राष्ट्रिय स्वतन्त्र पार्टीको गर्जनपछि पक्राउ पर्न थाले भ्रष्टाचारका ठूला माछाहरू

राष्ट्रिय स्वतन्त्र पार्टीको गर्जनपछि  पक्राउ पर्न  थाले भ्रष्टाचारका ठूला माछाहरू

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख २७ गते बुधबार ०५:४०

सरकारले सत्ता गठबन्धनका नेतालाई जोगाउन लागेर प्रतिपक्षी सांसदमाथि मात्रै प्रहार केन्द्रित गरेको भन्ने एमाले अध्यक्ष केपी ओलीको आरोपलाई समेत मत्थर बनाउने गरी सरकार अघि बढेको आंकलन छ । एमालेले हिजो सचिवालय बैठक राखेर पनि सोही प्रकरणमा पक्राउ पुर्जी जारी गरिएका पार्टी सचिव टोपबहादुर रायमाझीबारे कुनै स्पष्ट निर्णय लिएको थिएन । खाँण पक्राउको अर्थ कांग्रेसलाई जे जति छ, एमालेलाई त्यो भन्दा बढ्ता छ ।

काँग्रेसका नेता खाँण पक्राउपछि एमालेद्वारा टोपबहादुर रायमाझीलाई निलम्बन : माओवादी केन्द्र परीक्षामा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारमा गएमा भ्रष्टाचारका ठूला– ठूला फाइल खोलिने उदघोष गर्नु भएको धेरै भएको छैन । सायद त्यही कारण सेटिङबाटै रास्वपालाई सरकारबाट बाहिर राख्ने तारतम्य मिलाइयो ।
यतिबेला भने रास्वपालाई रोक्नकै लागि र देखाउनकै लागि मात्र भएता पनि भ्रष्टाचारका ठूला माछाहरू समाउन बाध्यात्मक स्थिति उत्पन्न भएको छ । त्यो रास्वपाकै गर्जनबाट सम्भव भएको हो भन्ने स्रोतको दावी छ । यसका लागि ठूलो मसला बन्न गएको छ नक्कली भुटानी शरणार्थी प्रकरण ।
सो प्रकरणमा मुछिनु भएका नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बैशाख २७ गते बिहान प्रहरीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले मैजुबहाल स्थित उनको निवासबाटै पक्राउ गरेको हो । खाँणलाई पक्रन प्रहरीले ‘जरुरी पक्राउ पूर्जी’ समेत साथमा लगेको थियो ।
‘उहाँलाई प्रहरी परिसरमा ल्याएका छौं ।’ काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले भन्नुभयो । उहाँका अनुसार पूर्व गृहमन्त्री समेत रहेका खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमै राख्ने भन्ने निर्णय लिइने छ ।
खाँणसहितको संलग्नतामा यो धन्दा चलाइएको र खाँणले पनि आर्थिक लाभ लिएर निर्णय गरेको भन्दै खाँणलाई पक्राउ गरिएको हो । प्रहरीले खाँण गृहमन्त्री हुँदा मन्त्रालयमा सचिव रहेका टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
सोही प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।
सो प्रकरणमा यसअघि १० जना व्यक्तिहरू पक्राउ परिसकेका छन् । आजै पूर्वगृहमन्त्री बालकृष्ण खाँण र निजका स्वकीय सचिव नरेन्द्र केसी समेत पक्राउ परेका छन् । यससँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म पक्राउ पर्ने संख्या १२ पुगेको छ ।
भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वगृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण पक्राउ परेसँगै प्रहरीले उनका सहयोगी नरेन्द्र केसीलाई पनि पक्राउ गरेको हो । सो प्रकरणमा केसीले पीडितसँग पैसा लिएको प्रमाण भेटेपछि उनलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । केसी प्रधानाध्यापक रहेको र काजमा खाँणको पिए बन्न गएको खुलासा भएको छ ।
उनी अहिले पनि चितवनको भरतपुर महानगरपालिका– १९ स्थित शारदा माविका प्रधानाध्यापक हुन् । त्यसअघि उनी विद्यालय निरीक्षकमा कार्यरत थिए ।
मोरङ स्थायी घर भई ललितपुरमा बस्ने केशव दुलाल २०६६ जेठदेखि २०६७ माघ २३ गतेसम्म सुजाता कोइराला परराष्ट्रमन्त्रीको स्वकीय सचिव भई काम गरिसकेका थिए । त्यति बेला नै केशवलाई शरणार्थीको प्रमाणीकरण कसरी हुन्छ भन्ने विषयमा जानकारी थियो ।
