उपनिर्वाचन : मतदातामा देखिएन उत्साह कम मतदान

उपनिर्वाचन : मतदातामा देखिएन उत्साह कम मतदान

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख १० गते आईतबार ०७:१४

गत मंसिर ४ को चुनावमा चितवन– २ मा ६७.८ प्रतिशत मतदान भएको यस क्षेत्रमा आज ६२ प्रतिशत मात्र खसेको छ । तनहुँ– १ मा मंसिरमा ५३ प्रतिशत खसेको थियो । बारा– २ मा ६४ प्रतिशत मत खसेको थियो ।

गणना आजै रातीबाट थालिने, तीन दिनमा नतिजा घोषणा : आयोग

काठमाडौं– प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदातामा खासै उत्साह देखिएन जसका कारण कम मतदान भएको आंकलन गरिएको छ । उपनिर्वाचन भएका तीन वटै क्षेत्रमा मंसिर ४ को निर्वाचनभन्दा कम मतदान भएसँगै त्यस्तो खुलासा भएको हो । तथापि, निर्वाचन आयोगले तीन क्षेत्रको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको बैशाख १० गते साँझ जनाएको छ ।
‘करिब ६० प्रतिशत मत खस्यो’ : आयोग
तीन क्षेत्रमा भएको मतदानमा समग्रमा उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनु भएको छ । उहाँका अनुसार चितवनमा ६१ प्रतिशत र तनहुँमा ५२ प्रतिशत मत खसेको छ भने बारामा ६१ प्रतिशत मत खसेको छ ।
उहाँले भन्नुभयो, ‘समग्रमा साढे ५९ देखि ६० प्रतिशत मत खसेको छ ।’
आज तनहुँ– १, चितवन– २ र बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएको हो ।
उहाँले मतगणना आजैबाट सुरु हुने जानकारी दिनुभएको छ । पर्सीसम्म निर्वाचन परिणाम आउने उहाँको भनाई छ ।
यसैबीच, तनहुँ १ मा भएको उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ ६३ हजार ७५७ मत खसेको जनाएको हो । गत मंसिरमा भएको चुनावमा भने यहाँ ५४.३६ प्रतिशत मत खसेको थियो ।
उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३०५ मतदाता थिए ।
उता, चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा कम मत खसेको छ । मंसिरमा पहिला ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत भन्दा कम मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
चितवन २ मा कुल मतदाता १ लाख २४ हजार ६९८ छन् । मंसिर ४ को चुनावमा ८४ हजार १७ मत खसेकोमा अहिले त्यो भन्दा कम खसेको हो । त्यतिबेला १ लाख २४ हजार २१७ मतदाता थिए ।
चितवन– २ मा मंसिर ४ को चुनावमा ६७.८ प्रतिशत मतदान भएको यस क्षेत्रमा यसपालि ६२ प्रतिशत मात्र खसेको छ ।
थपलियाका अनुसार तनहुँमा ५२ प्रतिशत र बारामा ६१ प्रतिशत मत खसेको थियो । तनहुँ– १ मा मंसिरमा ५३ प्रतिशत खसेको थियो । बारा– २ मा ६४ प्रतिशत मत खसेको थियो । कम मतदान हुनुमा मतदाता शिक्षाको समेत कमजोरी रहेको आंकलन गरिएको छ ।
उपनिर्वाचनको मतगणना आजैबाट :
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको मतगणना आजैबाट सुरु हुने जानकारी दिनुभएको छ ।
उहाँका अनुसार बारामा त छिट्टै नै सुरु होला । तनहुँ र चितवनको सबै मतपेटिका संकलन हुदाँ राति ११ बज्ने आंकलन छ । उहाँले भन्नुभयो, ‘हामीले आजैबाट गणना गर्न भनेका छौँ । हेरौँ ।’
उहाँले थप भन्नुभयो, ‘सकेसम्म आजैबाट हुन्छ । आज भएन भने भोलि बिहान छिट्टै सुरु हुन्छ र पर्सिसम्ममा सबै मतपरिणाम आइसक्छ ।’
रवि र चितवनका प्रजिअविरुद्ध कांग्रेसको उजुरी : हारको मानसिकता
उता, नेपाली कांग्रेसले चितवन– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार रवि लामिछानेविरुद्ध उजुरी दिएको छ ।
नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नम्बर २ मा उजुरी दिनु भएको हो । त्यसलाई काँग्रेसको हारको मानसिकताका रुपमा हेरिएको छ ।
उजुरीमा ‘निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै रवि र प्रमुख जिल्ला अधिकारीलाई कारबाही गर्न माग’ गरिएको छ ।
उजुरीमा मतदान प्रक्रिया चलिरहेको अवस्थामा सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट रविले मत मागेको अडिओ÷भिडिओ सार्वजनिक भएको तथा आचारसंहिताविपरीत विभिन्न मतदानस्थलमा हुलहुज्जत गर्ने÷गराउने गरी मतदातालाई प्रभावित पारेको दाबी समेत गरिएको छ ।

चितवनको मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा :

चितवन २ को मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भएको छ । मतगणनाका लागि आवश्यक सबै तयारी भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मतगणनास्थलमा तारजाली र सिसिटिभी जडान गरिएको छ । कार्यालयले बैशाख १३ गतेसम्ममा मतगणनाको पूर्ण नतिजा आउने विश्वास लिएको छ ।

प्रकाशित मिति २०८० बैशाख १०, आईतवार १९:१४ गते
हजुरको प्रतिक्रिया