काठमाडौं– नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले गैरकानूनी रुपमा १८ करोड भन्दा बढी आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगल भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा बैशाख ३ गते दायर गरेको हो ।
आयोगले प्रमाणको रुपमा खड्काको ८९ लाख ८९ हजार रुपैयाँ अदालतमै पेश गरेको जनाएको छ । खड्काले सात करोड रुपैयाँ भन्दा बढीको सम्पत्ति पारिवार बाहेक अरु व्यक्तिको नाममा समेत राखेको अनुसन्धानका क्रममा खुलेको अख्यिारले अभियोग पत्रमा दावी गरिएको छ । अख्तियारले खड्काविरुद्ध पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माणका लागि झापा, सर्लाही, चितवन र रुपन्देहीमा जग्गा खरिद गर्दा ठूलो रकम भ्रष्टाचार गरेको आरोपमा छानबिन गरेको थियो ।
२०७५ पुस २३ गते १८ करोड अकुत आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो । एक अर्ब भन्दा बढी आर्थिक चलखेल भएको निष्कर्ष निकालेको आयोगले पछि खड्कामाथि नै अकूत आर्जनमा अनुसन्धान गरेर मुद्दा दायर गरेको आयोगले जनाएको छ ।
यसैबीच, अकूत सम्पति आर्जनका आरोपी नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पक्राउ गरेर उपस्थित गराउन अदालतले आदेश दिएको छ । विशेषले पटक पटक ताकेता गर्दा पनि खड्का उपस्थित नभएपछि पक्राउ गरेर ल्याउन पुर्जी जारी गर्ने आदेश बैशाख ४ गते दिएको हो । विशेष अदालत प्रशासनका अनुसार न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजालसले खड्काविरुद्ध पक्राउ पुर्जी जारी गर्ने आदेश भएको हो ।
त्यस्तै, गोपाल खड्का प्रतिवादी भएको मुद्दामा सरकार पक्षका साक्षी निमा टासी शेर्पालाई पक्राउ गर्न आदेश भएको विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले बताउनु भयो । उहाँका अनुसार खड्काको सो मुद्दामा शेर्पा सरकारी साक्षी हुनुहुन्छ । बकपत्रका लागि पटक–पटक बोलाउँदा पनि अदालतमा उपस्थित नभएपछि उनलाई पक्राउ गरेर ल्याउन इजलासले आदेश गरेको छ ।
प्रकाशित मिति २०८० बैशाख ५, मंगलवार ०५:०८ गते