धार्मिक दङ्गाको डरले सरकारले तथ्यांक लुकायो : पूर्व उपप्रधानमन्त्री कमल थापा

धार्मिक दङ्गाको डरले सरकारले तथ्यांक लुकायो : पूर्व उपप्रधानमन्त्री कमल थापा

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत २४ गते शुक्रबार ०६:४८

प्रमुख अतिथि थापाले श्रीपाली सुयल थापाहरूको तीन विशेषता रहेको औल्याउनु भयो । उहाँले ती विशेषतामा पहिलो बीरता, दोस्रो राष्ट्र भक्ति र तेस्रो स्वधर्मप्रतिको निष्ठा रहेको उल्लेख गर्नु भयो । उहाँले आफ्ना पूर्वजहरू कसैले पनि राष्ट्रप्रति गद्दारी नगरेको र नेपालको एकीकरणमा समेत विशिष्ठ योगदान गरेको चर्चा गर्नु भयो ।

जनगणनाको तथ्यांक सार्वजनिक गर्दा धर्मावलम्बीको तथ्यांक खुलाएन किन ?

बेसीशहर । पूर्व उपप्रधानमन्त्री कमल थापाले सरकारले धार्मिक दङ्गाको डरले हालै सार्वजनिक जनगणना तथ्यांकमा धार्मिक क्षेत्रका तथ्यांक लुकाएको बताउनु भएको छ । उहाँले सुर्यवंशी वशिष्ठ गोत्री श्रीपाली सयुल थापा प्रतिष्ठान नेपालको लमजुङको सदरमुकाम बेसीशहरमा आयोजना गरिएको सातौं राष्ट्रिय भेला तथा प्रथम जिल्ला अधिवेशनको उदघाटन गर्दै चैत २४ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले २०६८ सालको जनगणनामा हिन्दू धर्मावलम्बी ८१ प्रतिशत, बौद्ध धर्मावलम्बिहरू नौ प्रतिशत र किराँती धर्मवाला तीन प्रतिशत रही तेस्रो स्थानमा रहेकोमा ऐले भने त्यो रेकर्डमा भारी मात्रामा फेरबदल आएको छ । त्यसैले नै तथ्यांकनै गायव गरिएको उहाँले दावी गर्नु भयो । पछिल्लो तथ्यांकले यी सबै धर्मावलम्बीको स्थानलाई धेरै तल पु¥याएको छ । त्यसैले धार्मिक दंगा नहोस् भन्नका लागि सरकारले त्यो तथ्यांक लुकाएको हो भन्ने ठोकुवा उहाँले गर्नु भयो । ढिलो चाडो, कुनै न कुनै स्रोतबाट त्यो तथ्यांक बाहिर आउने नै छ भन्दै श्रीपाली सुयल थापाहरूको तीन विशेषता रहेको उहाँले औल्याउनु भयो । उहाँले ती विशेषतामा पहिलो बीरता, दोस्रो राष्ट्र भक्ति र तेस्रो स्वधर्मप्रतिको निष्ठा रहेको उल्लेख गर्नु भयो । उहाँले आफ्ना पूर्वजहरू कसैले पनि राष्ट्रप्रति गद्दारी नगरेको र नेपालको एकीकरणमा समेत विशिष्ठ योगदान गरेको चर्चा गर्नु भयो । उहाँले सनातन संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरणका लागि सबैले पहल गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
सो अवसरमा प्रमुख अतिथि थापाले स्थानीय तहमा निर्वाचित हुने बन्दीपुर गाउँपालिका, तनहुँका अध्यक्ष सुरेन्द्रबहादुर थापा, लमजुङको सुन्दरबजार नगरपालिका– ८ का अध्यक्ष वीरेन्द्र थापा, बेसीशहर नगरपालिका– ६ का अध्यक्ष प्रकाश थापालाई सम्मान गर्नुका साथै ८० वर्ष पार गर्नु भएका उक्त वंशका जेष्ठ नागरिक ७ जनालाई समेत सम्मान गर्नु भएको थियो ।
उक्त कार्यक्रममा पूर्वरथी नेत्रबहादुर थापाले सुयल थापाहरूले देशका लागि गरेको योगदानका बारेमा कमै लेखिने गरेको स्मरण गर्दै अग्रजहरूको योगदान सहितका ऐतिहासिक दस्तावेजहरू कितावको रुपमा प्रकाशनमा आउनु पर्नेमा जोड दिनु भयो । त्यस्तै, संविधानसभाका सदस्य गणेश थापा लगायतले शुभकामना व्यक्त गर्दै यो कार्यक्रमले चितवनदेखि आफूलाई छोएको बताउँदै वंशजका कोहीले पनि खर्चकै अभावका कारणले उपचार नपाएर अकालमा मर्ने स्थिति नहोस् त्यसका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
आयोजक प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष डा. प्रेमबहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उनले सुयल थापा प्रतिष्ठानको स्थापना तथा उद्देश्य बारे प्रकाश पार्दै हालसम्मको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । उहाँले संगठनका गतिविधिको संग्रहका रुपमा स्मारिकाको प्रकाशन तयारी गरेको जानकारी दिनु हुँदै प्रतिष्ठानको भावी योजनाका बारेमा जानकारी दिदै काठमाडौंमा सुयल सदनको निर्माणको कार्य थालिएको र त्यसमा वंशका प्रत्येक घरबाट कम्तिमा एक रुपैयाँ र सक्नेले आफ्नो गच्छे अनुसारको सहयोग गर्न आग्रह गर्नू भयो । उहाँले उक्त सभामा २९ जिल्लाको सहभागिता रहेको जानकारी दिदै २० जिल्लाका औपचारिक रुपमा शाखा विस्तार भएको र ५६ जिल्लामा सुयल थापाको बसोबास रहेको जानकारी दिनु भयो । उहाँले जिल्लामा ११ जनाको समिति गठन गरिने जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा तमु ह्योंला छोज घिं गुरुङ राष्ट्रिय परिषदका जिल्ला अध्यक्ष जीवराज घले, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष अनुज अधिकारीले शुभकामना व्यक्त गर्दै संस्कार संस्कृतिको जर्गेनामा सबै एक भएर जुट्नु पर्ने उल्लेख गर्नु भएको थियो । सो अवसरमा अर्जुन सुयलले स्वागत गर्नु भएको थियो भने नाराइनबहादुर सुयलले यो जिल्ला सुयलहरूको ऐतिहासिक र गौरवले पूर्ण जिल्ला भएको उल्लेख गर्दै जिल्लामा भएका गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियो ।

प्रकाशित मिति २०७९ चैत्र २४, शुक्रबार १८:४८ गते
हजुरको प्रतिक्रिया