जिल्ला सदरमुकामको जन विकास माविका अराजकताको पराकाष्टा

जिल्ला सदरमुकामको जन विकास माविका अराजकताको पराकाष्टा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख १७ गते आईतबार ०३:५१

विव्यसका अध्यक्षलाई अनुशासनहीन भएको दावी गर्ने शिक्षकहरू आफैले के कति अनुशासनको पालना गरेका छन् ? भन्ने प्रश्न पनि उत्तिकै पेचिलो रुपमा उठेको छ ।

वि.व्य.स.का अध्यक्ष विरुद्ध तीन शिक्षक संगठन : रक्सीले मोतर विद्यालयमा आई शिक्षकलाई हातपातको प्रयास गरेको दावी

बेसीशहर– लमजुङ जिल्लाको सदरमुकामको मुटुमा रहेको जन विकास माविमा अराजकताको पराकाष्टा छताछुल्ल भएको छ । आफ्नो दक्षता, योग्यता तथा नैतिक अनुशासनले शिक्षकहरूलाई अदपमा राख्नु पर्ने जिम्मेवारीमा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफै रक्सीले मातेर विद्यालयमा गएर शिक्षकलाई अभद्र व्यवहार गर्ने गरेको दावी गर्दै त्यसको भर्त्सना गरी व्यवसका अध्यक्षलाई कडा कारवाहीको माग गर्दै शिक्षकहरूका तीन ठूला संगठनहरू -शिक्षक संघ, राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल शिक्षक संगठनका बेसीशहर नगरका अध्यक्षहरूले बैशाख १७ गते संयुक्त विज्ञप्ति जारी गरेबाट सो विद्यालयमा अराजकताको पराकाष्टा छताछुल्ल भएको हो ।
शिक्षकहरूले पोशाक नलगाएको विषयबाट उठेको विवादमा अन्य विषय समेत जोडिएको भन्ने केहीको भनाई छ । हप्तामा एक दिन पोशाक नलगाउने छुट छ भन्ने दावी विवाद सम्बद्ध शिक्षकहरूको रहेको छ । तर त्यस्तो नियमकै रुपमा कतै उल्लेख नभएका कारण त्यसलाई पनि व्यवस्थापन समितिले अनिवार्य गर्न चाहेको भन्ने समितिको भनाइ छ ।
सो विद्यालयमा केही महिनादेखि नि. प्रधानाध्यापकबाट सञ्चालन हुँदै आएको हुँदा प्रशासनको अभावमा मनोमालिन्य र अराजकता बढेको उल्लेख गर्दै शिक्षकहरूले पोशाक नलगाएको स्विकार गरिएको छ । विद्यार्थीहरू लगायत समाजलाई अनुशासनको सन्देश दिने र सिकाउनु पर्ने नैतिक दायित्वमा रहेका शिक्षकहरू आफैले अनुशासनको पालना नगर्दा हुने परिणामको हेका भने नराखिएको सो विज्ञप्तिका शब्दहरूबाट समेत झल्किन आएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘… विव्यसका अध्यक्ष कृष्ण रिमालले मदिरा सेवन गरी अपशब्द बोली, हातपात गर्न खोज्नुले निर्लज्जता प्रदर्शन गरेको छ । यस्तो किसिमको अभद्र, कुनियत, अनुशासनहीन बलप्रयोग गर्न खोज्नुले …. यस किसिमको बदनियतपूर्ण कार्यशैलीको घोर भर्त्सना र निन्दा गर्दछ । … जत्ति सक्दो चाडो अध्यक्ष कृष्ण रिमाललाई कारवाही होस् भन्ने माग गर्दछौं ।’
तर त्यसो भन्दै गर्दा शिक्षकहरू आफै अनुशासनहीनताको शिकार भएको भन्ने होस् राख्न नसकेको सोही विज्ञप्तिले बोल्न पुगेको छ । घटना बैशाख १५ गते बिहान ९ः५० बजे भएको भनिएको र त्यसका विरुद्धमा सोही दिन विज्ञप्ति जारी नगरी १७ गते जारी गर्नु र सो दिनमा व्यवसका अध्यक्षले रक्सी खाएको भन्ने प्रमाणित गर्न मेडिकल जाँच गराउन नसक्नुले विज्ञप्ति जारी गर्ने शिक्षकहरूको नियतमा आशंका गर्ने प्रशस्त ठाउँ दिएको जानकारहरू बताउँछन् । उनीहरू भन्छन्, ‘सरकारी विद्यालयमा शैक्षिकस्तर खस्कनुको प्रमुख कारक शिक्षकहरू र तिनका हित गर्ने नाउँमा खोलिएको संघ/संगठान हुन् ।’
त्योसँगै शिक्षाको मन्दिरका रुपमा परिचित विद्यालयको व्यसको अध्यक्ष जस्तो गरिमापूर्ण पदमा आसिन व्यक्तिले आफ्ना विरुद्धमा शिक्षकहरूका तीन तीनवटा समितिले संयुक्त रुपमा वक्तव्य निकालेर कारवाहीको माग गर्नु पर्ने स्थिति उत्पन्न गर्नु/गराउनु पनि उत्तिकै लज्जास्पद स्थिति रहेको आम बुझाई छ ।
यस विषयमा बुझ्नका लागि बेसीशहर नगरपालिकाको शिक्षा शाखाका प्रमुख किसानराज चिलुवाल, जनविकास माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिमालसँग फोन सम्पर्कको पटक– पटक प्रयास गर्दा पनि सफल हुन सकेन ।

प्रकाशित मिति २०८० बैशाख १७, आईतवार १५:५१ गते
हजुरको प्रतिक्रिया