भरतपुर– चितवन– २ उपनिर्वाचनको मतगणना जारी छ । तर परिणाम भने आइसक्यो भन्दा फरक नपर्ने भएको छ । रास्वपाका सभापति रवि लामिछानेले गत मंसिर ४ गते स्थापित गरेको रेकर्ड आफैले ब्रेक गर्ने हुनुभएको बैशाख १२ गते यो समाचार तयार गर्दासम्मको स्थितिले देखाएको छ ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा पनि धेरै मत ल्याएर रविले रेकर्ड ब्रेक गर्ने हुनु भएको हो । त्यसो त उहाँले त्यस्तो उदघोष चुनाव प्रचारको बेलामा पनि गर्नु भएको थियो । नेताहरूका बोली पानीको फोका जस्तो बनि रहेको वर्तमानमा रास्वपाका सभापति रविको बोली भने ढुंगामा लेखिएको अक्षर जस्तो बन्न गएको छ ।
उहाँले गत निर्वाचनमा ४९ हजार तीन सय मत पाएर विजय हासिल गर्नु भएको हो तर उपनिर्वाचनको अध्यावधिक विवरणअनुसार ५० हजार मत कटिसकेको छ ।
रविले ५० हजार २९ मत पाइसक्नु भएको छ । जसले रविको विजय सुनिश्चित गराइसकेको छ । त्यसो त अझै पनि चितवन– २ को मतगणना जारी नै छ ।
घोषित निर्वाचन मत परिणाम अनुसार कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ९ हजार १६५ मत तथा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत पाउनु भएको छ ।
सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने कारण छैन : रास्वपाका सभापति रवि
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको उल्लेख गर्नु भएको छ । उहाँले चितवन– २ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिंदै सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत बैशाख १४ गते गर्नु भएको हो ।
उहाँका अनुसार रास्वपा सरकारमा जाने त सम्भावनै छैन । उहाँले भन्नुभयो, ‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन ।’
सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको बताउँदै अब अस्थिरता नहोस भनेर गलतलाई नबोक्ने उहाँले बताउनुभयो ।
काठमाडौं फर्किएपछि समीक्षा गरेर सरकारसँग छलफल र वार्ता गर्ने उहाँको भनाइ छ । उहाँले थप भन्नुभयो, ‘सरकारले ठूला भ्रष्टाचारको फाइल नखोल्ने नीतिगत निर्णय गरेपछि सरकारलाई दिएको समर्थनको औचित्य छैन ।’
प्रकाशित मिति २०८० बैशाख १२, मंगलवार ११:५० गते