मनाङका तीन पालिकामा पशु प्रजनन सेवाको तीन दिने स्थलगत शिविर

मनाङका तीन पालिकामा पशु प्रजनन सेवाको तीन दिने स्थलगत शिविर

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख १९ गते मङ्गलबार ०७:४५


तीनवटै गाउँपालिकामा सञ्चालन गरिएका शिविरका अवसरमा कुल १७ जर्सी र होलष्टिन गाईहरूमा घरगोठमा पुगी सेवा प्रवाह भएको, ३७९ पशु पन्छीहरूको उपचार गरिएको र २५ ओटा पशुको स्थलगत रुपमा गोवर परीक्षण भएको छ ।

‘पशुधन सुरक्षा र बृद्धिका लागि सन्तुलित आहारको खाँचो’ भएको निष्कर्ष

चामे(मनाङ)– मनाङका विभिन्न स्थानमा पशु प्रजनन सेवाको स्थलगत तीन दिने शिविर सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङको आयोजना तथा पशु प्रजनन केन्द्र पोखराको सहकार्यमा जिल्लाका तीन पालिकाका सो शिविर सम्पन्न भएको हो ।
यही साता सम्पन्न पशु प्रजनन स्वास्थ्य शिविरमा ६१ घरपरिवारका घरगोठमा स्थलगत सेवा दिएको बैशाख १८ गते पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ ।
यसै हप्तामा विज्ञ सेवा सहितको पशु स्वास्थ्य तथा वांझोपन निवारण शिविरबाट मनाङको सदरमुकाम रहेको चामे गाउँपालिका, नासों गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा सो शिविर सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले बताउनु भयो । उहाँका अनुसार आफ्नै नेतृत्वमा गाउँ गाउँमा पुगेर सञ्चालन गरिएको शिविरबाट किसानहरूले प्रत्यक्ष लाभ लिएका छन् । उहाँका अनुसार राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराको प्राविधिक सहयोग तथा स्थानीय तहहरूको समन्वयमा शिविर सञ्चालन भएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख चीन घलेले मनाङ जस्तो दुर्गम हिमाली जिल्लामा विशेषज्ञ सेवा सहितको पशु स्वास्थ्य तथा वांझोपन निवारण शिविर स्थलगत रुपमा घर घरमा गएर सेवा तथा टेवा दिने काम भएकोमा खुशी व्यक्त गर्दै आयोजकलाई विशेष धन्यवाद दिनु भयो ।
नासों गाउँपालिकाका उपाध्यक्ष वेदवहादुर गुरुङले आज भन्दा ५० वर्ष अघि नेपालमा दुई लाखको हाराहारीमा याक चौंरीपालन हुँदै आएकोमा अहिले यसको संख्या निरासाजनक तरिकाले घटिरहेकोले हिमाली भेगमा याकचौंरी, भ्याङलुङ भेडापालनका लागि राज्यकातर्फबाट विशेष खालको कार्यक्रमका साथ सहजीकरण हुनु पर्ने माग गर्नु भयो ।
बाह्र गाईहरूको परीक्षण गर्दा फ्लासिड पाठेघर, परसिस्टेण्ट कर्पस लिउटियम वाहेक कुनै पनि पाठेघर सम्वन्धी संक्रमण नभएको र सबै गाईहरूमा सन्तुलित आहाराको कमी भएका कारण पशु समयमा वाली जान नसकेको पशुस्वास्थ्य विज्ञ खगेन्द्र सापकोटाले बताउनु भयो ।
शिविरका लागि आयोजित समारोहमा नासों गाउँपालिकाका उपाध्यक्ष वेदवहादुर गुरुङ, मनाङ जिल्ला समन्वय प्रमुख चिन घले र राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख जगदिश पाण्डेयले आ–आफ्नो धारणा राख्दै पशु धनको आवश्यकता र महत्वमा प्रकाश पार्दै यो पेशाको बृद्धिले किसानको जीवनस्तर उठाउन मद्दत पुग्ने धारणा व्यक्त गर्नु भएको थियो ।
राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख पाण्डेयले सम्बोधनका क्रममा असल र अर्थपूर्ण पशुपालनमा पांच खम्वे नीति जस्तो पशु आहारा, पशु प्रजनन, पशु स्वास्थ्य, पशु ब्यवस्थापन र उत्पादित वस्तुको यथेस्ट बजारलाई विशेष मध्यनजर राखिनु पर्नेमा जोड दिनु भयो ।
तीन दिवसीय शिविरमा नासोको ताचै, तिल्चे ओडार र दानाक्यूमा घरदैलोमा पुगि १२ गाईहरूको वांझोपन सम्वन्धी विशेषज्ञ पशुचिकित्सकहरूद्वारा परीक्षण गरि उपचार गरिएको छ । सो अवसरमा किसानहरूलाई निकट भविष्यमा आफना पशुधन कुन कुन समय तालिकामा कसरी उपचार गर्ने भन्नेबारेमा समेत जानकारी र परामर्श दिइएको प्रमुख कुशुमको भनाइ छ ।
सो अवसरमा चामे गाउँपालिकामा ५ वटा गाईहरूको परीक्षण गरिएको थियो । ती गाईमा पनि कुनै पनि पाठेघर सम्वन्धी संक्रमण नभएको र सन्तुलित पशु आहाराकै कमीका कारणले पशु समयमा सांढे नखोज्ने समस्या भएको पाइएको प्राविधिकहरूको ठहर छ ।
मनाङ ङिस्याङ गाउँपालिकामा पशु प्रजनन संवन्धी उपचारको लागि कृषकहरूको माग अनुसार लुलु गाई र चौंरीहरूमा प्रजनन सुधारको लागि औषधि समेत वितरण गरिएको भेटेरिनरी अस्पतालका प्रमुख कुसुमले जानकारी दिनुभयो । उहाँका अनुसार तीनवटै गाउँपालिकामा सञ्चालन गरिएका शिविरका अवसरमा कुल १७ जर्सी र होलष्टिन गाईहरूमा घरगोठमा पुगी सेवा प्रवाह भएको, ३७९ पशु पन्छीहरूको उपचार गरिएको र २५ ओटा पशुको स्थलगत रुपमा गोवर परीक्षण भएको छ । उहाँले प्रतिवद्धताका साथ भन्नुभयो, ‘बाँंझोपन सम्वन्धी समस्यालाई निराणकरण र न्यूनीकरण गर्न दिइएको समय तालिका अनुसार कार्यान्वयन गर्न आफूहरू तयार रहेका छौं ।’

प्रकाशित मिति २०८० बैशाख १९, मंगलवार ०७:४५ गते
हजुरको प्रतिक्रिया