भूलभूले(लमजुङ)– मर्स्याङ्दी गाउँपालिकाले समुदाय र विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको छ । गाउँ कार्यपालिकाको बैठकले बैशाख ४ गते त्यस्तो निर्णय गरेको हो ।
सो कार्यक्रम अनुसार हरेक स्वास्थ्य चौकीले महिनामा कम्तिमा एक दिन आफ्नो वडाको हरेक विद्यालयमा र कम्तिमा २ वटा समुदायमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्नु पर्ने जानकारी गाउँपालिकाका अध्यक्षका स्वकीय सचिव सरोज गुरुङले जानकारी दिनु भएको छ । विद्यालयमा र समुदायमा गरिने स्वास्थ्य शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सम्पूर्ण विद्यालय र स्वास्थ्य कर्मीहरूलाई रचनात्मक ढंगबाट लाग्न आग्रह गर्दै यो कार्यक्रमले स्वास्थ्य सम्बन्धि सचेतना बढाउन सकिने र जसको कारण स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने विश्वासले यो कार्यक्रम गरिने भएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ बताउनु भयो ।
यो निर्णयसँगै स्वास्थ्य चौकी प्रमुखहरूको बैठकबाट थप कार्य योजना सहित प्रभावकारी ढङ्गबाट कार्यक्रम अगाडि बढाउन तयारी थालिएको स्वास्थ्य शाखा प्रमुख लुलबहादुर घलेले जानकारी दिनुभयो ।
गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा एउटा नविनतम कामको थालनी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ताराबहादुर तमाङले बताउनु भयो । उहाँका अनुसार यो कार्यक्रमलाई प्रभावकारी ढंगबाट कार्यन्वयन गर्न तयारी गरिएको छ ।
प्रकाशित मिति २०८० बैशाख ११, सोमबार ०६:४३ गते