काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभा(संसद)को राज्य व्यवस्था तथा सुशासन समिति रोज्नु भएको छ ।
रास्वपाका सभापति रवि संसदीय समिति अन्तर्गत संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा रहनु भएको सभामुख देवराज घिमिरेले सदनको बैठकमा बैशाख १५ गते सुनाउनु भएको हो । सो समितिमा रास्वपाका डा. चन्दा कार्की (भण्डारी) पनि रहनु भएको छ । लमजुङबाट निर्वाचित प्रतिनिधी सभा सदस्य पृथ्वीसुव्वा गुरुङ संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छनौट हुनुभएको छ । प्रतिनिधि सभाले विभिन्न १० वटा विषयगत समिति गठन गरेसँगै सांसद गुरुङ राज्य व्यवस्था तथा सुशासन समितिमा रहनु भएको हो ।
एमालेका केन्द्रीय उप महासचिव समेत रहनुभएका सांसद गुरुङसँगै सो समितिमा नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि राज्य व्यवस्था तथा सुशासन समितिमा रहनु भएको छ ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले अर्थ समिति रोज्नु भएको जानकारीमा आएको छ ।
सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहने सांसदहरूको नाम संसदको चालु बैठकमा पढेर सुनाउनु भएको थियो ।
अर्थ समितिमा रहनु भएका वाग्लेले हिजो नै सांसदको पद तथा गोपनीयताको सपथ लिनु भएको हो ।
रास्वपाका प्रतिनिधि सभाको विषयगत समितिमा रहनु भएका सांसदहरूमा–
अर्थ समिति : माननीय विराजभक्त श्रेष्ठ र माननीय डा. स्वर्णिम वाग्ले रहनु भएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति : माननीय शिशिर खनाल, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
माननीय असिम शाह, माननीय गणेश पराजुली र माननीय डोल प्रसाद अर्याल
कानुन, न्याय तथा मानवअधिकार समिति : माननीय सन्तोष परियार र माननीय सोबिता गौतम, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति : माननीय अशोक कुमार चौधरी र माननीय बिनिता कठायत तथा महिला तथा सामाजिक मामिला समितिमा माननीय लक्ष्मी तिवारी रहनु भएको छ ।
त्यस्तै, पूर्वाधार विकास समितिमा माननीय निशा डाँगी र माननीय शिव नेपाली, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा माननीय डा. तोसिमा कार्की र माननीय सुमना श्रेष्ठ रहनु भएको छ ।
सार्वजनिक लेखा समितिमा माननीय मनिष झा र माननीय हरि ढकाल रहनु भएको छ ।
अर्थ समितिमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की, विनोद चौधरी दिपक खड्का, अञ्जनी श्रेष्ठ, सन्तोष चालिसे लगायत हुनुहुन्छ । त्यस्तै, एमालेबाट प्रमुख सचेतक पद्म गिरी हुनुहुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले अर्थ समिति रोज्नु भएका बताइएको छ ।
यसैगरी, पुर्वाधार विकास समितिमा प्रतिनिधी सभा सदस्य लमजुङकै सांसद उर्मिला माझी रहनु भएको छ । माझी माओवादी केन्द्रबाट सांसद बन्नुभएको हो ।
एमालेबाट निर्वाचित फरार सांसद लक्ष्मी महतो कोइरी उद्योग समितिमा ?
यसैबीच, नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधि सभाको उद्योग समिति सदस्य भएको खुलासा भएको छ । लामो समयदेखि फरार रहेका कोइरी प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्यमा रहेको बैशाख १५ गते खुल्न आएको हो ।
सांसदले कोइरी संसदमा लामो समयदेखि अनुपस्थित रहेको भन्दै संसदमा कांग्रेस सांसद रामहरि खतिवडा लगायतले प्रश्न उठाउँदै आउनु भएको थियो ।
स्मरणीय छ, एमालेका सांसद लक्ष्मी महतो कोइरी उपर कर्तव्य ज्यान मुद्दाको अभियोग छ ।
प्रतिनिधि सभा नियमावली पारित भएको लामो समयपछि सभाले विभिन्न १० वटा समितिमा रहने सदस्यहरूको १५ गते टुङ्गो लगाएको हो । अब नियमावली अनुसार पहिलो बैठक बसेको पन्ध्र दिनभित्र समिति सभापति चयन गर्नेछन् । त्यतिबेलासम्म समितिको नेतृत्व जेष्ठ सदस्यले गर्ने संसद सचिवालयले जनाएको छ ।
प्रकाशित मिति २०८० बैशाख १६, शनिबार २०:१५ गते