केशवले सो योजना ललितपुरकै ५० वर्षीय सानु भण्डारीलाई सुनाए । गृह मन्त्रालयको सहयोगबिना त्यो सम्भव नभएकाले गृहमन्त्री, गृह सचिव लगायतका पदाधिकारीलाई हात लिनुपर्ने भयो । यसरी तयार भयो राजनीतिक नेतृत्व प्रयोग गरी नक्कली शरणार्थी प्रकरणको थालनी ।
ललितपुर महानगरपालिका– २३ का स्थानीय सानु भण्डारी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने धन्दामा संलग्न आरोपमा थुनामा छन् । महालक्ष्मी नगरपालिका– ४ स्थित सितापाखा हाइटमा बस्दै आएका उनै भण्डारीको बयानको आधारमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेको स्रोतको भनाइ छ ।
भण्डारीले टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीको नाम पनि बयानमा खुलाएका थिए । उनकै बयानको आधारमा सन्दीप पक्राउ परेका छन् भने टोपबहादुरविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
गत चैत १२ मा पक्राउ परेका भण्डारीले प्रहरीसँगको बयानमा भनेका छन्– ‘तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र टेकनारायण पाण्डेलाई मन्त्रालयमै लगेर पैसा बुझाएका थियौँ ।’ उनले भनेका छन्– ‘मन्त्री खाँण र सचिव पाण्डेका लागि एकमुष्ट १ करोड २५ लाख लगेर दिएका थियौँ ।’
सचिव टेकनारायण पाण्डे यतिबेला थुनामा छन् ।
खाँणकी पत्नी तथा कांग्रेस सांसद मञ्जु खाँणको समेत यस प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले छानबिन चलाइरहेको छ ।
सचिव पाण्डेलाई पक्राउ गर्न जाँदा प्रहरीले उनको फोन बरामद गरेको थियो । अनुसन्धान अघि बढाउन उक्त फोनले ठूलो सहयोग पुग्यो प्रहरी दावी छ । प्रहरीले फोनबाट मेटिएका विवरण उकास्न फरेन्सिक प्रयोगशालामा पठाएको थियो ।
फोनबाट ‘रिट्रिभ’ गरिएका (उकासिएका) विवरणमा नक्कली भुटानी शरणार्थी प्रकरण अघि बढाउने गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी लगायतसँग सचिव पाण्डेले पटक–पटक गरेका कुराकानीका साथै अन्य सामग्री समेत फेलापरेको प्रहरी दावी छ । प्रहरीका अनुसार पाण्डेसहितले करोडौं रकमको लेनदेन गरेको प्रमाण भेटिएको छ । त्यसरी लेनदेन गर्नमा खाँणका पिए केसीको पनि ठूलो भूमिका देखिएको प्रहरी स्रोत बताउँछ ।
माओवादी केन्द्र परीक्षामा :
यसैबीच, माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध लड्ने भनी दाबी गरिएको लडाइँ कति वास्तविकतामा आधारित हो या कति सार्वजनिक खपतका लागि हो भन्ने प्रश्नको निरुपण पनि यसभन्दा अगाडिको अनुसन्धान र कारबाही प्रक्रियाले सावित गर्ने स्रोतको आंकलन छ ।
त्यसो त भ्रष्टाचार र ठगीका घटनामा राजनीतिक व्यक्तिहरू जोडिएको यो पहिलो घटना होइन, तर बालकृष्ण खाँण पक्राउ पर्नुको अर्थ बेग्लै मानिएको छ ।
खाँण संसदको ठूलो दल नेपाली कांग्रेसका शक्तिशाली नेता हुन्, जसको सिधा प्रभाव पार्टी सभापति शेरबहादुर देउवाको टिमसम्म छ । देउवाका बलिया खम्बा हुन् खाँण ।
कांग्रेसको कुनै पदाधिकारी नरहेर पनि खाँणको सांगठनिक बर्चस्व निकै बलियो छ । पार्टीभित्र उनलाई आफ्नो समूहबाट भावी सभापतिका बलिया दाबेदार मान्ने गरिन्छ । बाहिर देख्दा कांग्रेसका केन्द्रीय सदस्य मात्रै हुन्, खाँण । तर कांग्रेसमा उनी दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भन्दा बलियो भएको काँग्रेसकै नेताहरू स्विकार गर्छन् ।
सुरुमा गिरिजाप्रसाद कोइरालासँग निकट रहेर नेविसंघ तथा तरुण दलको केन्द्रीय अध्यक्ष, तथा ०४८ सालमै सांसद बन्न पाएका खाँणले ०५८ सालको कांग्रेस विभाजनमा भने देउवालाई साथ दिएर उहाँको निकट भएका थिए ।
कांग्रेसका शक्तिशाली नेता समातिँदा एमालेमाथि दबाव :
