परिणाममुखी शैक्षिक उपलब्धी हासिल गर्न मर्स्याङ्दी गाउँपालिकाले निर्माण गर्यो शैक्षिक सत्र २०८० को क्यालेन्डर

परिणाममुखी शैक्षिक उपलब्धी हासिल गर्न मर्स्याङ्दी गाउँपालिकाले निर्माण गर्यो शैक्षिक सत्र २०८० को क्यालेन्डर

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख १८ गते सोमबार ०९:११

शैक्षिक उवलब्धी हासिल गर्न यो बर्ष हस्त लेखन तालिम, खेल शिक्षकलाई तालिम, प्रअहरूलाई आईटी तालिम, तहगत विषयगत तालिमहरू, पाठ्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिने भएको छ ।

अतिरिक्त कार्यक्रमहरू विद्यालयहरूले आ–आफ्नो तरिकाले हरेक शुक्रवार अनिवार्य रुपमा सञ्चालन गर्नु पर्ने

भूलभूले(लमजुङ)– दिनहूँ जसो शैक्षिकस्तर खस्कदै गएको अवस्थामा त्यसका विरुद्ध विभिन्न रणनीति तयार गर्दै कार्यान्वयन गरिआएको मर्स्याङ्दी गाउँपालिकाले शैक्षिक सत्र २०८० को क्यालेन्डर निर्माण गरेको छ । परिणाममुखी शैक्षिक उपलब्धी हासिल गर्न मर्स्याङ्दी गाउँपालिकाले निर्माण गरेको हो ।
गाउँपालिकामा सञ्चालन गरिएको शैक्षिक कार्यशाला गोष्ठीबाट बार्षिक क्यालेन्डर बैशाख १७ गते निर्माण गरिएको हो । सो गोष्ठीमा गाउँपालिकाको शिक्षा समितिका पदाधिकारीहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, प्रधानाध्यापकहरू, पालिकाको परीक्षा समितिका पदाधिकारीहरू र सामाजिक विकास समितिका पदाधिकारीहरू सहभागी रहेको कार्यशालामा शैक्षिक क्यालेण्डर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका स्वकीय सचिव सरोज गुरुङले बताउनु भयो । उहाँका अनुसार सबैको सहमतिमा शैक्षिक क्यालेण्डर निर्माण गरिएको हो ।
उक्त क्यालेण्डर अनुसार पालिकाभर जेठ २६ गते छात्रवृत्ति वितरण दिवस मनाइने भएको छ । सो दिन सबै विद्यालयले कार्यक्रम आयोजना गरि छात्रवृत्ती वितरण अनिवार्य रुपमा गर्नुपर्ने उल्लेखछ । यसैगरी, भदौ २२ गते शिक्षा दिवस पनि भव्य रुपमा मनाउने भएको छ । उक्त अवसरमा उत्कृष्ठ शिक्षक, विद्यालय, विद्यार्थी, पेन्सन बसेका शिक्षकहरूलाई सम्मान, सांस्कृतिक कार्यक्रम, शिक्षक, अभिभावक, वि.व्य.स., जनप्रतिनिधी बीच मैत्रीपूर्ण भविलबल प्रतियोगिता, मा.वि.स्तरीय बक्तृत्वकला प्रतियोगिता आदि कार्यक्रम सञ्चालन गर्ने तय भएको छ । खेलकुदलाई प्रभावकारी बनाउने क्रममा चालु शैक्षिक सत्रमा सबै आ.वि.र मा.वि.मा कम्तिमा एउटा स्ट्यान्डर्ड साईजको टेबल टेनिस बोर्ड निर्माण गर्नुपर्ने भनिएको छ ।
मर्स्याङ्दी गाउँपालिकाले शैक्षिक उवलब्धी हासिल गर्न यो बर्ष हस्त लेखन तालिम, खेल शिक्षकलाई तालिम, प्रअहरूलाई आईटी तालिम, तहगत विषयगत तालिमहरू, पाठ्यक्रम सम्बन्धि अभिमुखिकरण आदि कार्यक्रम गर्ने भएको छ ।
यसैगरी, हरेक शुक्रवार गर्नु पर्ने अतिरिक्त कार्यक्रमहरू विद्यालयहरूले आ–आफ्नो तरिकाले अनिवार्य रुपमा सञ्चालन गर्नु पर्ने भनिएको छ । गोष्ठीले परीक्षा मिति, नतिजा प्रकाशन मिति, प्रअ बैठक, खेलकुद प्रतियोगिता, स्थानीय विदा सहितको तालिका क्यालेन्डरमा समेटिएको छ ।
