दमौली– तनहुँ– १ को उपनिर्वाचनको मत गणना कार्य एक चौथाई सकिएको छ । सो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार स्वर्णिम वाग्लेको अग्रता दोब्बर भन्दा बढी मतले कायमै छ । बिहान ९ः२० बजेसम्म १६ हजार ३४२ मतगणना भएको छ । सो नतिजाअनुसार रास्वपाका डा वाग्लेले ९ हजार १९८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार ८०३ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार ४३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले बताउनु भएको छ । उहाँका अनुसार जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।
रास्वपाका स्वर्णिम वाग्ले र सत्ता गठबन्धनतर्फ काँग्रेसका उम्मेदवार गोविन्द भट्टराई मात्र पाँच हजार ३९५ मतले पछि हुनुहुन्छ ।
हालसम्मको यो नतिजाले नेपाली काँग्रेसको किल्लाका रुपमा परिचित सो क्षेत्र भत्किने संकेत मात्र देखिएको छैन काँग्रेसका उर्जाशील दुई युवा महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माको मेहनत र बचनसमेत खेर जाने स्थिति उत्पन्न भएको छ ।
सो निर्वाचन क्षेत्रमा एक लाख २३ हजार ३१५ मतदाता रहेकोमा ६३ हजार ७५७ अर्थात ५१.७० प्रतिशत मत खसेको छ । जसमा महिलाहरूले ३४ हजार ६७ मतदान गरेको देखिन्छ । अब हजार मत गणना हुन बाँकी छ ।
उक्त निर्वाचन क्षेत्रमा राप्रपा लगायतका नौ दल चुनावी मैदानमा थिए । एमालेको बैशाखी टेक्ने मौका पाएका कारणले बढेको यसअघि केही सिट र मतलाई आफ्नो क्रेज बढेको दावी गर्ने राप्रपाको समेत स्थिति यो उपनिर्वाचनमा छरप्रष्ट हुने भएको छ ।
स्मरणीय छ, मतदान हुनु पूर्वसम्म रास्वपा, काँग्रेस र एमालेका बीचमा कडा टक्कर रहेको र जस्ले जिते पनि एक हजार मतको मात्र अन्तर रहने छ भन्ने धेरैको आंकलन थियो । त्यतिमात्र हैन, रास्वपाका उम्मेदवार काँग्रेस पृष्ठभूमिका भएको हुँदा काँग्रेसको समेत मत काटिने भएका कारण आफ्नो जित सहज हुने आंकलन एमालेले आफ्नो जीत सहज हुने आंकलन गरेको थियो । त्यो पनि फिका फिका हुने स्थिति उत्पन्न भएको आभास मिल्न थालेको छ ।
प्रकाशित मिति २०८० बैशाख ११, सोमबार ०९:५४ गते