काठमाडौँ– पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य आगामी जेठ ४ गतेसम्म खोल्ने बताउनु भएको छ । च्यासलमा आयोजित केन्द्रीय समिति बैठकमा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो प्रकरणमा आफुले तथ्यहरू खोजिरहेको भन्दै जेठ ४ गते संसदमा बोल्ने क्रममा त्यो तथ्य खोल्ने बैशाख २८ गते बताउनु भएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेकै नेता कार्यकर्ता भए पनि दोषी देखिए कारबाही हुने बताउनु भएको छ । उहाँले २०–२२ दिनसम्म बयान लिएर पनि रोकिएको सूचना आफूलाई भएको भन्दै ओलीले त्यसलाई रोक्न खोज्दा खोज्दै पनि नसकेपछि बल्ल अनुसन्धान प्रक्रिया अघि बढेको दाबी गर्नु भयो । उहाँले यसका पृष्ठभूमि र कसको के क्रियाकलाप थियो भन्ने जानकारी आफूलाई भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सम्भवत म ४ गते पार्लियामेन्टमा बोल्छु । त्यो दिन मैले संसदमा बोल्ने बेलासम्ममा कुन शरणर्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो ? कसले पठायो ? को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोशिस गर्छु ।’
उहाँका अनुसार सत्य कुरा छानबिन नगरी अहिले राजनीतिक फण्डा गर्न खोजिएको छ । उहाँले भन्नुभयो, ‘आफ्ना कार्यकर्ताहरुलाई परिचालन गरेर मेरो भ्रष्टाचारविरुद्ध लडाइँ नयाँ उचाइमा पुगेको भनेर गफ दिन खोजिएको छ ।’
उहाँले देशको बिग्रँदो अर्थतन्त्र र बढ्दो भ्रष्टाचारबारे ढाकछोप गर्ने प्रयास भइरहेको पनि उल्लेख गर्नु भयो ।
एमाले सचिव टोपबहादुर रायमाझीको स्थिति प्रष्ट्याउँदै उहाँले भन्नुभयो, ‘प्रहरीले अभद्र व्यवहार गर्न खोज्यो त्यही भएर सोझै अदालतमा उपस्थित हुने भन्नुभयो ।’ सोझै पैसा समाउनेलाई छाड्ने तर लाई पक्राउ पुर्जी जारी गर्ने किन गरिएको होला ? उहाँले प्रतिप्रश्न गर्नुभयो ।
‘हाम्रै पार्टीका साथीहरूको पनि नाम आएको छ । हिजो हाम्रै सरकारमा रहेका साथीहरूको नाम आएको छ । यसमा म के भन्न चाहन्छु भने जोसुकैको नाम आओस् यदि दोषी छ भने कारबाही हुन्छ’, उहाँले भन्नुभयो, ‘तर जबसम्म मानिस दोषी करार हुँदैन । त्यो नहुँदासम्म हामी दोषी करार गर्न सक्दैनौ । हामी हेरिरहेका छौ कसैलाई फसाउने प्रयास पनि भइरहेको छ ।’
माओवादी लडाकु शिविरको आर्थिक हिनामिना अनुसन्धान गर्न अख्तियारले किन खुट्टा कमायो ?