मर्स्याङ्दी गाउँपालिकाद्वारा कक्षागत र विषयगत रुपमा त्रैमासिक परीक्षाको आधारमा पाठ विभाजन गरिएको छ । त्यस्तै, विषयगत संयोजकहरूले एक हप्ता भित्र वार्षिक शैक्षिक योजना बुझाउनु पर्ने शैक्षिक क्यालेण्डरमा उल्लेख छ । पहिलो त्रैमासिक परीक्षा २०८० भदौ ६ देखि १३ सम्म हुन तालिका छ भने नजिता प्रकाशन भदौ २१ गते गरिनेछ । त्यस्तै, दोस्रो त्रैमासिक परीक्षा पुस ५ देखि १३ गतेसम्म सञ्चालन गरिने र नतिजा प्रकाशन पुस २० गते प्रकाशन गरिने उल्लेख छ । यसैगरी, चालु शैक्षिक सत्रको अन्तिम परीक्षा चैत्र १४ देखि २१ गतेसम्म र नतिजा प्रकाशन चैत २८ गते गर्ने कार्यतालिका क्यालेण्डरमा समेटिएको छ । यसैगरी, पालिकाले कक्षा १० को एसईई अभ्यास परीक्षा आउँदो माघ २८ गतेदेखि फागुन ९ गतेसम्म र नतिजा प्रकाशन फागुन १३ गते तय गरिएको छ । यस बाहेक नियमित मासिक परीक्षा विद्यालयले गर्न भनिएको छ ।
मर्स्याङ्दी गाउँपालिकामा यस बर्षको बर्षे विदा असार ९ देखि साउन २० गते सम्म हुने छ । विद्यालयहरूले बढीमा पाँच दिन स्थानीय विदा दिन सक्ने छन । यसैगरी चालु शैक्षिक सत्रमा पालिकामा प्रअ बैठक ५ पटक बस्ने तय गर्दै ती मिति जेठ १९, भदौ २२, मंसिर ८, माघ २६ र चैत १३ गतेका लागि सो बैठक तोकिएको छ । जेठ २८ र मंसिर ७ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको बैठक बस्ने छ ।
यसैगरी गत शैक्षिकसत्रबाट थालनी गरिएको मर्स्याङ्दी कप २०८० मंसिर १४ देखि १६ गतेसम्म सञ्चालन गर्ने भएको छ । सो अवसरमा ङादी खेल मैदान, महेन्द्रदेव मा.वि., तराञ्चेमा आ.वि.स्तरीय फुटबल, मा.वि.स्तरीय छात्र/छात्रा भलिबल, छात्र/छात्रा १०० मी. २०० मी., ४०० मी. १५०० मी. ३००० मी. दौड, १००×४ मी. ४००×४ मी. छात्र/छात्रा सर्टपुट, ज्याब्लिङ थ्रो, लङ जम्प, त्रिपल जम्प, हाईजम्प, आ.वि.स्तरीय छात्र/छात्रा टेबल टेनिस खेल सो अवसरमा सञ्चालन हुने छन् ।
परिणाममुखी शैक्षिक उपलब्धी हासिल गर्ने बारेमा प्रकाश पार्दै गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले यो बर्ष हस्त लेखन तालिम, खेल शिक्षकलाई तालिम, प्रअहरूलाई आईटी तालिम, तहगत विषयगत तालिमहरू, पाठ्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिने बताउनु भयो । उहाँका अनुसार यो अवधीमा विद्यालयहरूको पूर्ण रुपमा अनुगमन गरिने छ । सो क्रममा विद्यालय मर्ज, दरबन्दी मिलानका काम गरिनेछन ।
यस वर्ष बजेट घटेर आउने लक्षण देखिए पनि विद्यालयहरूको समस्यालाई समाधान गर्ने प्रयास गरिने अध्यक्ष गुरुङले बताउनु भयो । शैक्षिक गोष्ठीलाई संवोधन गर्दै अध्यक्ष गुरुङले नियमित विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्टाफ बैठकहरूको आयोजना गर्ने, नतिजामा केन्द्रित भएर योजना निर्माण गर्न, प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्नु भयो ।
अध्यक्ष गुरुङले विद्यालयप्रति अभिभावकहरूलाई जिम्मेवार बनाउन अभिभावक भेलाहरू आयोजना गर्ने, विद्यार्थी उत्प्रेरणा कार्यक्रम सञ्चालन र प्रभावकारी अतिरिक्त कार्यक्रमहरू आयोजना गर्न सम्बद्ध सबैलाई आग्रह गर्नु भएको छ । बलियो टिमवर्कले मात्रै नतिजा निकाल्न सकिनेमा जोड दिदै अध्यक्ष गुरुङले विद्यालयको अध्यक्षहरूले प्र.अ. र अन्य शिक्षकको प्रभावकारी टिमवर्क भए नभएको गहन रुपले अध्ययन गरी बलियो टिमवर्क निर्माण गर्न हरदम प्रयत्न गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

प्रकाशित मिति २०८० बैशाख १८, सोमबार ०९:११ गते
हजुरको प्रतिक्रिया