भरतपुर– प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा चितवन– २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुने सुनिश्चित भएको छ । बैशाख १२ गते बिहान साढे ८ बजेसम्म ६० हजार ६७३ मत गणना हुँदा लामिछानेले ४३ हजार १०१ मत पाउनु भएको छ । चितवन– २ मा उपनिर्वाचनका क्रममा ७८ हजार २७७ मत खसेको छ ।
अहिलेसम्म गणना भएको मतमा रास्वपाका सभापति रविले ७१ प्रतिशतभन्दा बढी पाउनु भएको देखिन्छ । उहाँले यसपटक गत मंसिर– ४ को चुनावको भन्दा धेरै मतसँगै मतान्तर पनि फराकिलो पार्ने उदघोष गर्नु भएको थियो, त्यो पनि पुग्ने लक्षण देखिएको छ ।
गत मंसिरको चुनावमा रविले ४९ हजार ३ सय मत पाउनु भएको थियो । उक्त क्षेत्रमा दोस्रो भएका कांग्रेसका उमेश श्रेष्ठ र रविका बीचको मत अन्तर मतान्तर ३४ हजार ३१२ थियो । काँग्रेस उम्मेदवारले १४ हजार ९८८ मत पाउनु भएको थियो ।
अहिले १८ हजार मत गणना हुन बाँकी छँदै लामिछानेले ३५ हजार बढीको मतान्तर भइसकेको छ । प्राप्त पछिल्लो मत परिणाममा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले सात हजार ९५२ मत तथा श्रेष्ठभन्दा रवि ३५ हजार १४८ मतले अघि हुनुहुन्छ ।
गणना सकिएका २ वडाबाहेक सबैमा लामिछानेले अग्रता लिनु भएको देखिन्छ ।
इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका वडाहरूमा मतगणना सकिएको छ । इच्छाकामना– ७ र भरतपुरका– १० वडाको गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रवि लामिछानेले ४१ हजार ६९ मत तथा कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार ६९५ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले सात हजार ३९९ मत ल्याउनु भएको छ ।
इच्छाकामना– १ र २ मा मात्रै एमालेका न्यौपानेले लामिछानेलाई थोरै मतान्तर थियो । अन्य वडामा लामिछानेले भारी अन्तरले जित हासिल गर्नु भएको छ ।
भरतपुर महानगरपालिका– ३ मा मंसिरको भन्दा २८ भोट कम आएको छ । तर यी वडामा पनि अन्य उम्मेदवारले पहिलेको भन्दा बढी भोट ल्याएका कारण लामिछानेको भोट घटेको होइन । कुल मतदान नै कम भएका कारण यी वडामा सबैको मत घटेको देखिन्छ ।वडा नम्बर ३ मा कांग्रेसको ४६ र एमालेको ११३ भोट पहिलेभन्दा कम आएको छ । १२ मा कांग्रेसको ३१५ र एमालेको ३५८ भोट पहिलेभन्दा कम आएको छ ।
नेकपा एमालेको पुरानो गढ मानिने भरतपुर– ११ मा लामिछानेले छ हजार ५० भोटको अग्रता बनाउन सफल हुनु भएको छ । यहाँ एमालेका न्यौपानेले एक हजार ६६ भोट पाए । कांग्रेसका श्रेष्ठले ६१८ र रास्वपाका रविले सात १६६ भोट पाउनु भएको थियो । मंसिरमा यहाँबाट लामिछानेले पाँच ६४५, एमालेका कृष्णभक्त पोखरेलले १०४२ र कांग्रेसका उमेश श्रेष्ठले ७७७ भोट ल्याएका थिए ।
त्यस्तै, गत वैशाखमा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको वडा नम्बर १० मा कांग्रेसका श्रेष्ठले भन्दा रविले तीन हजार ५५३ भोट बढी ल्याउनु भएको छ ।
भरतपुर– १ र २ मा मा लामिछानेले २२१०, श्रेष्ठले ४८३ र न्यौपानेले ३२० भोट पाए। २ मा लामिछानेले ३५६२, श्रेष्ठले ४८० र न्यौपानेले ४९३ भोट आएको छ । यी दुवै वडामा वैशाखमा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको थियो ।
वडा नम्बर ३ मा लामिछानेले २४१०, श्रेष्ठले ३८७ र न्यौपानेले २१६ भोट पाएको देखिन्छ । यहाँ वडाध्यक्ष एमालेले जितेको थियो । वडा नम्बर ४ मा रविले ४८४८, श्रेष्ठले ५४७ र न्यौपानेले ३८१ भोट पाउनु भएको छ भने ५ मा रविले ३३३४, श्रेष्ठले ५९१ र न्यौपानेले ४२८ भोट पाएको स्थिति छ । यी दुवै कांग्रेसले वडाध्यक्ष जितेका वडा हुन् ।
गठबन्धनबाट एकीकृत समाजवादीले वडाध्यक्ष जितेको भरतपुर– ७ मा लामिछानेले मंसिरमा भन्दा २१३ भोट बढी पाउनु भएको छ । यहाँबाट लामिछानेले ३४१४, श्रेष्ठले ६२९ र न्यौपानेले ३९२ भोट पाउनु भएको छ ।
प्रकाशित मिति २०८० बैशाख १२, मंगलवार १०:०० गते