सरकारले सत्ता गठबन्धनका नेतालाई जोगाउन लागेर प्रतिपक्षी सांसदमाथि मात्रै प्रहार केन्द्रित गरेको भन्ने एमाले अध्यक्ष केपी ओलीको आरोपलाई समेत मत्थर बनाउने गरी सरकार अघि बढेको आंकलन छ । एमालेले हिजो सचिवालय बैठक राखेर पनि सोही प्रकरणमा पक्राउ पुर्जी जारी गरिएका पार्टी सचिव टोपबहादुर रायमाझीबारे कुनै स्पष्ट निर्णय लिएको थिएन । खाँण पक्राउको अर्थ कांग्रेसलाई जे जति छ, एमालेलाई त्यो भन्दा बढ्ता छ । यसले प्रतिपक्षी एमालेका सांसद रायमाझीलाई प्रहरी सम्पर्कमा आउन र ल्याउन समेत आम दबाव बढ्न जाने छ । त्यो हिलो पन्छाउन एमालेले रायमाझीलाई निलम्बनको घोषणा गरेको छ । यो पनि रास्वपाले आफ्नो तत्कालीन विवादित सांसद ढाकाराम श्रेष्ठलाई गरेको कारवाहीको नक्कल हो भन्ने स्रोतको ठम्याइँ छ ।
फारार रायमाझी बिरामी परेको पत्र संसद सचिवालयमा :
उता, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फारार रहेको भनिएका एमाले सांसद टोपबहादुर रायमाझीले बिरामी परेको पत्र संसद सचिवालयलाई बैशाख २७ गते पठाएका छन् । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले रायमाझीको बिरामी भएको पत्र प्राप्त भएको बताउनु भएको छ ।
बिना सूचना प्रतिनिधिसभाको १० वटा बैठकमा अनुपस्थित भए सांसद पद जाने व्यवस्था रहेका कारण रायमाझीले सभामुखलाई पत्रमार्फत जानकारी गराएको हुन सक्ने आंकलन छ । एमाले केन्द्रीय सचिव समेत रहेका रायमाझीलाई पार्टीले आजै पदबाट निलम्बन गरेको छ ।
तर रायमाझी कहाँ छन् भन्ने प्रहरीले हालसम्म सुइँको पाउन सकेको छैन ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीलाई धन्यवाद दिनु भएको छ ।
आज बिहान पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेपछि लामिछानेले सरकारलाई धन्यवाद दिनु भएको हो । उहाँले यो शिलशिला रोकिन नहुने समेत उल्लेख गर्नु भएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यू, धन्यवाद प्रधानमन्त्री ज्यू । यो शिलशिला नरोकियोस् । कुनै हालतमा नरोकियोस् ।’
एमालेद्वारा टोपबहादुर रायमाझीलाई निलम्बन :
एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरेको छ ।
महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिएको जानकारी आजै दिनु भएको हो ।
सो विज्ञप्तिमा भनिएको छ, ‘हामी विधिको शासनमा विश्वास गर्दछौं । राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ ।’ यसैगरी, ‘सोही मान्यता अनुरूप पक्राउ पूर्जी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको थियो । उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनु भएको थियो । तर पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले गम्भीरतापूर्वक लिँदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो ।’ ’ सो विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यस सम्बन्धी अनुसन्धान र कानुनी कार्बाहीको प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरिएको भनिएको छ ।
अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका हुन् ।

रविद्वारा सरकारलाई धन्यवाद :
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीलाई धन्यवाद दिनु भएको छ ।
आज बिहान पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेपछि लामिछानेले सरकारलाई धन्यवाद दिनु भएको हो । उहाँले यो शिलशिला रोकिन नहुने समेत उल्लेख गर्नु भएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यू, धन्यवाद प्रधानमन्त्री ज्यू । यो शिलशिला नरोकियोस् । कुनै हालतमा नरोकियोस् ।’

प्रकाशित मिति २०८० बैशाख २७, बुधबार १७:४० गते
हजुरको प्रतिक्रिया