
ललितपुर– पाटन उच्च अदालतले विश्वहिन्दू महासंघको भोलि बैशाख २१ गतेबाट हुने महाधिवशेन रोक्ने आदेश दिएको छ । महाधिवेशनबारे उठेको विवाद अदालत पुगेसँगै न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको एकल इजलासले भोलिबाट सुरु हुने महाविधेशन रोक्ने अल्पकालीन अन्तरिम आदेश बैशाख १९ गते दिएको हो ।
विवाद निरुपण गर्नका लागि छलफल गर्न दुवै पक्षलाई वैशाख २७ गते बोलाइएको छ । अन्तरिम आदेशको टुंगो नलागुन्जेल महाधिवेशन रोक्न अदालतले आदेश गरेको हो ।
आदेशमा भनिएको छ, ‘विश्व हिन्दु महासंघको मिति २०८०।१।२१ को लागि तोकिएको निर्वाचन अधिवेशनका काम कारबाही नगर्नु नगराउनु यथास्थितिमा राख्नु भनी विपक्षीहरुका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ । सोको जानकारी विपक्षीहरूलाई दिनुहोला ।’
‘निवेदकले अन्तरिम आदेश माग गरेको सम्बन्धमा विपक्षीहरूलाई समेत सुनुवाइमा सरिक गराइ निर्णय गर्नु मनासिव देखिएको हुँदा सो प्रयोजनको लागि मिति २०८०÷१÷२७ गते पेशी तोकी सो को सूचना विपक्षीहरूलाई समेत दिनु होला ।’
महासंघकी टिकादेवी भण्डारीले दायर गरेको रिटमा उच्च अदालतले कारण देखाउ आदेशसमेत जारी गरेको हो ।
प्रकाशित मिति २०८० बैशाख २०, बुधबार ०८:०३ गते