राष्ट्रपति खेलकुद प्रतियोगिताका पोखरामा भाग लिन जाने खेलाडीलाई शुभकामना सहित विदाई

राष्ट्रपति खेलकुद प्रतियोगिताका पोखरामा भाग लिन जाने खेलाडीलाई शुभकामना सहित विदाई

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख १२ गते मङ्गलबार ०३:५९

लमजुङका ४६ जनाले भाग लिन गएका छन् । तीमध्ये छात्रा र छात्र भलिबलतर्फ १८ जना, एथ्लेटिक्सतर्फ छात्रा र छात्र ११÷११ जना र कराँतेमा छात्रा र छात्र ३÷३ जनाले छन् ।

पोखरामा ११ र १२ गते प्रतियोगिता जारी छ

बेसीशहर– लमजुङबाट गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगितामा भाग लिन जान लागेका खेलाडीहरूलाई विदाई गरिएको छ । जिल्लाका खेलाडीलाई सुन्दरबजार नगरपालिकाले शुभकामनासहित बिदाई गरेको हो ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा बैशाख ११ र पर्सी १२ गते गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता जारी छ । उक्त प्रतियोगितामा भाग लिन जान लागेका लमजुङका खेलाडीलाई सुन्दरबजार नगरपालिकाले १० गते शुभकामनासहित बिदाई गरेको हो ।
लमजुङका तर्फबाट छात्रा र छात्र भलिबलतर्फ १८ जना, एथ्लेटिक्सतर्फ छात्रा र छात्र ११÷११ जना र कराँतेमा छात्रा र छात्र ३÷३ जनाले भाग लिने भएका छन् । जिल्ला खेलकुद विकास समितिले १ महिनाअघि जिल्लास्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा विजयी तथा छनौट भएका खेलाडीलाई समितिले प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङ कालुले बताउनुभयो ।
टिम म्यानेजर, कोच, खेलाडीसहितलाई सुन्दरबजार नगरपालिका सामाजिक विकास शाखा उपसचिव ठाकुरजी तिवारीलगायतले खदा लगाएर शुभकामनासहित विदाई गर्नु भएको हो । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता पोखरा रंगशालामा आयोजना भएको छ । प्रतियोगितामा सहभागिताका लागि ११ जिल्लाका विभिन्न ६ खेलका ७ सय २० खेलाडीले भाग लिएको आयोजकको भनाइ छ । २ दिनसम्म सञ्चालन हुने प्रतियोगिताबाट खेलाडी छनोट गरी यहि बैशाख १५ र १६ गते काठमाडौंमा सञ्चालन हुने १३ औं राष्ट्रिय राष्ट्रपति कपमा लैजाने प्रदेश खुलकूद परिषद् गण्डकीका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति २०८० बैशाख १२, मंगलवार १५:५९ गते
हजुरको प्रतिक्रिया