अपाङ्गता अधिकार कर्मी पौडेल सम्मानित

अपाङ्गता अधिकार कर्मी पौडेल सम्मानित

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत २२ गते बुधबार ०८:५६

चन्द्रकान्त पौडेलले अधिकारकर्मीका रुपमा जिल्लामा दुई दशक अघिदेखि विशेष योगदान गर्नुका साथै जिल्लालाई राष्ट्रियस्तरमा समेत चिनाउन पहल गर्नु भएको भन्दै सम्मान गरिएको हो ।

दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यतामा अपाङ्ग सञ्जाल प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

भार्ते(लमजुङ)– दोर्दीको अपाङ्ग सञ्जाल प्रथम साधारण सभा तथा अधिवेशनमा अपाङ्गता अधिकार कर्मी पौडेल सम्मानित हुनुभएको छ । दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यतामा यहाँ आयोजना गरिएको सो सभामा उहाँले पौडेललाई चैत २२ गते सम्मान गनुर्् भएको हो ।
चन्द्रकान्त पौडेलले अधिकारकर्मीका रुपमा जिल्लामा दुई दशक अघिदेखि विशेष योगदान गर्नुका साथै जिल्लालाई राष्ट्रियस्तरमा समेत चिनाउन पहल गर्नु भएको भन्दै सम्मान गरिएको हो । २०५५ सालदेखि अपाङ्गता अभियानमा लाग्नु भएका उहाँले जिल्लामा आफ्नै नेतृत्वमा २०६२ सालमा अपाङ्ग संरक्षण समाज नामक संस्था स्थापन गरी संस्थापक अध्यक्ष भएर अपाङ्गताको क्षेत्रमा सशक्तिकरण र अधिकारको क्षेत्रमा निरन्तर लागि पैरवी गर्दै आउनु भएको छ ।
दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले अपाङ्गता परिचय पत्र वितरण गर्नु हुँदै प्रमुख आतिथ्यता मन्तव्य व्यक्त गर्नु भएको थियो । उहाँले गाउँपालिकाको तर्फबाट यस क्षेत्रमा गर्नु पर्ने काम तथा बजेटका लागि कुनै बहाना बाजी नगरिने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले अपाङ्गताका क्षेत्रमा गाउँपालिकाको तर्फबाट निरन्तर लाग्ने उल्लेख गर्नु भयो ।
यसैगरी, सम्मानित व्यक्तित्व एवम् विशेष अतिथि अपाङ्ग महासङ्गका निवर्तमान सदस्य तथा अपाङ्ग संरक्षण समाज लमजुङका अध्यक्ष चन्द्रकान्त पौडेलले जिल्लामा नयाँ जनगणनाको तथ्यांक अनुसार अपाङ्गता भएका व्यक्तिको संख्या एकिन गर्नेतर्फ आफ्नो ध्यान गएको र यो काम तत्कालै गरिने छ भन्नुभयो । उहाँले अपाङ्गताका प्रकार र परिचयपत्रको वर्गीकरणका बारेमा समेत प्रकाश पार्नु भएको थियो । उहाँले अपाङ्गता भएका व्यक्तिका लागि ऐनले दिएको सुविधाका बारेमा समेत जानकारी दिदै यसको कार्यान्वयका लागि निरन्तर पैरवीमा आफू लागि परेको र अझै लाग्ने बताउँदै सम्मानित भएर थप जिम्मेवारी बढेको अनुभव भएको उल्लेख गर्नु भयो ।
यसैगरी, अर्का अधिकारकर्मी एवम् अपाङ्ग निर्देशक समिति गण्डकी प्रदेश सदस्य राजेन्द्र घिमिरेले प्रदेश र संघीय कानुनको कार्यान्वयको अवस्थामा बारेमा जानकारी दिदै हामीले निरन्तर खबरदारी गर्नु पर्ने हुँदा त्यसतर्फ लागि परेको बताउनु भयो ।
सो अवसरमा वडा १ का अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, कार्यपालिका सदस्य लालुमाया मिजार र अम्बिका मरहठाले समेत शुभकामना व्यक्त गर्नु भएको अपाङ्ग संरक्षण समाजका सचिव सिताराम बसेलले बताउनु भयो ।
