भरतपुर– प्रतिनिधिसभाको उपनिर्वाचनमा चितवन– २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले फराकिलो मतान्तरका साथ अघि बढी रहनु भएको छ । सभापति रवि २६ हजार ११३ मतको फराकिलो अन्तरका साथ अघि बढ्नै हुनुहुन्छ । यो परिणाम बैशाख १२ गते विहान ४ बजेको हो ।
पछिल्लो मत परिणाम अनुसार रविलाई ३२ हजार ९५३ मत प्राप्त भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले छ हजार ८४० मत पाउनु भएको छ । उनीहरु बीचको मतान्तर २६ हजार ११३ रहेको छ ।
तेस्रो स्थानमा रहनु भएका एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले छ हजार २०४ मत प्राप्त गर्नु भएको छ ।
बारा– २ मा सत्ता गठबन्धनलाई राहत :
यसैगरी, बारा– २ मा भने सत्ता गठबन्धनलाई राहत मिलेको छ । सो गठबन्धनतर्फका उमेदवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाउनु भएको छ । उहाँ दुई हजार ३८९ मतले अघि देखिनु भएको छ ।
यादवले सात हजार ९६२ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहले पाँच हजार ५७३ मत प्राप्त गर्नु भएको छ । यो क्षेत्रमा एमालेका उमेदवार पुरुषोत्तम पौडेलले तीन हजार ४२२ मत पाउनु भएको छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले एक हजार १४५ र आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५४९ मत प्राप्त गरेको स्थिति छ ।
प्रकाशित मिति २०८० बैशाख १२, मंगलवार ०५:३९ गते