तनहुँ– १ मा ५ हजार मत गणना हुँदा रास्वपाका स्वर्णिमलाई फराकिलो अग्रता

तनहुँ– १ मा ५ हजार मत गणना हुँदा रास्वपाका स्वर्णिमलाई फराकिलो अग्रता

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख ११ गते सोमबार ०४:४८

राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले नेपाली कांग्रेसका गोविन्द भट्टराईभन्दा दोब्बर मतले अघि देखिनु भएको छ भने तेस्रो स्थानमा एमालेका सर्वेन्द्र खनाल हुनुहुन्छ । घोषित मत परिणाम अनुसार उहाँहरूले क्रमशः दुई हजार ७६७, एक हजार २८५ र ८२० मत पाउनु भएको छ ।

काँग्रेसको किल्ला भत्कने संकेत : विहान ४ बजेसम्मको नतिजा

दमौली– तनहुँ– १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा ५ हजार मत गणना हुँदा रास्वपाका स्वर्णिमलाई फराकिलो अग्रता हासिल भएको छ । यो बैशाख ११ गते बिहान ४ बजेसम्म गरिएको गणनाको नतिजा हो ।
अहिलेसम्म ५०१० मत गणना भएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले दुई हजार ७६७ मतका साथ अग्रता हासिल गर्नु भएको छ । उहाँले गणनाको प्रारम्भिक चरण देखिनै अग्रता हासिल गर्नु भएको हो । यसले नेपाली काँग्रेसको किल्लाका रुपमा परिचित सो क्षेत्र भत्किने संकेत देखिएको छ ।
घोषित मत परिणाम अनुसार नेपाली कांग्रेसका गोविन्द भट्टराईले एक हजार २८५ मत तथा एमालेका सर्वेन्द्र खनाल ८२० मत तेस्रो स्थानमा हुनुहुन्छ ।
तनहुँ–१ मा अहिलेसम्म भानु नगरपालिका– ८ र १० तथा आँबुखैरेनी गाउँपालिका– १ गरी तीनवटा वडाको मत गणना गरिएको हो ।
तनहुँ– १ मा उपनिर्वाचनका क्रममा कुल ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । सो कार्यालयका अनुसार उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन् ।
भानु– ८ मा १७९४ मत गन्दा वाग्लेले ८५६, भट्टराईले ५४८ र खनालले ४३७ मत तथा भानु– १० मा १७५८ मत गन्दा वाग्लेले ८४६, भट्टराईले ५५१ र खनालले ३२९ मत पाउनु भएको छ ।
आँबुखैरेनी– १ मा १४५८ मत गन्दा वाग्लेले १०६५, भट्टराईले २७६ र खनालले ५४ मत पाउनु भएको जानकारीमा आएको छ ।
गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनु भएको थियो । उहाँ राष्ट्रपति बन्नु भएपछि रिक्त सो क्षेत्रमा उपनिर्वाचन भएको हो ।
बारा– २ र चितवन– २ मा आज विहानमात्र सर्वदलीय बैठक बस्ने :
यसैगरी, बारा– २ मा सर्वदलीय बैठक अहिले बिहान ६ बजे बस्ने भएको छ भने चितवन– २ का विहान ८ बजेमात्र सर्वदलीय बैठक हुने भनिएको छ ।
बारा– २ मा ६४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
बारा– २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जसपाबाट उपेन्द्र यादव, जनमतबाट शिवचन्द्र कुशवाह, नेकपा (एमाले)बाट पुरुषोत्तम पौडेल सहितका उमेदवार चुनावी मैदानमा हुनुहुन्छ ।
यसैगरी, चितवन क्षेत्र नम्बर २ को मतगणनबारे निर्णय गर्न सर्वपक्षीय बैठक ऐले बिहान ८ बजे बस्ने भएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताउनु भयो । उहाँका अनुसार हिजो साँझ बैठक बसेर मतगणना गर्ने भनिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकका दल तयार नभएपछि बैठक भोलिका लागि बोलाइएको हो ।
उपनिर्वाचनमा चितवन– २ मा ६३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ तथा प्रमुख विपक्षी दल एमालेबाट रामप्रसाद न्यौपाने सहितका उम्मेदवारहरू चुनावी मैदानमा हुनुहुन्छ ।

प्रमुख जिल्ला अधिकारी उपस्थित नभएसम्म सर्वदलीय बैठकमा नबस्ने नेपाली कांग्रेसको अडान :
प्रमुख जिल्ला अधिकारीले निष्पक्ष रूपमा काम नगरेको दावी गर्दै आउनु भएका नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले भने प्रमुख जिल्ला अधिकारी उपस्थित नभएसम्म सर्वदलीय बैठकमा नबस्ने बताउनु भएको छ । उहाँका अनुसार हामीले उहाँको भूमिकामाथि प्रश्च उठाएर उजुरी हालेका छौँ । उहाँ नआएसम्म हामी बैठकमा बस्दैनौँ । काँग्रेसले यसपटक पनि सो क्षेत्रमा लज्जाजनक ‘हारको मार’ खेप्नु पर्ने भएको हुँदा काँग्रेसले नाक जोगाउन बहानाबाजी गरिरहेको आम बुझाइ छ ।

प्रकाशित मिति २०८० बैशाख ११, सोमबार ०४:४८ गते
हजुरको प्रतिक्रिया