काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुशासनका पक्षमा देखाएको अडानलाई फेरि एक पटक पुष्टि गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेका समानुपातिकका विवादित सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट निस्कासनको कारबाही गर्ने निर्णय गरेसँगै चैत २९ गते त्यस्तो पुष्टि गरेको हो ।
श्रेष्ठले मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि आज बसेको रास्वपा केन्द्रीय समितिको बैठकले उनलाई सांसदसहित पार्टीको सदस्यबाट हटाउने निर्णय गरेको हो । बैठक पछि सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिनु भएको हो ।
मंसिर ४ भएको चुनावमा समानुपातिकतर्फ रास्वपाका श्रेष्ठ सहित १४ सांसद निर्वाचित भएका थिए ।
अडियो काण्ड सार्वजनिक भएसँगै रास्वपाले श्रेष्ठसँग २४ घन्टे स्पष्टीकरण सोधेको थियो भने छानबिन गर्न समिति बनाएको थियो ।
केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गर्दै उनको स्थानमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने समेत निर्णय गरेको छ । कंसाकार एसिड आक्रमण पीडित समेत हुनुुहुन्छ ।
श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग २ करोड मागेको अडियो तीन दिन अघि अर्थात चैत २६ गते सार्वजनिक भएको थियो । पुस अन्त्यमा गरिएको उक्त सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनु पर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेको पुष्टि भएको छ ।
सो अडियो सार्वजनिक भएसँगै रास्वपाले पार्टीको अनुशासन समितिले छानबिन थालेको थियो । केन्द्रीय समितिको बैठकमा समेत ढाकालाई बोलाएर सोधिएको थियो । बैठकमा श्रेष्ठले अडियो आफ्नो होइन भनेको सभापति रविले बताउनु भयो । उहाँले त्यसअघि भन्नुभयो, ‘पार्टीले गरेको छानबिनमा त्यो अडियो उहाँकै हो, त्यसमा पैसा मागिएको छ । सांसदले त्यसरी माग्नु कारबाहीका लागि यथेष्ट छ ।’
उहाँले भन्नुभयो, ‘लेनदेन भएको नदेखिए पनि पैसा मागेको अडियो उहाँकै भएकाले कारबाही गरेको हो ।’ उहाँले थप भन्नुभयो, ‘श्रेष्ठले निरन्तर बोली फेरेको र अहिले बार्गेनिङमा उत्रिनु भएको छ ।’
कोर टिम के हो ?
सार्वजनिक भएको अडियो संवाद अनुसार सांसद श्रेष्ठले सभापति रवि लामिछानेको कोर टिमले पैसा मागेको भनेका थिए । त्यसबारेमा रविले भन्नुभयो, ‘कोर टिम नै मैले बुझेको छैन, पार्टी स्थापनाको कोर टिम भनेको हो कि ? मेरो सचिवालय भनेको हो कि ? त्यो स्पष्ट छैन ।’
श्रेष्ठले कोर टिम सार्वजनिक गरे के हुन्छ ? भन्ने प्रश्नमा रविले तथ्यसहित आए कारबाही गर्ने प्रतिवद्धता समेत दोहोर्याउनु भयो । ‘उहाँले नाम लिनेवित्तिकै कारबाही गर्नुपर्छ भन्ने भएन । किनकि, उहाँ एक लेभलले बार्गेनिङको तहमा आउनु भएको छ, म सकिएँ । पार्टीलाई पनि छोड्दिनँ, जसलाई भने पनि हुन्छ भन्नुभएको छ ।’
यो प्रकरणमा आफूहरू धन्यवादको पात्र भएको, तर नदेखेको, नभनेको कोर टिमको खोजी हुनसक्ने भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । अन्य पुराना दलहरूमा पनि यस्तो विवाद आएको, तर कारबाही नभएको स्मरण गर्दै रविले भन्नुभयो, ‘यति छिटो हामीले कारबाही गरेका छौं, यसको त तारिफ गर्नुपर्ने हो कि ?’
