
न्युयोर्क(अमेरिका)– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रस्टीको सल्लाहकारमा लमजुङका उपज तीर्थराज अधिकारी चयन हुनुभएको छ । त्यस्तो जानकारी चैत २८ गते दिएको हो ।
सो सल्लाहकार समितिमा तीर्थराज अधिकारीका अतिरिक्त गीता खत्री, पुरू सुवेदी, रोहिणी शर्मा र सीता पाण्डे चयन गरिएको अनेसासको ट्रस्टीका महासचिव प्रकाश नेपालले बताउनु भएको छ । उहाँका अनुसार अनेसासको विधान बमोजिम बोर्ड अफ ट्रस्टीको हालै सम्पन्न बैठकमा सो निर्णय गरिएको हो ।
यसअघि तीर्थ अधिकारी बोर्ड अफ ट्रस्टीको पूर्वसदस्य रहिसक्नु भएको छ । अधिकारी लमजुङको ऐतिहासिक थलो दुराडाँडाका उपज(जन्मस्थल रहेको) व्यक्तित्व हुनुहुन्छ । विशेषत मुक्तकमा बढी कलम चलाउनु हुने वरिष्ठ साहित्यकार अधिकारीका दर्जन बढी कीर्ति प्रकाशित छन् । उहाँलाई पोखरामा ‘मुक्तक मणि’को उपाधिबाट समेत विभूषित गरिएको छ ।
एक जमाना थियो कि दुराडाँडालाई नेपालकै चेतनाको मिर्मिरे उज्यालो छर्ने थलोको अग्रणी मानिन्थ्यो । विसं २००६ सालमा दुराडाँडाका पं. तोयनाथ अधिकारीको नेतृत्वमा ब्राह्मणहरूले हलो जोतेर एक साथ सामाजिक(जातीय छुवाछुत), आर्थिक(निम्न वर्गका ब्राह्मण क्षेत्रीले पनि हलो जोत्न हुन्छ भन्दै अभियान चलाएर आफ्नो जग्गाजमिन कम भएर पनि हलो जोत्नका लागि अर्को व्यक्तिलाई राख्नै पर्ने बाध्यताको अन्त्य), शैक्षिक (एक साथ १२ प्राविको स्थापना) तथा राजनीतिक क्रान्ति (प्रजातन्त्रको विगुल फुकिएको) सञ्चालन गरिएको पुण्य भूमि हो । त्यो स्थलोका उपज अधिकारी अनेसासको उच्चपदमा पुग्नु सिङ्गै जिल्लाका लागि गौरवको विषय बनेको छ । उहाँ ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको समेत सल्लाहकार हुनुहुन्छ ।
यसैगरी, अर्का सल्लाहकार खत्रीले अनेसास न्युयोर्क च्याप्टरको अध्यक्ष, केन्द्रीय महासचिव, केन्द्रीय अध्यक्ष, बोर्ड अफ ट्रस्टीको उपाध्यक्ष तथा अध्यक्षका रूपमा काम गरी अनुभव हासिल गर्नु भएको व्यक्तित्व हो ।
यसैगरी, पुरू सुवेदीले अनेसासको संस्थापक सदस्य, पूर्व केन्द्रीय अध्यक्ष, पूर्व बोर्ड अफ ट्रस्टीको उपाध्यक्षका रूपमा कार्यभार सम्हालिसक्नु भएको व्यक्तित्व हुनुहुन्छ ।
रोहिणी शर्मा अनेसासको संस्थापक मध्ये एक हुनुहुन्छ । उहाँले स्थापनाकालदेखि नै विभिन्न सहयोग गर्दै आउनु भएको छ । पूर्वउपाध्यक्षका रूपमा उहाँले यसअघि योगदान दिई अनुभव सँगाल्नुभएको व्यक्तित्व हुनुहुन्छ ।
सीता पाण्डेले विगतमा पुरस्कार समितिको अध्यक्ष लगायत विभिन्न जिम्मेवारीमा रही कार्य गरिसक्नु भएको व्यक्तित्व हो ।
प्रकाशित मिति २०७९ चैत्र २९, बुधबार १९:३४ गते