पं. तोयनाथको अभियान आफ्नो पार्टीको नीति र कार्यक्रमसँग मेल खाने माओवादी केन्द्रका महासचिव देव गुरुङको दावी

पं. तोयनाथको अभियान आफ्नो पार्टीको नीति र कार्यक्रमसँग मेल खाने माओवादी केन्द्रका महासचिव देव गुरुङको दावी

नवराज पहाडी

@antaranganews

२०८० बैशाख १८ गते सोमबार १२:२०

प्रतिष्ठान विस २००६ सालमा ब्राह्मणले हलो जोतेर त्यो बेलाका सबैप्रकारका सामाजिक विभेद(शैक्षिक, आर्थिक, जातीय छुवाछुत तथा राजनीति)का विरुद्ध सचेतनाको विगुल फुक्नु हुने पं. तोयनाथको स्मृतिमा गठन गरिएको हो ।

प्रतिष्ठानको पाँचौं अधिवेशनबाट नयाँ नेतृत्व चयन, अध्यक्षमा डा. पौडेल

दुराडाँडा(लमजुङ)– लमजुङको ऐतिहासिक थलो दुराडाँडा स्थित हलो क्रान्ति नेपाल तथा पं. तोयनाथ स्मृति प्रतिष्ठानको ५ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । नेकपा माओवादीका केन्द्रीय महासचिव पूर्वमन्त्री देवप्रसाद गुरुङको प्रमुख आतिथ्यतामा बैशाख १६ गते सो अधिवेशन भएको हो । प्रतिष्ठान विस २००६ सालमा ब्राह्मणले हलो जोतेर त्यो बेलाका सबैप्रकारका सामाजिक विभेद(शैक्षिक, आर्थिक, जातीय छुवाछुत तथा राजनीति)का विरुद्ध सचेतनाको विगुल फुक्नु हुने पं. तोयनाथको स्मृतिमा गठन गरिएको हो ।
प्रमुख अतिथि गुरुङले यो अभियानालाई राष्ट्रियस्तरमा चिनाउन जरुरी रहेको बताउनु भयो । उहाँले पं. तोयनाथले गर्नु भएको हलो क्रान्ति र माओवादीको अभियानसँग मिल्दोजुल्दो भएको दावी गर्दै त्यसका बारेमा आफूलाई थप खोज्ने चाहना जागृत भएको उल्लेख गर्दै यसको उत्थानमा आफू सधैं सँगै रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले प्रतिष्ठानमा निर्माण गर्नु पर्ने भौतिक संरचनाको निर्माणका कार्यमा आफूसँगै रहने र प्रपोजल सहित काठमाडौं आउन प्रतिष्ठान परिवारलाई आग्रह गर्नु भयो ।
दुराडाँडाको अर्चल्यानी स्थित पं. तोयनाथ शर्मा अधिकारीद्वारा अगुवाई गरी हलोक्रान्ति गरिएको बाटेगह्रामा आयोजना गरिएको अधिवेशनको उदघाटन सत्रमा विशिष्ट अतिथी राष्ट्रिय भूमि आयोग लमजुङका जिल्ला अध्यक्ष दामोदर अधिकारीले हलोक्रान्तिको इतिहासबारे जानकारी दिदै यसको आवश्यकता र महत्वका बारेमा प्रष्ट्याउनु भएको थियो ।
सुन्दरबजार नगरपालिका– ३ का वडाध्यक्ष अमृत न्यौपानेले कार्यक्रम स्थल रहेको वडाका अध्यक्षको अनुपस्थिति प्रति आयोजकको ध्यानाकर्षण गर्दै कतै यो अभियान प्रति उहाँको असहमति त हैन ? भन्ने टिप्पणी गर्नु भयो । सोही नगरपालिका– १० का अध्यक्ष दिपक ढकालले प्रतिष्ठानको उत्थानका लागि नगरपालिकाले गर्नु पर्ने कार्यका लागि नगरपालिकामा आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
यसैगरी ने.क.पा. (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष रामबाबु अधिकारीले हलोक्रान्तिको महत्वलाई जुन रुपमा महत्व दिनु पर्न हो, त्यो हुन नसकेकोतर्फ सम्बद्ध सबैको ध्यान जानु पर्ने र नयाँ ढंगले यसको पुनसंरचनामा लाग्नु पर्ने बताउनु भयो ।
