पाउँदी(लमजुङ)– १० अप्रिल, लमजुङ सेवा समाज कतारद्वारा बृद्धाआश्रमलाई वासिङ मेसिन सहयोग गरको छ । लमजुङको राइनास नगरपालिका– ८, हर्राबोट स्थित पाउँदी नदी किनारमा रहेको सर्वोदय सेवा आश्रमलाई सो मेसिन हस्तान्तरण चैत २७ गते गरेको हो ।
आश्रममा रहनु भएका जेष्ठनागरिकहरू तथा असहाय बुवाआमाहरूको दैनिकी सहज होस भन्ने उद्देश्यले कपडा धुने अटोमेटिक वासिङ मेसिन सो समाजले सहयोग गरेको हो ।
कतारबाट घर बिदामा रहनु भएका लमजुङ सेवा समाज कतारका प्रथम उपाध्यक्ष बिनोदप्रसाद बसौला, संस्थाका सक्रिय सदस्य अनन्त घिमिरे तथा शुभचिन्तक युवराज पौडेलद्वारा सोही आश्रममा उपस्थित हुनु भई त्यहाँ आश्रित असहाय जेष्ठनागरिक तथा बुबाआमाहरूको समेत उपस्थितिमा आश्रमका सस्थापक अध्यक्ष कृष्णराज ओलिया तथा बर्तमान अध्यक्ष सुकदेव रिसाललाई संयुक्त रुपमा उक्त वासिङ मेसिन हस्तान्तरण गर्नु भएको हो ।
सो अवसरमा आश्रमका सस्थापक अध्यक्ष कृष्णराज ओलियाले लमजुङ सेवा समाज कतारले प्रवासमा रहेर पनि आफ्नो देश, जन्मस्थान तथा प्रवासी भूमिमा गर्दै आइरहेका विभिन्न सामाजिक कार्यहरू तथा मानवीय सेवाहरूको प्रशंसा गर्दै बर्तमान अध्यक्ष सिताराम थापा लगायत संस्थाका सबै पदाधिकारी तथा सिङ्गो लमजुङ सेवा समाज कतार परिवारलाई धन्यवाद दिनु भएको थियो । उहाँले आश्रमका गतिविधिका बारेमा पनि जानकारी दिनुभएको थियो ।
सो अवसरमा समाजका प्रथम उपाध्यक्ष बसौलाले आफूहरूले कतारमा बसेर जन्मभूमिका लागि एक्लो मात्र प्रयास भन्दा पनि संस्थागत रुपमा बढी र उल्लेख्य योगदान गर्न सकिन्छ भन्ने सोचका साथ संस्थाको स्थापना गरेको भन्दै संस्थाका गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियो ।
यसैगरी, सोही संस्थाका कोषाध्यक्ष राज श्रेष्ठले केही महिना अगाडि लमजुङ सेवा समाज कतारले भाग्यशाली चिट्ठा सञ्चालन गरी सो बिक्रीबाट आएको रकमको केही प्रतिशत रकमबाट यो सहयोग जुटाएको जानकारी बताउनु भयो । उहाँले नेपाली सन्ताउन्न हजार रुपैयाँमा सो वासिङ मेसिन खरिद गरिएको जानकारी दिनुभयो ।
लमजुङ जिल्लाको मर्स्याङ्दी नदीको किनारमा अवस्थित उक्त आश्रममा हाल विभिन्न ठाउँबाट आउनु भएका १५ जना असहाय जेष्ठ नागरिक तथा बुबाआमाहरूले आश्रय लिइरहनु भएको छ ।
प्रकाशित मिति २०७९ चैत्र २८, मंगलवार १७:२९ गते