काठमाडौँ– तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्वउपप्रधानमन्त्री तथा हाल प्रतिनिधि सभा सदस्यसमेत रहेका रायमाझीविरूद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी बैशाख २० गते जारी गरेको हो । रायमाझीका छोरा सन्दीपलाई बुटवलबाट हिजै पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई आज काठमाडौं ल्याउने तयारी गरिएको छ ।
प्रहरीले पेश गरेको प्रमाणका आधारमा पक्राउ पुर्जी जारी भएको अदालतले स्रोतको भनाइ छ । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको काठमाडौं प्रहरी परिसरले पुष्टि गरेको छ ।
भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८ जना ७५ नेपालीसँग १० देखि ५० लाख रुपैयाँसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको प्रहरीको अनुसन्धानमा देखिएको बताइएको छ ।
हिजै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोरा विरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतको दावी छ । पाण्डे २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव हुनुहुन्थ्यो ।
पूर्व गृहसचिवसमेत रहेका पाण्डेसमेतले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म असुली गरेको गिरोहसँग मिलेमतो देखिएपछि उनीविरुद्ध १९ गते पक्राउ पूर्जी जारी भएको थियो । उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि भएको स्रोतको दावी छ । स्रोतका अनुसार गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोड रुपैयाँको चेक पनि प्रहरीले बरामद गरेको छ । पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भएको प्रहरी स्रोत बताउँछ ।
द्वन्द्वको विज्ञ भनेर पनि चिनिने राई तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकारसमेत थिए । उनी संविधानसभा सदस्य समेत थिए ।
गृहमन्त्रीका सल्लाहकार डा. राईसँगको मिलेमत्तोमा कम्तीमा १४५ जना नेपालीको नाम भुटानी शरणार्थीका रुपमा बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा थप गरेको भेटिएको स्रोतले जनाएको छ ।
रायमाझी विरुद्ध काठमाडौँमा पक्राउ पुर्जी, अर्घाखाँचीमा विशेष अतिथि :
यसैबीच, काठमाडौँमा पक्राउ पुर्जी जारी हुँदा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी अर्घाखाँचीको एक कार्यक्रममा विशेष अतिथि बनेर सहभागी भएको खुल्न आएको छ । अर्घाखाँचीको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन समारोहमा विशेष अतिथि बनेर उनी सहभागी थिए । ।
सो कार्यक्रममा सभामुख देवराज घिमिरे प्रमुख अतिथि रहनु भएको बताइएको छ ।
आफूविरुद्ध लगाइएको आरोप झुटो भएको रायमाझीको दावी :
यसैबीच, रायमाझीले आफूविरुद्ध लगाइएको आरोप झुटो भएको दावी छ । रायमाझी सो कार्यक्रममा सहभागी हुँदा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार सार्वजनिक भइसकेको थियो । तर कार्यक्रममा यसबारे उनले कुनै प्रतिक्रिया दिएनन् । त्यसपछि, सोबारेमा पत्रकारहरूले राखेको जिज्ञासामा उनले भने, ‘दलालहरू के/के गर्छन्, मलाई केही थाहा छैन । यस विषयमा प्रहरीले मलाई कुनै सोधपुछसमेत गरेको छैन ।’
२०७६ सालमा गृह मन्त्रालयले भुटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनाएको थियो । उक्त कार्यदलले छुटेका भुटानी शरणार्थीको पहिचान गरेको थियो ।
कार्यदलले मन्त्रालयलाई प्रतिवेदन बुझाए पनि सार्वजनिक भने गरेको थिएन । त्यसैले प्रतिवेदनमा नक्कली भुटानी शरणार्थी समावेश गरिएको हो कि भन्ने आशंका त्यो बेलामै गरिएको थियो ।
अनुसन्धानकै लागि जिल्ला प्रहरी परिसर काठमाडौंले मन्त्रालयसँग प्रतिवेदन माग गरेको थियो । उक्त प्रतिवेदन मन्त्रालयले गत चैत २८ गते परिसरलाई उपलब्ध गराइएको थियो ।
सो प्रतिवेदनमा पनि ८ सय भन्दा बढी नक्कली भुटानी शरणार्थीको नाम समावेश गरिएको उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार त्यस प्रतिवेदनमा चार वटा अनुसूचिमा मात्रै वास्तविक शरणार्थीको नाम उल्लेख छ । बाँकीका नाम पछि थपिएको पाइएको छ ।
भुटानी शरणार्थी बनाएर अमेरिका पठाई दिन्छु भन्दै रकम ठगी गरेको गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले गत चैत १२ गते मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरूलाई पक्राउ गरेको तीन दिनपछि मोरङका सागर राईलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरूले पाँच करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी भएको भनी छुट्टाछुट्टै किटानी जाहेरी परेको थियो ।
झापाको बेलडाँगी र मोरङको पथरी शिविरमा अझै ६ हजार ३ सय ६५ भुटानी शरणार्थी बाँकी रहेको विवरण छ । अरु शरणार्थी अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतको मुलुकमा पुनर्वासका लागि गइसकेका छन् ।
परिसरले नक्कली भुटानी शरणार्थी सम्बन्धमा ठगी तथा संगठित अपराधमा अनुसन्धान गरिरहेको जनाएको छ ।
८१ जना विरुद्ध किटानी जाहेरी :
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई बैशाख १९ गते पक्राउ परेका हुन् । राईलाई ललितपुरबाट पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं सूचना अधिकारी कुवेर कडायतले पुष्टि गर्नु भएको छ ।
हालसम्म प्रहरीमा २१ जना भन्दा धेरैले उक्त गिरोहविरुद्ध जाहेरी दर्ता गराएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरले बताउनु भयो । उहाँका अनुसार ८१ जना विरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।
पक्राउ परेकामध्ये मोरङका केशव दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला उनको निजी सचिवालयमा काम गर्ने खुलेको प्रहरी स्रोतले बताएको छ ।
यसैबीच, नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् । उनलाई बुटवलबाट हिजै पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई आज काठमाडौं ल्याउने तयारी गरिएको छ ।
स्मरणीय छ, प्रहरीले बादलपछि गृहमन्त्री बन्नु भएका काँग्रेस नेता बालकृष्ण खाँणको नाम पनि संलग्न भएको हुनसक्ने आशंका गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार खाँणको पालामा पनि चलखेल गरेर अनुसन्धान प्रभावित पार्ने प्रयास गरिएको थियो ।
प्रकाशित मिति २०८० बैशाख २१, बिहीबार ०५:४० गते