शुभकामना व्यक्त गर्नु हुनेमा प्रतिष्ठानका संरक्षक एवम् पं. तोयानाथका जेष्ठ सुपुत्र सोमकान्त अधिकारीले यसको प्रचारका लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । अर्का संरक्षक शशिकान्त अधिकारीले प्रतिष्ठानको उत्थानका लागि धेरै काम गर्ने सपना रहेको तर गर्न नसकेको अवस्था छ । सबै मिलेर गरौं भन्नुभयो । सो अवसरमा सर्वोदय माविका प्रधानाध्यापक नरेशकान्त अधिकारी, सामाजिक कार्यकर्ता रामबहादुर बि.क.लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
अधिवेशननबाट विधान संशोधन गरी दुराडाँडा मौजाका सबै वडाका अध्यक्षहरूलाई मानार्थ सदस्य बनाउने समेत निर्णय गरिएको छ । कार्यक्रममा आजीवन सदस्यहरूलाई सम्मान सहित प्रमाण पत्र प्रदान गरिएको थियो । संरक्षक तथा तोयनाथ सुपुत्र सोमकान्त शर्मा दम्पतीलाई प्रतिष्ठानले दोसल्ला ओडाएर सम्मान गरेको थियो ।
सो अवसरमा स्थानीय, शिक्षक, समाजसेवी, बुद्धिजीवीहरू, प्रतिष्ठानका आजीवन सदस्यहरू लगायतका मान्यजनहरूको सहभागिता थियो । संस्थाका अध्यक्ष दिपक पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव लक्ष्मीकान्त न्यौपानेले गर्नु भएको थियो । संस्थाका आजीवन सदस्य रामचन्द्र अधिकारिले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
पाँचौं अधिवेशनबाट डा. लक्ष्मीकान्त पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति सर्बसम्मत रुपमा चयन गरिएको छ । समितिको उपाध्यक्षमा श्रीप्रसाद अधिकारी, सचिवमा पुनः लक्ष्मीकान्त न्यौपाने, कोषाध्यक्ष विमला न्यौपाने र सहसचिव रामबहादुर बि.क., चयन हुनुभएको छ । समितिको सदस्यहरूमा रामचन्द्र अधिकारी, पशुपति खनिया, शारदा पौडेल र लोका घिमिरे अधिकारि चयन हुनु भएको प्रतिष्ठानका सचिव लक्ष्मीकान्त न्यौपानेले बताउनु भयो ।
अध्यक्षमा निर्वाचित भएपछि पौडेलले यस प्रतिष्ठानलाई राष्ट्रियस्तरमा चिनाउन आफ्नो पहिलो प्रयास रहने र यस अभियानमा वडा नं ४ वडा कार्यलय, सुन्दरबजार नगरपालिका, प्रदेश सरकार र केन्द्रीय सरकारमा समेत स्पष्ट खाकाका साथ भौतिक संरचना सहित हलोक्रान्ति दिवसलाई राष्ट्रिय दिवसमा समावेश गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
त्यसैगरी, आजीवन सदस्यहरूको संख्या बढाउनेदेखि पछिल्लो पुस्तालाई यस अभियानको महत्व र इतिहास बुझाउने काम गर्नेसमेत पौडेलले प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
प्रतिष्ठानको विधान अनुसार एक कार्यकाल तीन वर्षको रहने व्यवस्था छ ।
हलोक्रान्तिका नायक एवम् दुरद्रष्टा पं. तोयनाथले २००६ सालमा राणाकालीन एकतन्त्रीय जहानीया शासनको दबदबा एवम् जर्जर अवस्थामा पनि उहाँले हलोक्रान्तिको एक गोलीमार्फत समाजमा एकैचोटी सामाजिक विभेद(छुवाछुत), आर्थिक विभेद(निम्नस्तरका ब्राह्मण÷क्षेत्रीहरूका पक्षमा (आफ्नो जग्गाजमिनको उब्जनीले खान नपुग्ने अवस्थामा पनि अनिवार्य हली राख्नु पर्ने बाध्यता) विरुद्ध आर्थिक क्रान्ति, शैक्षिक जागरणको परिकल्पना र प्रजातन्त्रको विगुल फुक्ने वातारणको तयारीका साथ राजनीतिक सचेतना जागृत गर्ने कार्य गर्नु भई दुराडाँडालाई दुराडाँडाको रुपमा उक्त ऐतिहासिक थलोको गौरव बढाउने काम गर्नु भएको पाइन्छ ।

– दुराडाँडाबाट संवाददाता विराट न्यौपानेको सहयोगमा ।

प्रकाशित मिति २०८० बैशाख १८, सोमबार १२:२० गते
हजुरको प्रतिक्रिया