काठमाडौं– कोरोना भाइरसको संक्रमण आज दुई अंकमा झरेको छ । नेपालमा थप ६४ जनामा कोरोना संक्रमण बैशाख २ गते पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ९५६ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा ६४ जनाको नतिजा ‘पोजिटिभ’ आएको हो ।
यो अवधिमा १५१ नमुनाको पीसीआर परीक्षण गर्दा २१ र ८०५ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो अवधिमा देशभर ४५ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८९ हजार ७२९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार २२ जनाको मृत्यु भएको छ ।
बैशाख १ गते १३६ जना कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी, चेत ३० गते १२१ जनामा र चैत २९ गतेका दिन १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । यसप्रकार संक्रमणको संख्या तीन अंकमा रहेको बेलामा आज भने त्यो दुई अंकमा झरेको हो ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३७७ रहेका छन् ।
यसैबीच, भारतमा एकै दिन १० हजार बढी संक्रमित थपिएका छन् । गत २४ घन्टामा भारतमा १० हजार सात सय ५३ जना कोरोनाका बिरामी बैशाख २ गते थपिएका हुन् । हिजो ११ हजार एक सय नौ जना बिरामी भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत चैत २० गते १० हजार एक सय ५८ जनामा कोभिड– १९ पुष्टि भएको थियो । अहिले भारतभर ५३ हजार सात सय २० जना सक्रिय सङ्क्रमित रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बितेका २४ घन्टामा छ हजार छ सय २८ जनाले कोरोना जितेर घर फर्केका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म चार करोड ४२ लाख २३ हजार दुई सय ११ जना कोरोना मुक्त भएका छन् ।
प्रकाशित मिति २०८० बैशाख २, शनिबार १९:५२ गते