ममाथिको आक्रमणमा ज्ञानेन्द्र शाह, उनको परिवार र पक्षधरको संलग्नता छ : ओली

ममाथिको आक्रमणमा ज्ञानेन्द्र शाह, उनको परिवार र पक्षधरको संलग्नता छ : ओली

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख १७ गते आईतबार ०७:१७

आक्रोश पूर्ण शैलीमा उहाँले भन्नुभयो, ‘राजतन्त्र भनेको कि फटाहले मान्छ, स्वार्थी फटाहले, कि मुर्खले मान्छ कि अज्ञानीले, केही नबुझ्ने अज्ञानी वा स्वार्थ साधना गर्ने अज्ञानीले राजतन्त्र मान्छन् ।’

केही दिनअघि हिमानी शाहको फेक ट्वीटर ह्यान्डलमा उल्लेख गरेका विषयबस्तुप्रति पनि कटाक्ष गर्दै ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ’छोराबुहारीलाई ठिक ठाउँमा राख्न’ पनि आग्रह गर्नु भएको छ ।

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि आक्रमणको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह, उनको परिवारका सदस्य तथा सत्तामा हुने पार्टीका कार्यकर्ताहरूको संलग्नता रहेको दावी गर्नु भएको छ । अध्यक्ष ओलीले पूर्वका विभिन्न जिल्लामा आफूमाथि आक्रमण प्रयासका घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको संलग्नता रहेको पनि पार्टी निकट अखिल नेपाल किसान महासंघले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बैशाख १७ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘हिजो, अस्ति हामी तेह्रथुम, पाँचथर, इलाम, झापा अनेक ठाउँमा हामीले कार्यक्रम गरेका थियौं । तपाईहरूले अलिअलि सुन्नु पनि भएको होला । कार्यक्रममा जाँदै गर्दा बीचमा केही गुण्डा प्रवृत्तिका व्यक्तिहरू, अराजनीतिक व्यक्तिहरूले हमला गर्ने, पहिचानको राजनीति भनेर अराजनीतिक क्रियाकलाप गर्ने, त्यस्ता खालको क्रियाकलाप गर्ने, ढुंगामुढा गर्ने, त्यस्ता खालको कुराहरू गरे । यसको संलग्नता विभिन्नतिर देखिएको छ । ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्नता देखिएको छ । यो अनेकमार्फत् देखिएको छ ।’ सत्तामा हुने पार्टीका कार्यकर्ताहरू पनि अर्काको नाममा ढुंगा हान्न गएका ओलीको दावी छ ।
फटाहा, मुर्ख र बुद्धि नभएकाहरूले मात्रै राजतन्त्र मान्ने टिप्पणी समेत गर्दै ओलीले भन्नुभयो, ‘राजतन्त्र भनेको कि फटाहाले मान्छ, स्वार्थी फटाहाले कि मुर्खले मान्छ, एकथरी अज्ञानी हुन्छन् । बिचरा केही पनि बुझदैनन् ।’ उहाँले थप भन्नुभयो, ‘दलालहरू र बुद्धि नभएकाहरूले पनि राजतन्त्र मान्छन् ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र पक्षधरप्रति आक्रोश पोख्नु भएको छ । उहाँले भन्नुभयो, ‘राजतन्त्र भनेको कि फटाहले मान्छ, स्वार्थी फटाहले, कि मुर्खले मान्छ कि अज्ञानीले,’ ओलीले भने, ‘केही नबुझ्ने अज्ञानी वा स्वार्थ, साधना गर्ने अज्ञानीले राजतन्त्र मान्छन् ।’
ओलीले हरेक ठाउँमा एउटै समूहका २० जनाजति मानिस आफूमाथि आक्रमण प्रयासमा आएको बताउँदै सरकारले मुखले जे भने पनि आफूमाथिको आक्रमणलाई नियन्त्रण नगरेको भन्दै उहाँले आपत्ति व्यक्त गर्नुभयो । उहाँका अनुसार आफूहरू माथि गाली बेइज्जती, अश्लिल शब्दको वर्षा गर्दा पनि नियन्त्रण गर्न प्रहरीलाई माथिबाट आदेश गएन ।
‘हाम्रा विरुद्ध अश्लिल, असभ्य, त्यस्ता खालका गालीगलौज गर्ने कुराहरू यिनका मुखबाट भएको छ । त्यो म आफैंले देखेर, भोगेर आएको छु । हरेक ठाउँमा उनीहरूले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, कहिँ ढुंगा हान्ने, कहिँ भिडन्त गर्न आउने । त्यसप्रकार उनीहरूले अनेक ठाउँमा आक्रमण गरे । त्यो खालको उदण्डता र सरकार मुकदर्शक किन ?’ उहाँले प्रतिप्रश्न समेत गर्नुभयो ।

यसैबीच, राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले ओलीको अभिव्यक्तिप्रति आपत्ती व्यक्त गर्दै सो बोली फिर्ता लिन माग गर्नु भएको छ ।
स्मरणीय छ, ओलीको उक्त अभिव्यक्तिपछि पूर्वराजा शाहको सचिवालयले विज्ञप्ति जारी गर्दै पूर्वयुवराज्ञी हिमानीले ट्वीटर नचलाउने प्रष्टाएको थियो ।

प्रकाशित मिति २०८० बैशाख १७, आईतवार १९:१७ गते
हजुरको प्रतिक्रिया