३०, भरतपुरका लागि १०५ र पोखराका लागि १५५ रुपैयाँ हवाई भाडा घटेको छ । त्यस्तै, काठमाडौँबाट भैरहवा उडानको भाडा २०५ रुपैयाँले घटेर ३ हजार २९५ रुपैयाँ कायम भएको छ । नेपालगन्जमा ३२५, तुम्लिङटारका लागि १८५, सिमराका लागि ९० रुपैयाँ, सुर्खेतका लागि ३४५ र राजविराजका लागि २०५ रुपैयाँ भाडा घटेको संघले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति २०७९ चैत्र २२, बुधबार ०७:४१ गते