घलेगाउँ आमन्त्रित कपको उपाधी बेसीशहर युथ सोसाइटीलाई

घलेगाउँ आमन्त्रित कपको उपाधी बेसीशहर युथ सोसाइटीलाई

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख ९ गते शनिवार ०९:३४

बेसीशहर युथ सोसाइट गत पुसमा बेसीशहरमा सम्पन्न ३० औं त्रिवेणी कपमा विजयी भएर ५ लाखको पुरस्कार जितेको रामपुर रड्स चितवनलाई हराउन सफल भई विजयी भएको हो । रामपुर रड्सले उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ ।

पहिलो हुने टिमलाई ५ लाख ५ सय ५५ रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यो फुटबलका लागि जिल्लाभरमै सर्वाधिक पुरस्कार राशि हो ।

घलेगाउ(लमजुङ)– लमजुङको घलेगाउँमा आयोजित छैटौं स्मार्ट भिलेज पहिलो आमन्त्रित गोल्ड कपको उपाधी जिल्ला सदरमुकाम बेसीशहर युथ सोसाइट शेराले जित्न सफल भएको छ । लमजुङको क्व्होलासोथर गाँउपालिका– ३ स्थित स्मार्ट भिलेज घलेगाउँ स्वर्गभूमि रंगशालामा सञ्चालन भएको फाइनल खेलमा सो नतिजा बैशाख ८ गते आएको हो ।
उक्त प्रतियोगिताको फाइनलमा सेन्ट्रल कलेज रामपुर रड्स चितवनलाई १– २ गोलले पछि पार्दै बेसीशहर युथ सोसाइट पहिलो भएको हो । सोसँगै सो टिमले ५ लाख ५ सय ५५ रुपैयाँ, कप र मेडल प्राप्त गर्न सफल भएको छ । बेसीशहर युथ सोसाइट गत पुसमा बेसीशहरमा सम्पन्न ३० औं त्रिवेणी कपमा विजयी भएर ५ लाखको पुरस्कार जितेको रामपुर रड्स चितवनलाई हराउन सफल भई विजयी भएको हो । रामपुर रड्सले उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ । उसले पुरस्कार स्वरुप ३ लाख ५ सय ५५ रुपैयाँ, कप र मेडल प्राप्त गरेको छ ।
पहिलो हाफ ४५ मिनेट गोल रहित खेल भएको थियो तर दोस्रो हाफको सुरु हुना साथ खेलको ४६ मिनेटमा बेसीशहर युथ सोसाइटीका सुनिल श्रेष्ठले गोल गर्दै विजय खाता खोलेका थिए । खेलका ७४ मिनेटमा रड्स रामपुरका विदेशी खेलाडी यनिक कोअनाले गोल फर्काएर बराबरी बनाएका थिए । तर खेलको ८६ मिनेटमा बेसीशहर युट सोसाइटीका आकाश थापामगरले गोल थप गरे । अन्ततः सोही गोल सो टीमलाई छैटौं स्मार्ट भिलेज पहिलो आमन्त्रित गोल्ड कपको उपाधी दिलाउन सफल रह्यो ।
विजयीलाई गण्डकी प्रदेश सभा सदस्य यशोदा रिमाल, आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घले, क्व्होलासोंथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, खेल संयोजक गंगाबहादुर घलेलगायतले संयुक्त रुपमा पुरस्कार वितरण गरेका हुन् । बैशाख १ गतेबाट सुरु भएको यो प्रतियोगितामा जिल्लाका ५ टीमका साथ जिल्ला बाहिरका ७ टीमसमेत कुल १२ टीमलाई आमन्त्रण गर्दै प्रतियोगितामा सहभागी गराइएको थियो ।
समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाइको पहाडी जिल्लामा यस्तो प्रतियोगिता पहिलो रहेको पर्यटन समितिका अध्यक्ष प्रेम घलेले दावी गर्नु भयो । उहाँका अनुसार आयोजक समितिबाट प्रतियोगिताका सहभागी टिमका लागि खाना बस्न सुविधासहित पुरस्कार राशीको प्रवन्ध गरिएको छ । उहाँले भन्नुभयो, ‘पर्यटकीय घलेगाउँको पर्यटन प्रवद्र्धनको लागि पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँले यहि बैशाख १ गते बाट स्मार्ट भिलेज आमन्त्रित छैटौं गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन गरेको हो ।’
नकआउटका आधारमा सञ्चालन गरिएको सो प्रतियोगितामा भाग लिने १२ टिम थिए । जसमा नेपालका समाज कल्याण खेलकुद केन्द्र काठमाडौ, सशस्त्र प्रहरी क्लब (एपीएफ) काठमाडौ, बाग्मती फुटबल क्लव सर्लाही, गोरखा ब्वाइज बुटवल, रोड्स रामपुर चितवन, नेपाल भानु युनाइटेड तनहुँ, कास्की– ११ पोखरा थिए ।
यसैगरी, घरेलु टिममा बेसीशहर युथ सोसाइटी, त्रिवेणी युवा क्लब बेसीशहर, बुद्ध युथ क्लब भोटेओडार र लालीगुराँस युवा क्लब भुजुङलाई सहभागी गराइएको थियो ।
प्रतियोगिताको समापन कार्यक्रम चल्दै गर्दा त्यहाँ चट्याङ पर्न गई तीन जना युवा बेहोस् हुन पुगेका थिए । जसका कारण पुरस्कार वितरण कार्य प्रभावित भएको थियो । त्यसैले उक्त खेलको म्यान अफ दि म्याच लगायतका उपाधि घोषणा हुन सकेछ ।
चट्याङबाट घाइते भएका तीनमध्ये एकको भरतपुरमा आइसियुमा राखेर उपचार चलिरहेको छ भने दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति २०८० बैशाख ९, शनिबार २१:३४ गते
हजुरको प्रतिक्रिया