काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद डा. ढाकाकुमार श्रेष्ठबारे निर्णय गर्न चैत २९ गते बिहान ९ बजे पार्टीको केन्द्रीय समितिको बैठक बस्न थालेको छ । अडियो प्रकरणले पछिल्लो समय सांसद श्रेष्ठ विवादमा मुछिनु भएको छ । उक्त अडियो उहाँको भए÷नभएको र कारबाहीबारे आजको बैठकबाट निर्णय गरिने बताइएको छ ।
त्यसका लागि रास्वपाको केन्द्रीय समिति बैठक बोलाइएको महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले बताउनु भएको छ ।
श्रेष्ठले मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसित दुई करोड रुपैयाँ माग गरेको भन्ने अडियो सार्वजनिक भएसँगै साधारण सदस्यबाट समेत निलम्बन गरिएका उहाँको भविष्य के हुने भन्ने पार्टीले निर्णय गर्न लागेको हो ।
रास्वपाको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो प्रकरणबारे पार्टी सभापति रवि लामिछानेलाई हिजै प्रतिवेदन बुझाई सकेको छ । अनुशासन समितिले बसुन्धारास्थित पार्टी कार्यालयमा श्रेष्ठलाई बोलाएर एक घण्टा सोधपुछ गरेको थियो ।
प्रारम्भिक बयानमा सांसद श्रेष्ठले उक्त अडियो आफ्नो नभएको बयान दिनु भएको छ । उहाँले दुर्गा प्रसाईंलाई नचिनेको र उनीसँग फोन संवाद समेत नगरेको जिकिर गर्नु भएको दावी समेत गर्नु भएको छ ।
अनुशासन समितिको प्रतिवेदनमा के छ ?
पार्टी सभापति लामिछानेले सांसद श्रेष्ठ जोडिएको अडियोबारे भोलि चैत २९ गते निर्णय हुने बताउनु भएको छ ।
काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन तयार पारेको छ ।
‘अहिले उहाँले बाहिर दिएकै जस्तो बयान गर्नुभएको छ । हामीले बयानमा मात्रै आधारित नभएर अन्य कुरा पनि हेरेर प्रतिवेदन तयार पारेका छौँ, अनुशासन समितिका संयोजक भरत देवकोटाले बताउनु भयो । उहाँका अनुसार सभापतिलाई प्रतिवेदन बुझाई सकेकाछौँ ।’ उहाँले प्रतिवेदनका बारेमा थप बताउन चाहनु भएन । देवकोटाले भन्नुभयो, ‘अहिले हामीले सभापतिज्यूलाई प्रतिवेदन बुझाउने हो । भोलि केन्द्रीय समितिले छलफल गरेर यसमा केही थप्न वा घटाउन वा आवश्यक निर्णय लिन सक्छ, त्यसैले कन्टेन के छ ? भन्ने बताउन मिलेन ।’
सांसद ढाकाकुमार श्रेष्ठको मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नका लागि बुझाउनुपर्ने भन्दै पैसा मागेको अडियो तीन दिन अघि अर्थात २६ गते सार्वजनिक भएको थियो । सो अडियोमा पैसा रविको कोर टिमलाई बुझाउनुपर्ने र मन्त्री सुनिश्चित हुने दावी गरिएको छ ।
यसैबीच, सभापति लामिछानेले बाराको गढिमाईमा आयोजित सभालाई सम्बोधन गर्दै दोषी देखिए ७२ घन्टाभित्र श्रेष्ठलाई बर्खास्त गरेर श्रेष्ठको ठाउँमा अर्का सांसद्लाई संसद् प्रवेश गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
पोखराका स्थायी बासिन्दा एवम् चिकित्सक श्रेष्ठ ७ असार २०७९ मा पार्टी घोषणा भए यता रास्वपामा आबद्ध छन् । गण्डकी प्रदेशका पूर्वसभापति समेत रहेका जनजाति क्लस्टरबाट समानुपातिक सांसद् बन्नु भएको हो ।
त्यस्तै, हिजो चितवनमा भएको चुनावी सभामा, ‘केन्द्रीय समितिको बैठकका लागि भोलि तयारी रहन मैले साथीहरुलाई भनिसकेको छु । तपाईंहरू चितवन आउनपर्ने पनि हुनसक्छ । म काठमाडौं पनि आउनपर्ने हुनसक्छ ।’ रास्वपा सभापति लामिछानेले बताउनु भएको थियो ।
उहाँले अडियोमा उल्लेख भएका व्यक्तिहरु आफू वरपरका भए पनि उनीहरुलाई कारबाही गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
यसअघि, श्रेष्ठ पूर्वअध्यक्ष रहेको बचत सहकारी संस्था घाटामा गएको विषय सार्वजनिक भएपछि उहाँको चरित्रमा दाग लगाउने उपक्रम शुरु भएको हो ।
यसैबीच, रास्वपाका महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समितिको निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जानकारी दिनु भएको छ ।
प्रकाशित मिति २०७९ चैत्र २९, बुधबार ०९:२४ गते