चित्रेपोखरी(गोरखा)– ठाडोभाका वरिष्ठ गायक, मध्यनेपाल नगरपालिका– ७, चिसंकु निवासी सुवे. सन्तबहादुर गुरुङको हृदयघातका कारण निधन भएको छ । ६३ वर्षका उहाँको हृदयघातका कारण निधनका कारण बैशाख २१ गते राती निधन भएको हो ।
उहाँ यहाँ आयोजना भएको ठाडोभाका खुल्ला प्रतियोगिता तथा सांस्कृतिक महोत्सवमा भाग लिन लमजुङबाट ठाडोभाका लोककला प्रतिष्ठान नेपालको टिमसँग मिलेर यहाँ आउनु भएको थियो । हिजो साँझ उहाँले आफ्नो पालोमा प्रतिस्पर्धात्मक गीत र नृत्य प्रदर्शन गरी कपडा फेर्न लाग्दा हृदयघात भएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भयो । पहाडीका अनुसार गुरुङको उपचारका लागि तत्कालै आँपपिपल अस्पतालमा पुर्याउँदा त्यहाँका चिकित्सकले उहाँलाई मृत घोषित गरेका थिए । उहाँले भन्नुभयो, ‘सो घट्ना हुनासाथ लमजुङबाट अध्यक्ष पहाडीको नेतृत्वमा भाग लिन गएको १२ टिम सबै आँपपिपल अस्पताल आएर गुरुङको शव बुझेर लमजुङ फर्किएको हो ।’
आफ्नो बाबा विरामी भएको थाहा पाउना साथ उहाँको जेठो छोरा खेमबहादुर र बुहारी निर्मला आँपपिपल अस्पताल पुग्नु भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष पहाडीले एक शोक वक्तव्य प्रकाशन गर्नु भई स्वर्गीय गुरुङको निधन प्रति गहिरो समवेदना व्यक्त गर्नु भएको छ । उहाँले ठाडोभाका वरिष्ठ गायक स्व. गुरुङ ठाडोभाका लोककला प्रतिष्ठान नेपालका आजीवन सदस्य हुनुका साथै हामी सबैका अभिभावक हुनु हुन्थ्यो, सदैव हासिलो, खुसिलो रहनु हुने उहाँ ठाडोभाका गाउन र नाच्नमा उत्तिकै फुर्तिलो हुनुहुन्थ्यो भन्दै प्रेरणाका स्रोत उहाँको निधनले बामे सर्दै गरेको प्रतिष्ठानलाई अपुरणीय क्षति भएको पहाडीले उल्लेख गर्नु भएको छ ।
आफ्नो अभिभावक समेत रहनु भएका सुवे. सन्तबहादुर गुरुङलाई आफ्नै सामुन्नेमा ठाडोभाका गाउँदै र नाच्दै गरेको अवस्थामा गुमाउनु पर्दाको पीडा शब्दमा व्यक्त गर्न सकिरहेको छैन, दुःखको यस घडीमा स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु प्रतिष्ठानका अध्यक्ष पहाडीले भन्नुभएको छ । साथै, शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् पहाडीले हस्ताक्षर गर्नु भएको विज्ञप्तिमा भनिएको छ ।
उहाँको ठाडोभाका उफ्रिदै नाच्दै गाउँने बानी थियो । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आयोजना गरेको ठाडोभाका खुल्ला प्रतियोगितामा गत वर्ष उहाँ पहिलो हुनुभएको थियो ।
भारतीय सेनाको निवृक्त सुवेदार स्व.सन्तबहादुर गुरुङका श्रीमती, दुई भाइ छोरा, एक छोरी र चार नातिनातिना हुनुहुन्छ ।
उहाँको अन्तिम संस्कार बैशाख २२ गतेका दिन साँझ ७ बजे पोखराको रामघाट स्थित प्रेलु संघको तुलसी घाटमा अन्तिम संस्कार गर्ने तयारी गरिएको परिवार स्रोतले जनाएको छ । उहाँको अन्तिम संस्कारमा भाग लिन ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीको साथमा एक टोली पोखरा प्रस्थान गरेको छ ।
प्रकाशित मिति २०८० बैशाख २२, शुक्रबार १२:२७ गते