
बेसीशहर– नेपाल मगर संघ गण्डकी प्रदेश समितिले लमजुङमा सञ्चालन गरिएको खुल्ला महिला तथा पुरुष व्याडमिन्टन प्रतियोगिता सम्पन्न भई पुरस्कार वितरण गरिएको छ । २५६७ औं बुद्ध जयन्ती तथा नयाँ वर्षका अवसरमा संघले सो प्रतियोगिता गरेको र त्यसको समापन कार्यक्रम यहाँको वडानं.– ८ स्थित जिम हलमा बैशाख २३ गते भएको हो ।
उक्त प्रतियोगितात्मक खेलमा पुरुषतर्फको पहिलो उपाधि बेसीशहरका बिनोद तामाङ र प्रल्हाद बोहोराले प्राप्त गर्न सफल हुनुभयो भने बेसीशहरकै खुशी गुरुङ र रोहित वाग्लेको टिम दोस्रो भएको आयोजकको भनाइ छ । बेष्ट अफ थ्रिमा खेलाइएको उक्त प्रतियोगितामा अन्तिम खेलमा २१– १२, १७– २१ र २१– १९ सेटमा हारजित भएको प्रतियोगिताका रेफ्रि एम डि सेखले बताउनु भयो । उहाँका अनुसार सेमी फाइनलमा बेसीशहरकै सुमेश श्रेष्ठ र विजय तामाङका साथै सशस्त्र प्रहरी बलको टिमका धर्मराज पण्डित र छत्र थापा पुगेका थिए ।
सो प्रतियोगितामा पहिलो टिमलाई २० हजार रुपैयाँ नगद, दोस्रो हुने टिमलाई १० हजार नगद र सेमिफाइनमा पुग्ने दुई लाई प्रोत्साहन स्वरुप दुई हजार पाँच सयका दरले नगद र प्रमाणपत्र वितरण गरिएको थियो ।
यसैगरी, महिलातर्फको खेलमा ल्याण्डस्टार आमाविका शिक्षक पूर्णिमा गुरुङ पहिलो, बेसीशहर मनाङे चौताराकी ललिता गुरूङ दोस्रो भए । सो खेलमा सोझो सेटमा २१– १६ र २१– १५ मा जित हार भएको थियो । सो प्रतियोगितामा इस्पिका तामाङ हिमचुली आमावि मस्र्याङ्दी– ३ तेस्रा भइन् । उनीहरूलाई क्रमशः १० हजार, पाँच हजार र तीन हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
सो प्रतियोगितामा पुरुष डबल र महिला सिंगल बीच प्रतिस्पर्धा हुने गरी खेलाइएको थियो । पुरुषतर्फ १९ टिम र महिलातर्फ १२ टिमले भाग लिएका थिए ।
प्रतियोगिताको समापनका अवसरमा विजयी खेलाडीहरूलाई बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, सोही वडाकी अध्यक्ष पवित्रा थापा राना, नेपाल मगर संघका गण्डकी प्रदेश सचिव दिलबहादुर आलेमगर, सोही संघ गण्डकीका अध्यक्ष तुलसीकुमारी थापा मगरले संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
नेपाल मगर संघ गण्डकीका अध्यक्ष तुलसीकुमारी थापा मगरको अध्यक्षतामा भएको समापन कार्यक्रममा उहाँले महिलाहरूलाई अन्य क्षेत्र र पुरुष जस्तै खेल क्षेत्रमा पनि सक्षम बनाउने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरेको बताउनु भयो ।
सो प्रतियोगिताको बेसीशहर नगरपालिकाका उपमेयर पदमा गुरुङले व्यानर पढ्नुका साथै रेफ्रि सेखलाई व्याडमिन्टनको रकेट र कर्क हस्तान्तरण गर्दै उदघाटन गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० बैशाख २५, सोमबार ०६:४९ गते