काठमाडौं– नेपाल प्रहरीले नेकपा(एमाले)का सांसद लक्ष्मी महतो कोइरी हत्या अभियोगका फरार अभियुक्त रहेको सूचना सभामुखसमक्ष फेरि पठाएको छ । प्रहरीले सभामुखलाई नै सम्बोधन गरेर पठाएको पत्र संघीय संसद् सचिवालयमा बैशाख १७ गते पुगेको हो ।
यसअघि, गएको पुस ७ गते नै प्रहरी प्रधान कार्यालयले सांसद कोइरी फरार अभियुक्त रहेको सूचनासहितको पत्र संसद् सचिवालयका महासचिवसमक्ष पठाउने काम गरेको थियो । ‘सभामुखलाई सम्बोधन गरेर आइतबार नै पत्र आएको छ,’ संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनु भयो । उहाँका अनुसार अघिल्लो पत्रको विषयमा समेत पत्रमा उल्लेख गरिएको छ ।
प्रहरी प्रधान कार्यालयका कानुन शाखाका प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले संघीय संसद सचिवालयलाई लेखेको पत्रमा भनिएको छ, ‘..निज लक्ष्मी महतो मुद्दाको पुर्पक्षका लागि थुनामा बसी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेमा सो कार्य नगरी तारेख गुजारी हालसम्म पनि फरार रहेको तथ्य महोत्तरी जिल्ला अदालतबाट प्राप्त पत्रबाट देखिएको ।’
तर, सभामुख देवराज घिमिरेले उक्त पत्रको विषय कार्यान्वयन गर्नु भएको थिएन । उहाँका अनुसार नयाँ प्रतिनिधिसभा नियमावली बनेपछि प्रहरीबाट त्यसबारेमा जानकारी नै आएको छ्रैन ।
उहाँले भन्नुभयो, ‘अब सभामुखबाट प्रक्रिया अघि बढाइनेछ ।’ प्रक्रियाअनुसार पक्राउ गर्न सभामुखले अनुमति दिएसँगै सांसद कोइरी निलम्बनमा पर्ने भएका छन् ।
सांसद कोइरी फरार रहेको संसदलाई जानकारी गराएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले बताउनु भयो । उहाँका अनुसार प्रतिनिधिसभा नियमावली २०७९ बमोजिम हामीले दोस्रोपटक संसदलाई जानकारी गराएका हौं । उहाँले भन्नुभयो, ‘संसद चलिरहेको बेला सभामुखसँग अनुमति लिएर सांसदलाई पक्राउ गर्नसक्छ, संसद अधिवेशन नभएका बेला पक्राउ गरेर सभामुखलाई जानकारी गराउने प्रावधान छ ।’
प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) मा ‘अदालतको आदेशबमोजिम पुर्पक्षका लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ ।’ उल्लेख छ ।
सांसद कोइरीविरुद्ध ०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा घेरा हाली सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या गरेको अभियोग छ । उक्त अभियोगमा उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको थियो ।
प्रेमबहादुर बिकले दिएको जाहेरीमा महोत्तरी जिल्ला अदालतले महतोलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उक्त आदेशलाई उल्टाएर उच्च अदालत जनकपुरले २०७७ मंसिर १९ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । सांसद महतोले पटक–पटक तारेख गुजार्दै आएको अदालत स्रोतको भनाइ छ ।
सभामुखले कोइरी बिरामी रहेको भन्दै संसद्को हिउँदे अधिवेशनको अन्तिम दिन बिदा स्वीकृत गर्न प्रतिनिधिसभा बैठकमा प्रस्ताव समेत राखेका थिए । तर, सांसदहरूले प्रस्ताव अस्वीकार गरेका थिए
।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सांसद कोइरी महोत्तरी– १ बाट निर्वाचित भएका हुन् ।
स्मरणीय छ, संघीय संसदमा बैशाख १८ गतेमात्र गठन भएका विभिन्न समितिमध्ये उद्योग समितिमा एमालेबाट निर्वाचित फरार सांसद लक्ष्मी महतो कोइरीलाई राखिएको थियो ।
प्रकाशित मिति २०८० बैशाख १९, मंगलवार ०५:३० गते