ढाकाकुमार श्रेष्ठबारे पहिले पनि प्रश्न उठेको थियो, त्यसबेला किन कारबाही भएन भन्ने प्रश्नमा रास्वपा सभापति रविले विवाद आउनेवित्तिकै कारबाही गर्ने भन्ने नहुने प्रष्ट्याउँदै भन्नुभयो, ‘यो पटक डाइरेक्ट अडियो नै आयो ।’
श्रेष्ठले उक्त अडियो आफ्नो नभएको दाबी गर्दै आए पनि रास्वपाको बैठकले उक्त फोन वार्ता श्रेष्ठको नै भएको निष्कर्ष निकालेको हो । अनुशासन समितिसँग श्रेष्ठले आफूलाई कारबाही गरे पार्टीलाई नै सिध्याइदिने धम्की दिएको समेत रविले उल्लेख गर्नु भयो । रबिले भन्नुभयो, ‘उहाँले आफ्नो बोली परिवर्तन गरिरहनुभएको छ । जनवरीको अडिओ हो भन्नेले पनि प्रमाणित भयो। पटकपटक बोल्न दिइयो, उहाँले खारेज नगरिदियोस् भन्ने पनि चाहानुभयो र गर्यो भने म पनि देखाइदिन्छु भन्नुभयो ।’ सभापति रबिका अनुसार श्रेष्ठले सो अडियो आफ्नो नभएको कुरा बारम्बार दोहो¥याए पनि आफू डुबे अरुलाई पनि डुबाउने धम्कीसमेत दिएको उल्लेख गर्नु भयो ।
तर, अब सांसद श्रेष्ठ एक लेभलको बार्गेनिङ प्वाइन्टमा आएकाले उनले जो सुकैको नाम लिन सक्ने पनि सभापति रविले आशङ्का व्यक्त गर्नु भयो । उहाँले श्रेष्ठले कसैको नाम लिने बित्तिकै कारबाही गर्न नमिल्ने तर तथ्यसहित आए कारबाही हुने प्रष्टुयाउनु भयो । प्रमाणबिना कसैको नाम लिए त्यो चरित्र हत्या हुने र त्यसबारे आफ्नै प्रकारले जवाफ दिइने समेत रविले चेतावनी दिनु भएको छ ।
ढाकाको सांसद पद के हुन्छ ?
ढाकाकुमारलाई कारबाही गरेको रास्वपाले उनको स्थानमा विन्दवासिनी कंसाकारलाई संसदमा पठाउने निर्णय गरेको छ । तर समानुपातिक सांसदलाई हटाउने प्रक्रिया सहज नभएको निर्वाचन आयोगका अधिकारीहरू बताउँछन् ।
राजनीतिक दलसम्बन्धी ऐन अनुसार तीन अवस्थामा दल त्याग गरेको मानिन्छ । दलको सदस्यबाट लिखित राजीनामा दिएमा, अर्को दलको सदस्यमा लिएमा वा अर्को दल गठन गरेमा मात्र दल त्याग गरेको मानिने छ ।
यसरी दल त्याग गरेको अवस्थामा पनि सम्बन्धित दलले सभामुखलाई सूचना दिनुपर्नेछ । यस्तो सूचना सभामुखले सदनलाई जानकारी गराएपछि बल्ल स्थान हुनेछ र नयाँ संसद चयन प्रक्रिया सुरु हुनेछ ।
ढाकाप्रसादको हकमा उनले दल त्याग गरेको, अर्को दलमा गएको वा नयाँ दल खोलेको तीनवटै अवस्था छैन । अब उनलाई निष्कासन गर्ने रास्वपाको निर्णयलाई सभामुखले कसरी लिन्छन् ? उनी अदालत जान्छन् कि जाँदैनन् ? जस्ता विषयमा भरपर्ने एक अधिकारीको भनाइ छ ।
प्रकाशित मिति २०७९ चैत्र २९, बुधबार २३:२२ गते