खुदी(लमजुुङ)– मर्स्याङदी गाउँपालिका– ३ स्थित हर्सिङडाँडामा आज हुने छेलो सहित नृत्य प्रतियोगिताको तयारी पुरा भएको छ । राष्ट्रिय विभूति सरदार वीरभक्ति थापाले बालापनमा गाईबस्तु चराएको र छेलो हानेको ठाउँ हर्सिङडाँडामा छेलो प्रतियोगिता बैशाख ६ गते हुने भएको हो । उक्त मेलाको संविधान सभाका सदस्य जमिन्द्रमान घलेले उदघाटन गर्नु हुने कार्यक्रम छ ।
वीरभक्ति थापा जन्मस्थल संरक्षण सम्वद्र्धन तथा विकास समितिले हर्सिङडाँडामा छेलोसंगै नृत्य र डोरी तान्ने प्रतियोगिता सञ्चालन गर्ने र त्यसको तयारी पुरा भएको अध्यक्ष प्रेमबहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसारखुला पुरुष छेलो प्रतियोगितामा पहिलो हुनेलाई नगद ५ हजार र पगरी साथै दोस्रो हुनेलाई नगद ३ हजार र पगरी पुरस्कार राखिएको छ । उहाँले भन्नुभयो, ‘मर्स्याङ्दी गाउँपालिका– ३ मा रहेको हर्सिङडाँडा पर्यटकीय गन्तव्यका रुपमा विकसित हुन थालेको र यसको थप प्रवद्र्धन गर्न कार्यक्रम गर्न लागिएको हो ।’ उहाँका अनुसार हर्सिङडाँडामा आन्तरिक पर्यटक घुमफिर र बास बस्नसमेत आउने गरेका छन् ।
यसैगरी, आजै हर्सिङडाँडा मेलाका अवसरमा आमा समूहको सामुहिक नृत्य प्रतियोगिताको तयारी गरिएको हो । प्रतियोगितामा पहिलो पुरस्कार १० हजार रुपैयाँ, दोस्रो पुरस्कार ५ हजार रुपैयाँ र तेस्रो हु्नेलाई ३ हजार रुपैयाँ राखिएको अध्यक्ष बस्नेतले बताउनु भयो । उहाँका अनुसार उक्त अवसरमा मस्र्याङ्दी गाउँपालिका– ३ को टोलस्तरीय पुरुष डोरी तान्ने प्रतियोगिताको समेत तयारी गरिएको छ । प्रतियोगितामा पहिलो हुनेलाई ५ हजार र दोस्रो हुनेलाई ३ हजार रुपैयाँ पुरस्कार राखिएको छ ।
हर्सिङडाँडाबाट मस्र्याङ्दी गाउँपालिकाका पर्यटकीय गाउँ सिउरुङ, भुस्मे, ढगै, घनपोखरा, सिम्पानी, खुदी, रकगार्डेन, पुस्तुनलगायत अधिकांश ठाउँ अवलोकन गर्न सकिने ‘हर्सिङ कम्यूनिटी क्याम्प साइट’का सञ्चालक पूर्णबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार ऐतिहासिक एवं पर्यटकीय स्थल हर्सिङडाँडामा पर्यटकको आगगमन बढ्न थालेको र यहाँ आउने पर्यटकहरू रात बिताउने साथै क्यामफायर गरेर रमाउने गरेका छन् । उहाँले भन्नुभयो, ‘सो स्थानबाट पर्यटकीय क्षेत्रमा बेसीशहर बजार, मर्स्याङ्दी नदीको नागबेली दृश्य, स्मार्ट भिलेज घलेगाउँ, कल्मेडाँडा, खुदी खोलाको नागबेली, डा. हर्क पिक हिमाल, मनासलु र बुद्ध हिमाललगायतको दृश्यावलोकन गर्न सकिन्छ ।
हर्सिङडाँडा नयाँ पर्यटकीय सम्भावना बोकेको ऐतिहासिक थलो रहेको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उहाँका अनुसार खुल्ला समथर भूभाग, चारैतिरको दृश्यावलोकन गर्न सकिने, नजिकै देखिने हिमश्रृंखला, मस्र्याङ्दीका अधिकांश क्षेत्र देख्न सकिने भएकाले यहाँ पर्यटकको आकर्षण बढेको छ । उहाँले भन्नुभयो, ‘पर्यटकीय स्थल हर्सिङडाँडा पुग्ने सडक स्तरोन्नतिका लागि गाउँपालिकाले सहयोग गरिरहेको छ ।’
वि.सं. १८०२ मा खुदीको ढंगैबेसीमा जन्मिएका सरदार वीरभक्ति थापाको हर्सिङडाँडामा छेलो हानेको ठाउँ, गोठ राखेको ठाउँ, गोठमा पकाएर खाने गरेको ओदान लगायत वस्तु देख्न सकिन्छ । यो क्षेत्र चक्रीय अन्नपूर्ण पदमार्गको वगलमा पर्ने भएकाले पनि पर्यटकको रोजाई बन्ने गरेको छ ।
हर्सिङडाँडा समुद्री सतहबाट २ हजार २ सय ८४ मिटर उचाईमा रहेको छ । बेसीशहरदेखि खुदी हुँदै करिब २० किलोमिटरको यात्राबाट सो स्थानमा पुग्न सकिन्छ ।
प्रकाशित मिति २०८० बैशाख ६, बुधबार ०६:२७ गते