चित्रेपोखरी(गोरखा)– उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले कलाकारहरूलाई कलाकारिताको माध्यमवाट जीवन यापन र प्रतिष्ठा सहित वाच्ने नीति तर्जुमा गर्ने तयारी गरिरहेको बताउनु भएको छ । सिरानचोक गाउँपालिका– ५ स्थित चित्रेपोखरीमा आयोजित ठाडोभकाको खुल्ला प्रतियोगिता एवम संस्कृतिक महोत्सवको तीनदिने कार्यक्रमको उदघाटन गर्दै बैशाख २१ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले हाम्रो लोक संस्कृतिलाई उपेक्षा गरेर अन्यत्रको संस्कृति प्रति आकर्षित हुने प्रवृति घातक छ । मौलिक लोक संस्कृतिको पहिचान संरक्षण र प्रवर्द्धनका लागि आयोजित यो कार्यक्रम अतिनै सान्दर्भिक र उपयोगी छ यसका लागि आयोजकलाई धन्यवाद र कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले हाम्रो अलौकिक रुपमा रहेको मौलिक संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु आजको खाँचो रहेको औंल्याउँदै यस्ता प्रतियोगिताले त्यस्ता कार्यमा सहयोग गर्ने उल्लेख गर्नुभयो । नेपाली समाजमा असाधारण सहिष्णुता, सदभाव र एकता रहेको छ, यो नेपाली समाजको विशेषता र गौरव हो उहाँले भन्नुभयो ।
उहाँले गोरखा जिल्लालाई समृद्धी र विकासको मुलुकमै नमूना जिल्ला बनाउने प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डको सदिक्षा अनुसार पालुङटार एयरपोर्टलाई पुन सञ्चलनमा ल्याउने गृहकार्य सरकारले थालेको बताउनुभयो । जिल्लाको समृद्धि र विकासका लागि गाउँ गाउँमा सडक, टारहरूमा सिचाई, कृषि, पर्यटन क्षेत्रको नयाँ ढंगले विकास गरिने उहाँले उल्लेख गर्नु भयो । उहाँले वुढिगण्डकी जलविद्युत आयोजनाको निर्माणकार्य आगामी वर्षबाट थालिने जानकारी दिनुभयो ।
अर्को एक प्रसंगमा उहाँले सरकारको प्रत्यक्ष प्रतिनधि प्रहरी भएको हुदा प्रहरी सेवाको पर्याय हुनुपर्नेमा जोड दिदै प्रहरी र प्रशासनका प्रमुखहरू ठूलावडा, पहुचँवाला र धनीमानि व्यक्तिहरूको मात्र नभई अव गरिव सर्वसाधरणको पनि पहुचमा हुनु पर्ने निर्देशन दिईएको र त्यसको कार्यन्वयन नभएमा उजुरी गर्न सक्नु हुने उहाँले बताउनु भयो ।
उपप्रधानमन्त्री श्रेष्ठले मादल बजाएर कार्यक्रमको उदघाटन गर्नु भएको थियो । सो अवसरमा आयोजकहरूसंस्थाका साथै सिराञ्चोक पाउँपालिकाले अभिन्नदनपत्र सहित उपप्रधानमन्त्री श्रेष्ठलाई अभिन्नदन गरेका थिए । यसैगरी, सो अवसरमा वरिष्ठ एवम् वयोवृद्ध ठाडोभाका गायिका कुमारी गुरुङका साथै ठाडोभाका लोककला प्रतिष्ठान लमजुङका संरक्षक तथा डाठोभाका माहानायक बुद्धिमान दुरा ‘धम्पु’लाई सम्मान गरिएको थियो ।
पश्चिमाञ्चल संस्कृतिक केन्द्र, काठमाडौंले आयोजना गरेको उक्त उदघाटन कार्यक्रममा सिरानचोक गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले शुभकामना व्यक्त गर्दै लोक संसकृतिको संरक्षणको क्षेत्रमा यो कार्यक्रम कोशे ढुङ्गा हुने बताउनु भयो ।
पश्चिमाञ्चल सांस्कृतिक कला केन्द्रका अध्यक्ष हरिमाया गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ठाडोभाका लोककला प्रतिष्ठान लमजुङका संरक्षक तथा डाठोभाका माहानायक बुद्धिमान दुरा ‘धम्पु’ले शुभकामना मन्तव्य व्यक्त गर्दै ठाडोभाकाको विशेषताका बारेमा प्रकाश पार्नु भएको थियो । आयोजक केन्द्रका संरक्षक महेश गुरुङले स्वागत तथा कोषाध्यक्ष राकेश गुरुङले सञ्चालन गर्नु भएको थियो ।
लोक तथा दोहोरी गीत प्रतियोगिताका संस्थापक अध्यक्ष अमर विरही गुरुङ, लोकदोहोरीका वादशाह राजु परियार र लोकगायिका चिजा तामाङ निर्णायक रहेको उक्त ठाडोभाकाको खुल्ला प्रतियोगतामा लमजुङका १२ सहित तनहुँ र गोरखाका गरी २१ टिमले भाग लिएका छन् । प्रतियोगिता बैशाख २३ गतेसम्म सञ्चालन हुने कार्यक्रम छ ।
नोट : यो समाचार उदघाटन कार्यक्रम सत्र चल्दै गर्दा तयार गरिएको हो ।
प्रकाशित मिति २०८० बैशाख २२, शुक्रबार ११:२५ गते