सञ्जालका अध्यक्ष ध्रुव परियारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष यमबहादुर थापा मगरले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्जालका सचिव कमलनाथ अधिकारीले सञ्चालन गर्नु भएको थियो । उहाँले सो भेलाका लागि दोर्दी गाउँपालिकाको सहयोग रहेको जानकारी दिदै कार्यक्रममा कुल सहभागी संख्या १०५ रहेको बताउनु भयो ।
सो कार्यक्रममा सम्मानित व्यक्तित्व चन्द्रकान्त पौडेल लमजुङको सदरमुकाम बेसीशहरमा जन्मनु भएको हो । उहाँ २०५५ सालदेखि अपाङ्गता अभियानमा लाग्नु भएको हो । उहाँले जिल्लामा आफ्नै नेतृत्वमा २०६२ सालमा अपाङ्ग संरक्षण समाज नामक संस्था स्थापन गरी संस्थापक अध्यक्ष भएर अपाङ्गताको क्षेत्रमा सशक्तिकरण र अधिकारको क्षेत्रमा निरन्तर लागि राख्नु भएको छ । उहाँ जिल्ला हुँदै दुई कार्यकाल राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय सदस्य हुनु भएको उहाँ हाल महासंघको गण्डकी प्रदेश समितिको सचिव हुनुहुन्छ ।
कक्षा– ७ मा अध्ययन गर्दा त्यो बेलामा जिल्लामा क्रियाशील रहेको अन्तराष्ट्रिय गैरसरकारी संस्था द रेयुकाई नेपालको सदस्य भई समाजेसेवामा अग्रसर हुनुभएका पौडेलको पत्रकारिता क्षेत्रमा पनि लामो अनुभव छ । अन्तरङ्ग राष्ट्रिय साप्ताहिकका सहसम्पादक रहनु भएको पौडेल यस जिल्लामा समाचार लेखेका कारण जेलमा जाने पत्रकारमध्ये (२०६० साल)मा हालसम्मको दोस्रो र अन्तिम पत्रकार समेत हुनुहुन्छ ।
सो अवसरमा सञ्जालको नयाँ समिति समेत गठन गरिएको छ । समितिको अध्यक्षमा ध्रुव परियार पुनः चयन हुनुभएको छ । त्यस्तै, उपाध्यक्षमा गीता गिरी, सचिवमा कमलनाथ अधिकारी पनि दोहोरिनु भएको छ । कोषाध्यक्ष चिजा कुँवर र सहसचिवमा तुलसीप्रसाद लामिछाने चयन हुनुभएको छ ।
यसैगरी, समितिको सदस्यहरूमा गजेन्द्र अधिकारी, कृष्णराज गुरुङ, देवी मिजार, विजय घले, ऋषिराम घिमिरे र एकमाया गुरुङ चयन हुनुभएको सञ्जालका सचिव अधिकारीले जानकारी दिनुभयो ।
यातायात काउन्टर ईन्चार्ज बराल सम्मानित :
यसअघि, अपांग संरक्षण समाज लमजुङले लमजुङ कालिका यातायात प्रालिका बेसीशहर काउन्टर इन्चार्ज खुशीराम बराललाई सम्मान गरेको थियो । बेसीशहर नगरपालिका– २ नरुवालमा आयोजना गरेको दुई दिने अभिभावक सचेतना कार्यक्रममा बराललाई चैत १० गते सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेल, तथा अपाङ्ग संरक्षण समाज लमजुङका अध्यक्ष चन्द्रकान्त पौडेलले दोसल्ला ओढाउनुका साथै सम्मानपत्र प्रदान गरी बराललाई सम्मान गर्नुभएको थियो ।
बेसीशहर नगरपालिका ८ निवासी बरालले अपाङ्गता भएका व्यक्तिका लागि कानूनी सचेतना तथा अभिभावक सचेतना कार्यक्रममा बरालले बस काउन्टरमा बसेर अपाङ्गता सचेतना कार्यक्रम तथा विभिन्न समयमा अपाङ्गता भएका नागरिकका लागि यातायातमा सहजता ल्याउन सहजीकरणको भूमिका निर्वाह गर्दै विशेष योगदान गर्नु भएको भन्दै उहाँलाई सम्मान गरिएको अपाङ्ग संरक्षण समाजका सचिव सीताराम बसेलले बताउनुभयो ।

प्रकाशित मिति २०७९ चैत्र २२, बुधबार २०:५६ गते
हजुरको प्रतिक्रिया