
काठमाडौं– नेपालमा कोरोना संक्रमित संख्या झण्डै तीन अंकमा पुगेको छ । पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै बैशाख २० गते त्यस्तो खुलासा भएको हो ।
आज कुल दुई हजार ५३२ नमुना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३३६ पीसीआर परीक्षणमा २७ र दुई हजार १९६ एन्टिजेन परीक्षणमा ६४ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५९ जनाले कोरोना जितेर संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको २२० रहेको छ । तीमध्ये २५ जना अस्पतालमा भर्ना भएका छन् । अस्पतालमा भर्ना भएका मध्ये १२ जना आइसीयुमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
‘कोरोना सङ्क्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगरौँ’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको राससले जनाएको छ ।
धूम्रपानले फोक्सोको क्यान्सर निम्त्याउने सम्भावना २२ गुणाले बढाउने मन्त्रालयले जनाएको छ । कोरोना भाइरसले फोक्सोलाई क्षति पु¥याउने र सुर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै समस्या भइसकेकाले सुर्तीजन्य पदार्थको सेवन नगर्न मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आग्रह गरिएको बताउनु भयो । उहाँले जारी गरेको सूचनामा भनिएको छ, ‘कोरोना भाइरसले फोक्सोलाई क्षति पु¥याउँछ । सुर्तीजन्य पदार्थको सेवन गर्नेको फोक्सो पहिले नै समस्या भइसकेको हुन्छ, त्यसैले कोरोना भाइरसबाट बच्नका लागि सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन ।’
सुर्तीजन्य पदार्थ सेवन गर्दा ओठ, मुख औलाले छुनुपर्ने हुँदा कोरोना सङ्क्रमण सजिलै सर्ने सम्भावना बढी हुने सहप्रवक्ता डा अधिकारीले उल्लेख गर्नुभयो । ‘सुर्तीजन्य पदार्थ एकापसमा साटासाट गरी सेवन गर्ने क्रममा एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्न सम्भावना बढी हुन्छ, एउटै हुक्का, चिलिम प्रयोग गरी पालैपालो सेवन गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण फैलिन सक्छ ।’
सुर्तीजन्य पदार्थको सेवनले शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई असर गर्ने र त्यसले सङ्क्रमण हुने सम्भावना बढाउने मन्त्रालयको भनाइ छ ।
प्रकाशित मिति २०८० बैशाख २०, बुधबार २१:२७ गते