लमजुङ– सुयल थापा प्रतिष्ठान नेपालको राष्ट्रिय भेला तथा प्रथम जिल्ला अधिवेशन आज चैत २४ गते जिल्ला सदरमुकाम बेसीशहरमा हुँदै छ । सुर्यवंशी वशिष्ठ गोत्री श्रीपाली सयुल थापा प्रतिष्ठान नेपालले आयोजना गरेको उक्त कार्यक्रममा मुलुकभरका सुयल थापाहरू भेला भएका छन् ।
पूर्व उपप्रधानमन्त्री कमल थापाले उदघाटन गर्नु हुने भेलाको तयारीका लागि करिब एक सातादेखि केन्द्रीय पदाधिकारीहरू यहाँ खटिरहेका छन् । भेलाको तयारीका बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो । उक्त कार्यक्रममा सहभागी हुन उहाँ हिजै बेसीशहरमा आइपुग्नु भएको आयोजकले जानकारी दिएका छन् । 
प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष डा. प्रेमवहादुर थापाले सुयल थापा प्रतिष्ठानको स्थापना तथा उदेश्य बारे प्रकाश पार्दै लमजुङमा हुन गइरहेको राष्ट्रिय भेला तथा जिल्ला अधिवेशनबारे जानकारी गराउनुभएको थियो । उहाँले सुयल थापा समाजको छाता संगठनको रुपमा रहेको श्रीपाली सुयल थापा प्रतिष्ठानको मुख्य उद्देश्य विभिन्न स्थानमा रहेका सुयल थापाहरूलाई एकिकृत गर्ने, वंशावली तयार गर्ने, पूर्वजहरूले गरेका तथा रचेका गौरवमय इतिहास, संस्कृति र संस्कारको संरक्षण र सम्वर्धन गर्दै कुलवंशको विकास तथा समृद्धिमा एकवद्ध हुने रहेको बताउनुभयो । उहाँका अनुसार कुल वशंजको विकास सँगै समग्र देश विकासमा योगदान पुर्याउने उद्देश्य सहित प्रतिष्ठानको स्थापना भएको हो ।
विभिन्न स्थानमा छरिएर रहेका बन्धुहरूलाई एकै ठाउँमा भेला गर्ने तथा आपसमा विचार आदान प्रदान तथा छलफल गर्ने उदेश्यका साथ चैत २४ गते बेसीशहरमा राष्ट्रिय भेला तथा जिल्ला अधिवेशन गर्न लागेको र त्यसको तयारी पुरा भएको पत्रकार सम्मेलन गरी प्रतिष्ठानले बताएको छ ।
दैलेखका गोपाल सुयलले सुयल थापाका सहगोत्री वारेमा जानकारी गराउनु भएको थियो । उहाँले तथ्यांकगत रुपमा देशभर तथा वाहिर सुयल थापाको यकिङ तथ्यांक नभएपनि आफ्ना वन्धुहरूको खोजी गर्ने तथा एकिकृत गर्ने क्रममा देशभर करिव ६५ जिल्लामा श्रीपाली सुयल थापा रहेको र हालसम्म २० जिल्लामा समिति गठन भएको जानकारी दिनुभयो ।
सुयल थापा समाजका वन्ध पूर्व उपप्रधानमन्त्री कमल थापाको प्रमुख आतिथ्यतामा हुने राष्ट्रिय भेला तथा जिल्ला अधिवेशनमा देशभर छरिएर रहेको सुयल थापा वन्धुहरू एवं केन्द्रिय समितिका पदाधिकारीहरूको उपस्थिती रहने कार्यक्रम संयोजक बेनवहादुर सुयलले बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय भेलामा जातिय एकता, सद्भाव, विश्वास एवं सहिष्णुता कायम राख्दै सास्कृतिक तथा ऐतिहासिक मूल्य र मान्यताको जगेर्नाका लागि विभिन्न स्थापनमा रहेका सुयल थापा वन्धुहरू विच छलफल गरिने छ । जिल्ला भित्रै विभिन्न स्थानमा छरिएर रहेका सुर्यवशी वशिष्ट गोत्री सुयल थापाहरूलाई एकिकृत गर्ने उद्देश्य सहित हुने गइरहेको प्रथम जिल्ला अधिवेशनले जिल्ला समिति समेत गठन गर्नेछ ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका केन्द्रीय पदाधिकारी, दैलेख, संखुवासभा र लमजुङकै सुयल थापा वन्धुहरूका साथ विभन्न संचारकर्मीहरूको सहभागिता थियो ।
प्रकाशित मिति २०७९ चैत्र २४, शुक्रबार ०७:५४ गते