नेपालगञ्ज– हतियार प्रदर्शन गरेको भिडिओ बाहिरिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनका सहयोगी बैजनाथ गाउँपालिका, नौवस्ताका गणेशबहादुर बोगटीलाई गए राती ‘एके ४७’ सहित पक्राउ परेको चैत २८ गते खुलासा भएको हो ।
चक्रे मिलन नेपालगञ्ज गएका बेला उनलाई ‘एके ४७’ हतियारसहित स्कर्टिङ गरिएको भिडियो सार्वजनिक भएपछि उनका सहयोगी पक्राउ परेका हुन् ।
पक्राउ परेका बोगटीको साथबाट घातक हतियार समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरले बताउनु भयो । उहाँका अनुसार उनले जिल्ला प्रशासन कार्यालय, बाँकेबाट लाइसेन्स समेत लिएको पाइएको छ । उहाँले भन्नुभयो, ‘सो हतियार के प्रयोजनका लागि र कहिले लिएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’ एसपी राठौरले थप भन्नुभयो, ‘उक्त बन्दुक बोगटीकै नाममा लाइसेन्स छ । तर त्यसरी खुला रूपमा प्रदर्शन गर्दै हिँड्न मिल्दैन । उक्त खबर पाएपछि टोली पठाएर पक्राउ गरी ल्याएका हौं ।’ उहाँका अनुसार भिडिओ हिजो दिउँसोको हो ।
नेपालगञ्जको सिद्धार्थ होटलमा देखिएका बेला बोगटीले हतियारसहित उनलाई स्कर्टिङ गरेको भिडियो एक टिकटकमार्फत सार्वजनिक भएको थियो ।
बोगटीविरुद्ध कुन मुद्दामा अनुसन्धान अघि बढाउने भन्ने विषयमा प्रहरीले सरकारी वकिलको कार्यालयसँग छलफल गरिरहेको बुझिएकोछ । उनीउपर हातहतियार तथा खरखजना मुद्दामा वा अभद्र व्यवहारको मुद्दा चलाउन मिल्ने कानुन व्यवसायीको भनाई छ ।
दीपक मनाङेमार्फत रेस्टुराँको बाउन्सर हुँदै ठेक्कापट्टामा लागेर गुण्डागर्दीमा छिरेका गणेश लामाको समूहले २०६१ सालमा पानीपोखरीको चुफाङ रेष्टुराँमा चक्रे मिलनको हात छिनाइदिएको थियो । दीपक मनाङे गण्डकी प्रदेशसभा सदस्य निर्वाचित भएर मन्त्री समेत बनिसकेका छन् । उनी स्वतन्त्र रुपमा दोस्रोपटक निर्वाचित भएपछि एकीकृत समाजवादीमा आवद्ध भएका छन् । तर गणेश लामा भने नेपाली कांग्रेसमा सम्बद्ध छन् ।
स्मरणीय छ, चक्रे मिलन काठमाडौं उपत्यकाको पुरानो गुण्डा नाइकेमध्येमा पर्छन् । २०६२÷६३ को जनआन्दोलन कालपछि महाराजगञ्जमा चक्रे मिलन, ठमेलमा दीपक मनाङे तथा चाबहिल क्षेत्रमा राजु गोर्खालीको बोलाबाला थियो । पछिल्लो दशकमा प्रहरीले गुण्डागर्दीमा संलग्नहरूका विरुद्ध आक्रामक नीति लिन थालेसँगै उनीहरूले राजनीतिक आड लिन पुगेका थिए ।
प्रकाशित मिति २०७९ चैत्र २८, मंगलवार १४:१६ गते