काठमाडौं– नेपालमा राष्ट्रिय लेखक दिवस मनाउने तयारी गरिएको छ । नेपाली लेखक संघ, केन्द्रीय सचिवालयको बैठकले सम्पूर्ण लेखकहरूले गौरव गर्ने ‘लाइब्रेरी पर्व’का दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने निर्णय गरेसँग दिवस मनाउने तयारी थालिएको हो ।
अबका दिनमा हरेक वर्ष बैशाख– १६ लाई लेखक दिवसका रूपमा मनाउन सम्पूर्ण लेखकहरूलाई समेत संघको आग्रह छ । नेपाली लेखक सङ्घले उही वैशाख– १६ देखि हरेक वर्ष राष्ट्रिय लेखक दिवस केन्द्र, प्रदेश र जिल्ला तीन–तहमै धुमधामका साथ मनाउन निर्देशन समेत गरेको छ ।
वि.सं. १९८७ मा सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि तथा लेखक एवम् बुद्धिजीवीहरूले हस्ताक्षर गरी श्री ३ भीम शमशेरसमक्ष निवेदन पेस गर्दा श्री ३ महाराजले निवेदनमा हस्ताक्षर गर्ने सबै युवाहरूलाई दरबारमा बोलाउन लगाई दण्डित गरेको दिनको सम्झनामा (वैशाख– १६) लाई राष्ट्रिय लेखक दिवस मनाउन लागिएको हो । यस दिनलाई नेपालको इतिहासमा पुस्तकालय पर्वका रूपमा पनि चिनिन्छ ।
लेखक सङ्घले लेखक दिवस मनाउने उपयुक्त दिन सिफारिस गर्ने कार्यदल समेत गठन गरेको थियोे । डा. रत्नमणि नेपालको संयोजकत्वमा गठन भएको कार्यदलले पुस्तकालय पर्वलाई नै राष्ट्रिय लेखक दिवस मनाउँदा उपयुक्त हुने नेपाली लेखक सङ्घको केन्द्रीय समितिलाई सिफारिस गरेको थियोे । कार्यदलको सिफारिस नै केन्द्रीय समितिले अनुमोदन गरेको थियोे ।
उक्त दिनका सन्दर्भमा नेपाली लेखक सङ्घ केन्द्रीय समितिले एक लाख रूपैँया राशिको ‘राष्ट्रिय लेखक पुरस्कार’समेत वितरणको घोषणा गरेको छ । प्रत्येक दुई–दुई वर्षमा प्रदान गरिने यो पुरस्कार पहिलो पटक वरिष्ठ कवि एवम् संस्कृतिविद् बैरागी काइँला (तिलबिक्रम नेम्बाङ)लाई अर्पण गरिने भएको छ ।
उक्त पुरस्कार राष्ट्रिय लेखक दिवसको अवसरमा अर्पण गरिने सङ्घका महासचिव सोझो गाउँलेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
प्रकाशित मिति २०८० बैशाख १, शुक्रबार ०६:०० गते