एमालेका अध्यक्ष ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खुट्टा कमाएको दावी गर्नु भएको छ । उहाँले बहिर्गमित लडाकुहरूलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिएको दावी गर्दै क्यान्टनमेण्ट काण्डबारे अख्तियारले अनुसन्धान गर्न खुट्टा नकमाउन आग्रह गर्नु भयो । उहाँले भन्नुभयो ‘माओवादी केन्द्र जसले सरकारको नेतृत्व गरेको छ, उहाँहरु बलजफ्ती निर्णय गराउने र ५० हजार कार्यकर्तालाई दिने, बाँकी आफैँ लिने कामका लागि शुरु हुँदैछ, क्यान्टनमेण्टका सवालमा त्यस्ता कुराहरु पहिला पनि धेरै भएका छन् ।’
उनले माओवादी केन्द्रको सरकारले एकलौटी रुपमा निर्णय गरेर बहिर्गमित लडाकुको नाममा भ्रष्टाचार गर्न लागेको उल्लेख गर्नु भयो । अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचार बाहेक अरु हुनै नसक्ने उहाँको ठोकुवा छ ।
ओलीद्वारा स्वतन्त्र सांसद सिंहको बचाउ :
यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओली स्वतन्त्र सांसद अमरेशकुमार सिंहको बचाउमा उत्रनु भएको छ । ओलीले भ्रष्टाचारको विरुद्धमा बोल्नेहरूको मुख थुन्ने काम भइरहेको भन्दै सिंहको बचाउ गर्नु भएको हो ।
संसदमा केही दिनअघि मात्रै स्वतन्त्र सांसद अमरेशकुमार सिंह बोल्न लाग्दा मुख थुन्ने काम भएको र त्यही दिन अख्तियारमा उजुरी पर्नु शंकाको विषय रहेको उहाँको भनाइ छ । ओलीले भ्रष्टाचारकोविरुद्धमा बोल्ने विपक्षीहरूलाई धम्की दिने काम भइरहेको दावी गर्नु भयो । उहाँले भन्नुभयो, ‘ताजुव त के छ भने अमरेशकुमार सिंहले संसदमा सरकारकोविरुद्धमा बोल्नुभयो, सरकारको बिरुद्धमा बोल्दा धम्की मात्रै गएन अख्तियारमा उजुरी गयो, अमरेशकुमारलाई कारबाही गर्नुपर्छ भनेर । किन अस्तिकै दिन उजुरी किन गयो ? अहिले पनि विपक्षीहरूको मुख थुन्ने, भ्रष्टाचारको बिरुद्धमा कोही बोले मुख थुन्ने काम भयो, यो धम्की हो, मुख थुन्ने प्रयास हो ।’
सरकारी सम्पति निजी क्षेत्रलाई कौडीको मूल्यमा बेचेर किमसन खानेकुरा सह्य नहुने उहाँको कथन थियो ।
ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसमेत शंकाको घेरामा !
यसैबीच, टोपबहादुर रायमाझी र बालकृष्ण खाँणभन्दा कति माथिसम्म पुग्ने हो अनुसन्धानपछि मात्रै भन्न सकिन्छ । पक्राउ परेका इन्द्रजित राईको अनुसन्धानले बादलसम्म पुग्न सक्छ अनुसन्धानका खटिएका एक अधिकारीले बताए । उनका अनुसार केपी शर्मा ओलीका स्वकीय सचिव रहेका राजेश बज्राचार्यसम्म शंका गर्ने प्रयाप्त आधारहरू फेला परेका छन् । तर प्रमाण फेला परिसकेको छैन ।
एमालेका उपाध्यक्ष समेत रहेका रामबहादुर थापा ‘बादल’, केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनका स्वकीय सचिवसमेत रहेका राजेश बज्राचार्य पनि प्रहरीको शंकाको घेरामा रहेको स्रोतको दावी छ ।
सोही प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् । नेकपा (एमाले)माथि लगातार परेको दबाबपछि अनुसन्धानमा सहयोग गर्ने भन्दै निलम्बन गरेको थियो । त्यसअघि भने एमाले अध्यक्ष केपी शर्मा ओलीले रायमाझीलाई जोगाउन लागिपरेको भन्दै आलोचना भएको थियो ।
टोपबहादुर रायमाझी र बालकृष्ण खाँणभन्दा कति माथिसम्म पुग्ने हो अनुसन्धानपछि मात्रै भन्न सकिन्छ । पक्राउ परेका इन्द्रजित राईको अनुसन्धानले बादलसम्म पुग्न सक्छ अनुसन्धानका खटिएका एक अधिकारीले बताए । उनका अनुसार केपी शर्मा ओलीका स्वकीय सचिव रहेका राजेश बज्राचार्यसम्म शंका गर्ने प्रयाप्त आधारहरू फेला परेका छन् । तर प्रमाण फेला पर्ने आधार भने बलियो हुँदै गएको छ ।
प्रकाशित मिति २०८० बैशाख २८, बिहीबार १४:१८ गते