उपनिर्वाचन, मिनी जनमत संग्रह : सत्ता गठबन्धनलाई धक्का, रास्वपाका डा. स्वर्णिम भारी मत अन्तरले विजयी

उपनिर्वाचन, मिनी जनमत संग्रह : सत्ता गठबन्धनलाई धक्का, रास्वपाका डा. स्वर्णिम भारी मत अन्तरले विजयी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख १२ गते मङ्गलबार ०४:३३

नवनिर्वाचित वाग्ले अर्थविद् हुनुहुन्छ । उहाँले विगतका दुई निर्वाचनमा काँग्रेसको घोषणा पत्र लेख्ने काममा विशेष भूमिका निभाउनु भएको थियो ।
रास्वपाका डा. स्वर्णिम वाग्ले १४ हजार ३८८ मत अन्तरका साथ निर्वाचित हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार हुनु भएका गोविन्द भट्टराईले २० हजार ९२ मत मात्र पाउनु भएको थियो । एमालेका उम्मेदवार सर्वेन्द्र खनालले आठ हजार ५५५ मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ ।

तनहुँ– १ बाट भारी मत अन्तरका साथ रास्वपाका वाग्ले निर्वाचित

दमौली– मिनी जनमत संग्रहका रुपमा हेरिएको प्रतिनिधिसभाको उपनिर्वाचनमा तनहुँ– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. स्वर्णिम वाग्ले १४ हजार ३८८ मत अन्तरका साथ निर्वाचित हुनु भएको छ । उहाँ ३४ हजार ४८० मतसहित बैशाख १२ गते बिहान निर्वाचित हुनु भएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार हुनु भएका गोविन्द भट्टराईले २० हजार ९२ मत मात्र पाउनु भएको थियो । एमालेका उम्मेदवार सर्वेन्द्र खनालले आठ हजार ५५५ मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ । यो निर्वाचन परिणाम र चितवनमा सार्वजनिक हुँदै गरेको मत परिणामले सत्ता गठबन्धनलाई नराम्रोसँग धक्का दिएको अनुभव गरिएको छ ।
गत मंसिरमा भएको निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याई विजयी हुनु भएको थियो भने दोस्रो स्थानमा एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत प्राप्त गर्नु भएको थियो । सो बेलामा स्वतन्त्र उम्मेदवार हुनु भएका काँग्रेस नेता गोविन्दराज जोशीले ६ हजार ८८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गर्नु भएको थियो ।
यस निर्वाचन क्षेत्रमा यो पटक ६५ हजार २९८ मत खसेको थियो । वाग्लेले कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी मत पाउनु भएको छ भने दोस्रो स्थानमा रहेका भट्टराईले ३० प्रतिशत मत र एमालेका खनालले १३ प्रतिशत मत पाउनु भएको छ ।
गत मंसिर ४ मा भएको निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुनु भएका रामचन्द्र पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो ।
सो निर्वाचन क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन् ।
गोरखामा जन्मनु भएका उपनिर्वाचनका विजेता वाग्ले अर्थविद् हुनुहुुन्छ । विद्यालयस्तरको पढाइ काठमाडौंको बुढानिलकन्ठ स्कुलबाट पूरा गर्नु भएका वाग्लले अष्ट्रेलियाको अष्ट्रेलियन नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नु भएको छ । अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर तथा बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा उहाँले स्नातक गर्नु भएको छ ।
राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष रहेत रहनु भएका उहाँ २०७४ साउन १९ गते आयोगको उपाध्यक्ष नियुक्त हुनु भएको हो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा आयोगको सदस्य समेत बन्नुभएको थियो । नेपाल फर्किनुअघि उहाँ विश्व बैंकको वासिङ्टनस्थित मुख्यालयमा वरिष्ठ अर्थशास्त्रीका रूपमा कार्यरत उहाँले युएनडिपीको वरिष्ठ अर्थशास्त्रीका रूपमा मुख्यालय न्यूयोर्क, भियतनामको राजधानी हनोइ र श्रीलंकाको राजधानी कोलम्बोमा तथा विश्व बैंकको मुख्यालय, वासिङ्टन डीसीमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गरेको उहाँसँग अनुभव छ ।
२०७२ को भुइँचालोपछि वाग्लेकै अगुवाइमा विपतपश्चातको आवश्यकता आकलन (पिडिएनए) तयार गरिएको थियो । सोही आधारमा नेपालले पुनःस्थापना र पुनःर्निर्माणका लागि चार अर्ब अमेरिकी डलर बराबरको विकास सहायता जुटाउन आफूले महत्वपूर्ण काम गरेको वाग्लेले बताउने गर्नु भएको छ ।
२०७० र २०७४ को आमनिर्वाचन तथा २०७९ वैशाखमा भएको स्थानीय तह र मंसिरमा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्रममा कांग्रेसको घोषणापत्रको मस्यौदा समितिमा विशेष भूमिका निभाउनु भएका उहाँ नेपाली कांग्रेसको महासमिति सदस्य समेत हुनु भएको थियो ।
अन्तर्राष्ट्रिय छवि कमाएका वाग्ले अन्तर्राष्ट्रिय निकायको उच्च ओहोदामा बसेर पाएको सुविधा छाडेर राजनीतिमा सक्रिय हुन आउनु भएको हो । विश्व बैंकको दक्षिण एसिया ‘च्याम्पियनिङ एन्ड भिजनिङ प्रोसेस’ का विशिष्ट सदस्यसमेत रहनु भएका उहाँ चुनाव लड्ने अपेक्षाका साथ २०७९ असारमा नेपालमा फर्किनु भएको हो । आफ्नो अपेक्षाविपरीत कांग्रेसले टिकटबाट वञ्चित गरेपछि उहाँले विकल्पको खोजीमा गत चैत १६ गते कांग्रेस परित्याग गर्दै रास्वपामा आबद्ध हुनु भई उम्मेदवार बन्नु भएको हो ।

प्रकाशित मिति २०८० बैशाख १२, मंगलवार ०४:३३ गते
हजुरको प्रतिक्रिया